मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भर्जिनिया लोपेज ग्लास
२०७५ माघ १४ सोमबार ०९:३२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

भेनेजुएलामा अन्तरिम सरकार किन ? 

Read Time : > 1 मिनेट
भर्जिनिया लोपेज ग्लास
२०७५ माघ १४ सोमबार ०९:३२:००

गुइएदोलाई रोकेर सम्पूर्ण शक्तिमाथि नियन्त्रण बनाए पनि मदुरोले देशको धराशयी अर्थतन्त्र उकास्न, वैधानिकता र लोकप्रिय जनमत पाउन मुस्किल छ

गत बुधबार भेनेजुएलाको राष्ट्रिय सभाका ३५ वर्षीय नेता हुँवा गुएइदोले दसौँ हजार भेनेजुएलन नागरिकका अगाडि संविधानलाई हातमा राखेर भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा शपथ खाए । राष्ट्रपति निकोलास मदुरोभन्दा गुएइदो निकै लोकप्रिय छन् । गुएइदोले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित नेसनल एसेम्बलीको नेतृत्व गर्छन् । उनको नाम अहिलेसम्म भ्रष्टाचारले छोएको छैन । देशमा स्वतन्त्र निर्वाचन नहुँदासम्म संक्रमणकालीन सरकार चलाउने उनको प्रतिबद्धताले पुनः आशा जगाएको छ । अन्ततः भेनेजुएलाको भ्रष्ट राजनीतिक वृत्तको अन्त्य हुने सम्भावना देखिएको छ । एकताका दक्षिण अमेरिकाको सबैभन्दा धनी मुलुक भेनेजुएला पुनः लयमा फर्किने आशा त्यहाँका जनताले गरेका छन् । गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको केही मेनेटपछि नै अमेरिका, क्यानडा, पाराग्वे, ब्राजिल, कोलम्बिया र अन्य सात राष्ट्रले उनलाई भेनेजुएलाका राष्ट्रपतिको मान्यता दिएका छन् ।

यसरी दुई दशकभन्दा अगाडि चाभेजले सुरु गरेको समाजवादी क्रान्ति पुरानै स्थितिमा पुगेको छ । सामाजिक न्याय, असमानता र भ्रष्ट राजनीतिज्ञका कारण उदाएको चाभिस्टा क्रान्ति यिनै बेथिति हटाउन असफल भएको छ । ह्युगो चाभेज र निकोलास मदुरो सरकारहरूले स्रोतले सम्पन्न देश पुनर्निर्माण गर्ने महŒवपूर्ण अवसर खेर फालेका छन् । देशको सम्पत्तिको रूपमा रहेको पेट्रोलियम पदार्थ परिचालन गर्न नसक्दा देशको अर्थतन्त्र धराशयी बनेको छ । एकताका उनीहरूले सत्तामा रहेका मानिसलाई दमन गरेको आरोप लगाएर लज्जित बनाइएका मानिसभन्दा बढी हिंस्रक र दमनकारी भएको प्रमाण चाभेज र मदुरोले दिइसकेका छन् । जे बेथिति परिवर्तन गर्ने वाचाका साथ मदुरो र उनका समर्थक आएका थिए, उनीहरू स्वयंले तिनै व्यथिति ल्याए ।

हो, गुएइदो देशको अन्तरिक नेताको हैसियतमा केही हप्ताभन्दा बढी टिक्लान् या नटिक्लान् अहिले नै भन्न सक्ने स्थिति छैन । विगतमा भएका ठूला सडक प्रदर्शन र लामा आन्दोलनलाई अदालत र सेनाद्वारा समर्थित सरकारले बारबार दबाएको छ । सन् २०१४ मा महिना दिनसम्म चलेको अन्दोलन ४० जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि अन्त्य भयो भने विपक्षी नेता लिओपोल्दो लोपेजलाई जेल हालियो । सन् २०१७ मा सरकार नियन्त्रित सर्वोच्च अदालतले राष्ट्रिय सभाको अधिकार सरकारको हातमा सुम्पिएपछि पुनः एकपटक देशमा सडक आन्दोलन चर्कियो । तर, सरकारले दमनकारी कदम चाल्दा एक सय २० भन्दा बढी आन्दोलनकारी मारिए, हजारौँ घाइते भए भने सयौँलाई जेल हालियो । त्यसको तीन महिनापछि प्रतिपक्ष फुटाइएन मात्र नैतिक पतन गराउने प्रयाससमेत भयो । 

वास्तवमा मदुरो सत्तामा आएदेखि नै भेनेजुएली जनता उनका कदमबाट असन्तुष्ट र आक्रोशित बनेका छन् । उनी आएदेखि देशको स्थिति झनै खराब भएको छ । भेनेजुएली नागरिकले आफ्ना परिवारको हात र मुख जोड्न नसक्ने अवस्थामा पुग्दा मदुरोप्रतिको समर्थन गिर्दो छ । अहिलेको सन्दर्भमा, गुएइदो कति समयसम्म अन्तरिम राष्ट्रपतिको रूपमा रहने हुन्, किटान गरेर भन्न सम्भव छैन । गुइदोलाई रोकेर सम्पूर्ण शक्तिमाथि नियन्त्रण बनाए पनि मदुरोले देशको धराशयी अर्थतन्त्र उकास्न, वैधानिकता र लोकप्रिय जनमत पाउलान् भनी कल्पना गर्न पनि निकै मुस्किल छ ।


लेखक दक्षिण अमेरिकी मामिलाकी समालोचक हुन् । 
कपिराइटः द न्युयोर्क टाइम्स 
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्यमा