मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युएईबाट आएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टरतर्फ लगिँदै । तस्बिर : रोशन सापकोटा/रासस
मुना कुँवर काठमाडौं
केदार दाहाल काठमाडौं
२०७७ जेठ २४ शनिबार ०४:३९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

फर्किन थाले विदेशमा रहेका नेपाली

म्यानमारका २६ नेपालीलाई सरकारले पठायो, युएईका एक सय ६९ जनालाई रोजगारदाताले पठाए

Read Time : > 4 मिनेट
मुना कुँवर, काठमाडौं
केदार दाहाल, काठमाडौं
२०७७ जेठ २४ शनिबार ०४:३९:००

लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । युएईबाट एयर अरेबियाको जहाज चार्टर गरेर एक सय ६९ जना नेपाली स्वदेश आइपुगेका छन् भने म्यानमारबाट एयरफोर्सको विमानले २६ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिएको हो । आफ्ना ४१ नागरिक लिन आएको म्यानमार एयरफोर्सको विमानले नेपाली ल्याइदिएको हो । 

एयर अरेबिया जहाजमा युएई सरकारले निःशुल्क चार्टर गरेर पठाउने भनेर प्रचार गरिए पनि अन्तिम समयमा कामदारले नै भाडा दिनुपर्ने प्रस्ताव आएको थियो । नेपाली दूतावासले निःशुल्क नेपाल ल्याउने कामदारको सूचीसमेत तयार पारेको थियो । तर, युएई सरकारले भाडा व्योहोर्न नसक्ने जनाउ दिएपछि आउनेको सूची एकाएक परिवर्तन गरियो । सोही कारण दिउँसो १२ बजे काठमाडौं आइपुग्ने भनिएको जहाज पौने ४ बजे मात्रै अवतरण गरेको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले विदेशबाट उद्धार गर्न विभिन्न मापदण्ड तयार पारेको थियो । सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि आउनुपर्ने, रोजगारी गुमाएका, सुत्केरी, ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा ल्याउने गरी दूतावासले सूची तयार पारेको थियो । सोही सूची विमानस्थल, सेना र इमिग्रेसनलाई दिइएको थियो । तर, त्यो सूचीअनुसार कामदार आएनन् । 

खासमा नेपालको परराष्ट्र मन्त्रालय, युएईको विदेश मन्त्रालय, नेपाली दूतावास र एयर अरेबियाबीचको संवाद तथा समन्वय नै ठीकसँग नहुँदा यस्तो समस्या देखिएको छ । खासमा युएईको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर एयर अरेबियामार्फत नेपाली कामदार पठाउने जानकारी गराएको थियो ।

जसमा एयर अरेयिबाले नेपालमा आठवटा निःशुल्क उडान गर्ने, युएईको एयरपोर्टमा नै कामदारको निःशुल्क कोरोना परीक्षण गर्ने उल्लेख थियो । भोलिको दिनमा अवस्था सामान्य भएमा अहिले फर्कने श्रमिकलाई पुनः युएईमा फर्कन प्राथमिकता दिइने पनि पत्रमा उल्लेख थियो । यसको बोधार्थ युएईस्थित नेपाली दूतावासलाई पनि दिइएको थियो । 

सोही पत्रका आधारमा परराष्ट्र मन्त्रालयले बिहीबार ५ बजे मात्रै एयर अरेबियालाई नेपाल प्रवेश गर्न अनुमति दिन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन थियो । त्यस्तै, परराष्ट्र मन्त्रालयले आफैँले पठाएको सूचीअनुसार नेपाली श्रमिक पठाउन युएईलाई पत्रसमेत लेख्यो । युएईस्थित नेपाली दूतावासले त्यसलगतै सूचीमा भएका कामदारलाई नेपाल फर्कन तयार रहन खबर पनि ग¥यो । जसमा प्रदेश १ र ६ का श्रमिकलाई छनोट गरिएको थियो ।

नेपाली दूतावासले बिहीबार ५.३० बजे सोही सूचना एयर अरेबियालाई दियो । तर, एयर अरेबियाले बिहीबार साँझ ६ बजे निःशुल्क उडान नगर्ने अडान लियो । नेपालमा कुल ४० उडान गर्ने र त्यसमध्ये आठवटा निःशुल्क उडान गर्ने एयर अरेबियाको भनाइ थियो । सुरुमा आठवटा सशुल्क उडान गरेपछि मात्रै दुई उडान निःशुल्क गरिदिने एयर अरेबियाले प्रतिक्रिया दियो ।

एयर अरेबियाको अडानपछि नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा यसबारे स्पष्ट हुन चाह्यो । विदेश मन्त्रालयले पनि एयर अरेबियाको कुरा नै ठीक हो भनेपछि नेपाली दूतावास तीनछक परेको थियो । नेपाली दूतावासले बिहीबार साँझ ७ बजे एयर अरेबियालाई कामदार नलैजान भनेको जानकारी गराएको युएईस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिए ।

यता नेपाली दूतावाससँग कुनै सम्पर्क नगरी एयर अरेबियाले युएईस्थित इमिरेट्स सेक्युरिटी, टान्स गार्ड सेक्युरिटी कम्पनीका नेपाली श्रमिक लिएर नेपालका लागि उड्यो । 

