मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २२ बिहीबार १४:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोना कहर : टुटल र पठाओ बन्द हुने अवस्थामा

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १४:५०:००

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरेकाे लकडाउनले व्यावसायिक गतिविधिसहित सवारीसाधनको सञ्चालन बन्द रहेको छ । 

यस्तै सवारीसाधनको सेवा दिँदै आएको टुटल र पठाओ लकडाउनले पूर्णतया प्रभावित बनेका छन् । जसका कारण कम्पनी नै बन्द हुने अवस्थामा रहेको टुटल र पठाओका सञ्चालकहरूले जनाएका छन् । 

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा तत्काल  सवारीसाधन सञ्चालन हुने अवस्था नरहेकाले अब कम्पनी निकै कठिन मोडबाट गुज्रिरहेको पठाओका कम्पनी व्यवस्थापक शशांक थापाले बताए । 

उनले उत्पन्न कठिन अवस्थाका कारण कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको जनाए । 

कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको र तत्काल अवस्था सामान्य बन्ने संकेत नदेखिएकाले सेवा सुरु हुने सम्भावना कम रहेको उनले बताए । 

साथै उनले कोरोनापछि उत्पन्न अवस्थाले कर्मचारीलाई तलबदेखि कम्पनीको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयले अन्योल उत्पन्न गराएको बताए । 

थापाका अनुसार अहिलेको अवस्था अझै लम्बिँदै गएमा कर्मचारीको तलबसमेत व्यवस्थापन गर्न नसक्ने अवस्थामा कम्पनी पुग्छ । 

पठाओको ५० हजार राइडरहरू यतिवेला घरमा बस्न बाध्य भएको कम्पनीको दाबी छ । उनीहरूको रोजीरोटी गुम्दा आफूहरूमाथि दबाब आइरहेको थापाले बताए । 

सवारीसाधनधनीलाई कोराेनाकै कारणले किस्तादेखि घरखर्च चलाउन समस्या भएको कम्पनीसमक्ष गुनासो आउने गरेको छ । 

‘राइडर साथीहरू हामीसमक्ष गुनासो  पोख्नुहुन्छ अब के गर्ने भनेर, तर अहिले हामी कम्पनी नै धराशायी हुने अवस्थाबाट गुज्रिएका छौँ,’ थापाले भने ।

यसअघि पटकपटक गम्भीर मोडकाे सामना गर्दै आएको भए पनि अहिलेको जस्तो जटिल अवस्था पहिला नआएको टुटल कम्पनीका व्यवस्थापक तथा निर्देशक शिक्षित भट्टले बताए । 

यतिवेला टुटल पनि पठाओकै हालतमा कम्पनी नै बन्द गर्नुपर्ने अवस्थानजिक आइपुगेको उनी बताउँछन् । 

३० देखि ३५ हजारको संख्यामा टुटलमा आबद्ध राइडरहरू अहिले घर बस्न बाध्य भएको भट्टले बताए । 

‘कर, कार्यालयकाे भाडा, कर्मचारीलाई मासिक तलब दिँदा कम्पनी अब जिरोमा झरेको छ, हामीजस्ता साना कम्पनीको आफ्नै पीडा छ, कसले सुनिदिन्छ, न त हाम्रो  संघसंस्था छ न त हाम्रो सम्बन्धित निकाय छ, हामी  निकै मारमा परेका छौँ,’ भट्टले  भने ।

सरकारले  यातायात व्यवसायीको दबाबमा टुटल  र पठाओलाई रोक्नका लागि पटकपटक  प्रयास गरेको थियो । तर, सार्वजनिक रूपमा त्यसको तीव्र विरोध भएपछि सरकार पछि हटेको थियो । 

पछिल्लो  समय भौतिक पूर्वाधार तया  यातायातमन्त्री वसन्त नेम्वाङको पहलमा  ढुक्कले  चल्न पाएका टुटल  र पठाओ  यतिवेला कोरोनाको  ठूलो मारमा आफ्नो बजारहिस्सा  गुमाउन बाध्य भएका छन् । 

सरकारले कानुनी दायरामा ल्याएर सञ्चालन गर्ने भनिएका यस्तो व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले कानुन बनाएको भए पनि राजपत्रमा प्रकाशित हुन नसक्दा कानुनी रूपमा अझै अन्योलमा छन् । 

सर्वसाधारणले भने आफ्नो गन्तव्यमा जान यस्ता टुटल  र पठाओसँग आबद्ध सवारीसाधनलाई सस्तो र छरितो मान्दै आएका छन् ।