मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा बनाइएको भद्रगोल क्वारेन्टाइन
२०७७ जेठ २५ आइतबार ०४:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

आरडिटीको भर पर्दा दैलेखको गाउँ नै संक्रमित : क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि

Read Time : > 1 मिनेट
२०७७ जेठ २५ आइतबार ०४:४०:००

दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । 

भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण गरेर घर पठाएपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ । 

क्वारेन्टाइनमा बसेकाहरूको एक साता कटेपछि पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर, सुर्खेतमा परीक्षण गर्न ढिलाइ भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । त्यहाँ पनि ढिलाइ भएपछि आरडिटी विधिबाट परीक्षण गरेर उनीहरूलाई घर पठाइएको थियो । 

तर, त्यसको दुई दिनपछि बिहीबार एक सय १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्रै स्वास्थ्य संस्थामा छन्,   ८७ आ–आफ्नै घरमा छन् । यो बीचमा उनीहरू सयौँ मानिसको सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउन तथा आइसोलेसनमा राख्ने पहल गरिएको छैन ।

स्थानीय जनप्रतिनिधिले गाउँका ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिने र यसले थप भयावह अवस्था आउने भन्दै उनीहरूलाई आइसोलेसनमा राख्न आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले नागरिकको स्वास्थ्यमा खेलबाड भइरहेको बताए । ‘यस्तो वेलामा जिम्मेवार निकायहरूले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ,’ उनले भने । 

नारायण नगरपालिकामा मेयर रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरबाहीका कारण नगरपालिका कोरोना सेन्टर बन्न पुगेको बताए । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थाअनुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले संकट उत्पन्न भएको छ,’ उनले भने, ‘अब संघीय र प्रदेश सरकारले दैलेखका विषयमा तत्काल केही कदम चाल्नुपर्छ ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले संक्रमितहरूलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न लगाइएको र फोनबाटै स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भइरहेको बताए । यसैबीच, स्थानीय प्रशासनले सदरमुकाम रहेको नारायण र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण फैलिन उच्च जोखिम देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । 

भारतबाट फर्किने दैलेखवासीको संख्या ४२ हजार हुने जिल्ला समन्वय समितिको आंकलन छ । अहिलेसम्म १२ हजार आइसकेका छन् । आउने क्रम पनि जारी छ ।