तर, यो जानकारी दूतावासले नेपाललाई मात्र होइन, नेपाल जान ठिक्क परेका कामदारलाई पनि गराएन । त्यसो भएपछि विमानस्थलमा पुरानै सूची लिएर व्यवस्थापनका लागि नेपाली सेना तथा प्राधिकरणका कर्मचारी लागेका थिए । तर, विमानस्थल झरेका यात्रु युएईको दूतावासबाट आएको सूचीभन्दा फरक परेपछि व्यवस्थापनामा समस्या परेको विमानस्थल स्रोतले जनाएको छ । 

नेपाली कामदारले हवाई भाडा तिर्नुपर्ने हो भने नेपाल वायुसेवा निगमको जहाज चार्टर गर्नुपर्ने प्रस्ताव पर्यटन मन्त्रालयले बिहीबार नै राखेको थियो । तर, परराष्ट्र मन्त्रालयले युएई सरकारले निःशुल्क पठाउने भनेपछि विमानस्थल कार्यालयले एयर अरेबियालाई उडान अनुमति दिइएको थियो । नेपाल आउन भनेर युएईको एयरपोर्ट पुगेका यात्रु हवाई भाडा र नेपालमा क्वारेन्टाइनका लागि होटेलमा बस्ने खर्चसमेत आफैँले बेहोर्नुपर्ने थाहा पाएर असामञ्जस्यमा परेका थिए । महिनौँ रोजगारी गुमाएकाहरू त्यति ठूलो रकम तिरेर आउन सक्ने अवस्था नै थिएन । 

युएईका दुई सेक्युरिटी कम्पनीले आफ्ना कामदार पठाउने र भाडा बेहोर्ने प्रस्ताव गरेपछि जहाज सूचीभन्दा फरक यात्रु लिएर नेपाल आएको हो । ती कम्पनीले झन्डै दुई करोड रुपैयाँ खर्च गरेर आफ्ना कामदार नेपाल पठाएका हुन् । 

युएईको सेक्युरिटी कम्पनीमा कार्यरत एक सय ४६ र अन्य ११ जना गरी १५७ जना छन् । थप एकजना नाबालकसहित एक सय ५८ जना तयार पारिएको थियो । अन्तिम समयमा थप १२ जना अन्य नेपाली भाडा तिरेर आउन तयार भएपछि एक सय ६९ जना यात्रु लिएर जहाज नेपाल आएको हो ।

दूतावासले भने बिहीबार २ सय १० जनाको सूची तयार पारेको थियो । यता विमानस्थलमा जहाज अवतरणपछि भने सूची नै नभएका यात्रु आए पनि नेपाली सेनालाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । 

विमानस्थल स्रोतका अनुसार बिहीबारसम्म पहिले सूचीमा भएका व्यक्तिअनुसार होल्डिङ सेन्टरमा राख्ने तय भएको थियो । तर, सूचीमा भएकाहरू नआएपछि विमानस्थलमा सबैको व्यक्तिगत विवरण संकलन गरेर नयाँ सेड्युलमा काम गर्नुपरेको थियो । विमानमा प्रदेश १ का ४६, २ का २३, बागमतीका ३७, गण्डकीका २८, प्रदेश ५ का १८, कर्णालीका चार र सुदूरपश्चिमका १२ जना आएका थिए ।

सरकारले काठमाडौंको यती पार्टी प्यालेस वसुन्धरा, स्काइजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखेको छ । काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा बागमती, गण्डकी र प्रदेश ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिएको छ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटलाई होल्डिङ सेन्टर बनाइएको छ । त्यहाँ प्रदेश १ र २ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिएको छ । 

ललितपुरमा नौ सयजनाका लागि डिलाइट पार्टी भेन्यु महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यु खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रूपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिएको छ । 

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’मा राखिएको हो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा पठाइन्छ ।

त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरूको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झन्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ । 

विदेशबाट आउनेलाई काठमाडौंका ४७ वटा होटेलमा राखिने 

सरकारले विदेशबाट आएका नेपालीलाई होटेल क्वारेन्टाइनमा राख्न पर्यटक स्तरका देखि पाँचतारे होटेल छनोट गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार क्वारेन्टाइन बनाउनका लागि छनोट भएका होटेलको सूची सार्वजनिक गरेको हो । 

काठमाडौंले चारतारे एक, तीनतारे होटेलको संख्या नौ, दुईतारे दुई, डिलक्स रिसोर्ट एउटा, एकतारे होटेल पाँच र पर्यटकीय स्तरका होटेल २७ गरी जम्मा ४७ होटेल सूचीकृत गरेको छ । जसमा १८ सय ८९ वटा कोठा रहेका छन् । 

होटेल एसोसिएसन अफ नेपाल (हान) र पर्यटन मन्त्रालयबीच बिहीबार होटेलमा लाग्ने खर्चका विषयमा सहमति भएको थियो । पर्यटनमन्त्री योगेश भट्टराईले होटेल व्यवसायीलाई सस्तो बनाउन आग्रह गरेका थिए ।

नयाँ मूल्यअनुसार प्रतिदिनका लागि चारतारे होटेलको प्रतिकोठा एकजनाका लागि आठ हजार र दुईजनाका लागि प्रतिव्यक्ति पाँच हजार पाँच सय रुपैयाँ छ । त्यस्तै तीनतारे होटेलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र दुईजना बस्न चाहनेका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय निर्धारण गरिएको छ ।

दुईतारेमा एक्लै बस्न चाहनेका लागि पाँच हजार र दुईजनाका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । एकतारेमा एक्लै बस्न चाहनेका लागि चार हजार र दुईजना बस्दा प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

पर्यटकीय स्तरका लागि पनि दुईजना बस्दा तीन हजार र एक्लै बस्दा दुई हजार रुपैयाँ तोकिएको छ ।