मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २५ आइतबार १६:१८:००
Read Time : > 1 मिनेट
समाचार

आरडिटीबाट कोरोना परीक्षण बन्द गर्न माग 

Read Time : > 1 मिनेट
२०७७ जेठ २५ आइतबार १६:१८:००

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) विश्वसनीय नभएकाले यसबाट कोरोनाको परीक्षण बन्द गर्न माग गरेका छन् । प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सभा सदस्यहरूले आरडिटी बन्द गरेर पिसिआर मेसिनबाट परीक्षणको दायरा बढाउन माग गरेका हुन् । आरडिटी नेगेटिभ देखिएकामा पिसिआरबाट जाँच गर्दा कोरोना पोजेटिभ देखिन थालेपछि आरडिटी बन्द गरिनुपर्ने आवाज नागरिकस्तरबाट उठ्न थालेका वेला प्रदेश सभा सदस्यहरूले संसदमै आरडिटीबाट बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

परीक्षणको रिपोर्ट विश्वसनीय नभएकाले आरडिटी जाँचको अर्थ नरहेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए । ‘आरडिटीको अर्थ छैन, यो धेरै ठाउँमा क्यान्सिल गरिएको छ,’ उनले भने, ‘पिसिआरलाई तीव्रता दिइनुपर्छ ।’ डोटी र बैतडीमा पिसिआर जाँच सुरु गर्ने प्रदेश सरकारको निर्णयअनुसार आवश्यक मेसिनहरू ल्याएर तत्काल परीक्षण सुरु गर्न पनि उनले माग गरे ।

पिसिआर परीक्षणलाई तीव्र बनाउन नसके प्रदेशको अवस्था भयावह हुने देखिएको उनले बताए । कोरोना संक्रमण समुदायस्तरमा पुगिसकेको उल्लेख गर्दै खड्काले भारतबाट आउने क्रम नरोकिएकाले संक्रमण अझै फैलने देखिएको बताए । सुदूरपश्चिममा स्वाब संकलनसमेत बन्द भएको सुन्दा सरकार रोकिएको महसुस भएको उनको भनाइ थियो । कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रदेश सरकारले खर्च गरेको साढे ३६ करोडको हिसाबबारे संसदलाई जानकारी गराउन पनि खड्काले प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

 प्रदेश सभा सदस्य पूर्णा जोशीले क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्दा त्यहीँबाट संक्रमण फैलने जोखिम रहेको बताइन् । ‘क्वारेन्टाइनहरू व्यवस्थित हुन सकेका छैनन्, क्वारेन्टाइनमै रहेका कारण कति संक्रमित हुन्छन् अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘प्रहरी खटाएर क्वारेन्टाइन व्यवस्थित गरिनुपर्छ, होइन भने क्वारेन्टाइन बन्द गरियोस् ।’ आरडिटी परीक्षणलाई बन्द गरेर पिसिआरबाट गरिने परीक्षणलाई तीव्रता दिन उनले माग गरिन् ।

क्वारेन्टाइनमा मृत्यु भइसकेपछि कोरोना परीक्षणको रिपोर्ट आउने अवस्था विडम्बनापूर्ण भएको अर्का प्रदेश सभा सदस्य दीर्घ सोडारीले बताए । कोरोना परीक्षणलाई तीव्रता नदिने हो भने सुदूरपश्चिममा संक्रमणको अवस्था भयावह हुने देखिएकाले परीक्षण बढाउनुको विकल्प नभएको उनले बताए । डोटी र बैतडीमा पनि पिसिआर मेसिन राखेर कोरोना जाँच सुरु गर्न उनले माग गरे । सुदूरपश्चिममा अहिले धनगढीमा मात्र पिसिआरबाट थ्रोट स्वाबको नमुना जाँचको सुविधा रहेको छ ।