मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
समाचार

पठनपाठन सहज बनाउन विज्ञहरूसँग उच्चस्तरीय समितिको परामर्श 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार १७:२३:००

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधिमा कसरी पठनपाठन सहज बनाउँदै लैजाने भन्ने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा विज्ञहरूले लकडाउनमा अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाब दिएका छन् । जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, सञ्चालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न उनीहरूले सुझाब दिएका छन् ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन सञ्चालन, परीक्षा, भर्ना तथा भर्चुअल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविष्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाब दिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भर्चुअल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरूबाट उच्चस्तरीय समितिले सुझाब लिएको बताए । उनले बन्दाबन्दीलाई व्यवस्थित गर्दै अनलाइन, टेलिभिजन, मोबाइलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचारप्रसार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझाबलाई मस्यौदाको रूपमा मन्त्रिपरिषद् बैठकमा लगिने बताए ।  

सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने बताएसँगै केही दिनयता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतसँग छलफल गरिसकेको छ ।