१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ जेठ २३ शुक्रबार ०४:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

लकडाउनयता भारतबाट एक लाख ६६ हजार भित्रिए, पछिल्लो समय दैनिक १० हजार भित्रिँदै, तर परीक्षण चार हजारको मात्र 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार ०४:५३:००

लकडाउन सुरु भएयता भारतबाट एक लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैध रूपमा भित्रिएकाहरूको मात्रै हो, लुकिछिपी आउनेको संख्या पनि ठूलो रहेकाले भारतबाट फर्किनेको कुल संख्या अझ धेरै हुन सक्ने गृह मन्त्रालयको आकलन छ । 

गृह मन्त्रालयको तथ्यांकअनुसार ११ चैतदेखि २१ जेठसम्म भारतका विभिन्न सहरबाट एक लाख ६६ हजार ६९ नेपाली घर फर्किएका छन् । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका नाकाबाट ७६ हजार ६ सय पाँचजना आएका छन् । त्यस्तै, प्रदेश ५ बाट ६४ हजार नौ सय ९७, प्रदेश २ बाट १७ हजार नौ र प्रदेश १ बाट सात हजार चार सय ५८ जना आएको गृहको तथ्यांक छ । 

हालसम्म सबैभन्दा धेरै १८ जेठमा १४ हजार ६ सय २५ जना भित्रिएका थिए । पछिल्लो दुई सातामा मात्र एक लाख ३५ हजार नौ सय १८ जना आएको गृहको तथ्यांक छ । अहिले दैनिक औसत १० हजारको संख्यामा भारतबाट फर्किने क्रम जारी छ । सीमामा रोकिएका नेपालीलाई स्वदेश ल्याउने निर्णयसँग पछिल्लो समय २० वटा नाका खुला गरिएको छ । 

लकडाउनको स्वरूपबारे सरकार अलमलमा 

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ, अर्काेतर्फ आर्थिक क्षेत्र पनि धराशायी हुँदै छ । गरिब मात्र होइन, मध्यम वर्गसमेत आर्थिक बोझले लकडाउन खुकुलो पार्न माग गर्दै सडकमा उत्रन थालेका छन् । तर, सरकार भने अझै अलमलमा छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि यस सम्बन्धमा ठोस निर्णय गर्न सकेन । 

मन्त्रिपरिषद्ले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउनको मोडालिटी तय गर्न जिम्मा दिएको छ । समितिले विभिन्न क्षेत्रका अगुवासँग राय लिइरहेको छ । विज्ञहरूले नेपालमा लामो समयसम्म कोरोना संक्रमण रहिरहन सक्ने भन्दै स्वास्थ्यसम्बन्धी प्रोटोकल कडाइका साथ पालना गरी आर्थिक क्षेत्रलाई सहज रूपमा अघि बढाउनुपर्ने सुझाब दिएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि बुधबार विभिन्न क्षेत्रका २५ विज्ञसँग यस सम्बन्धमा सुझाब लिएका थिए । 

उच्चस्तरीय समन्वय समितिअन्तर्गतको सिसिआरसीले पनि लकडाउनलाई खुकुलो बनाउनुपर्ने योजना अघि बढाएको छ । आयातमुखी नेपाली अर्थतन्त्र, दैनिकी चलाउन अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारबाट ठूलो संख्यामा फिर्ता हुने सम्भावना, खाद्यान्न संकट हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्लेषण, भारतबाट हुने आयातमा नियन्त्रणको सम्भावना र राष्ट्रिय भण्डारणको कमजोर अवस्थाका कारण लकडाउनलाई खुकुलो बनाउनुपर्ने सिसिआरसीको निष्कर्ष छ । 

संक्रमण नदेखिएका जिल्लाहरूबाट लकडाउन खुुकुलो बनाउँदै लैजानुपर्ने सिसिआरसीको सुझाब छ । ‘संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रूपमा लकडाउनलाई मुख्य क्रियाकलापहरू खुला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रूपमा खुकुलो गर्दै जाने,’ सिसिआरसीले बनाएको योजनामा भनिएको छ । पाँच चरणमा गरेर लकडाउन खुुकुलो बनाउन उसको सुझाब छ ।

उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार कम जोखिम क्षेत्रमा केही दिनपछि लकडाउनको स्वरूप परिवर्तन हुने सम्भावना छ । 

देशभरिका क्वारेन्टाइनमा एक लाख ६१ हजार

भारतबाट फर्किएका सबैलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले देशभरिका क्वारेन्टाइनमा बस्नेहरूको संख्या एक लाख ६१ हजार दुई सय ६२ पुगेको छ । उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका छन् । केही संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन् । 

क्वारेन्टाइनमा बस्नेको संख्या उच्च भए पनि परीक्षण भने सुस्त छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार आठ सय ६७ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर २० ठाउँमा रहेका प्रयोगशालामा दैनिक करिब ६ हजार नमुनाको कोरोना परीक्षण गर्ने क्षमता छ । तर, अहिले औसत दैनिक चार हजार नमुना परीक्षण हुने गरेको छ । यही गतिमा क्वारेन्टाइनमा रहेकाहरूको मात्र परीक्षण गर्न करिब ४० दिन लाग्छ । 

स्वास्थ्य मन्त्रालयले ठूलो क्षमतामा परीक्षण गर्न सक्ने प्रयोगशालाका सामग्री खरिदका लागि बल्ल प्रक्रिया अघि बढाएको छ । परीक्षण नै सुस्त हुँदा नेपालमा कोरोना संक्रमण नियन्त्रण हुन लामो समय लाग्ने र यसको असर ठूलो हुन सक्ने चिन्ता जनस्वास्थ्य विज्ञहरूको छ । 

धेरैजसो क्वारेन्टाइनमा अत्यावश्यक सुविधासमेत नभएको र लामो समय बस्नुपर्दा विद्रोह हुन सक्ने आकलन गृह मन्त्रालयको छ । त्यहीअनुसार सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको एक अधिकारीले बताए । वेलामा परीक्षण नहुँदा संक्रमण रहेको व्यक्तिले समयमै उपचार नपाउने र क्वारेन्टाइनभित्र अन्यमा समेत सर्ने जोखिम हुन्छ ।

क्वारेन्टाइनमा विद्रोह गरेर घर फर्किए संक्रमण समुदायमा फैलने अर्को खतरा छ । कोरोना अस्पतालका आइसोलेसन बेड भरिएपछि सरकारले सामान्य अवस्थाका संक्रमितलाई घरमै राखेर उपचार गर्ने तयारी गरेको छ ।