क्वारेन्टाइनबाट घर गएको दुई घन्टामै युवकको मृत्यु, स्वाब परीक्षण गर्न बाँकी
सुर्खेतमा क्वारेन्टाइनबाट घर गएका १९ वर्षीय एक युवकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका- १ का १९ वर्षीय युवकको बिहीबार बिहान घरमै मृत्यु भएको हो।
उनी स्थानीय जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेर बुधबार राति मात्रै घर गएका थिए। घर पुगेको दुई घन्टापछि नै उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
राससका अनुसार उनी ९ जेठमा भारतको मुम्बईबाट घर आएका थिए। बुधबार दिउँसो साढे ४ बजे आरडिटी जाँच गर्दा उनमा कोरोना नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो।
मृत्यु भएका युवकको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको पञ्चकुमारी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए। स्वाब परीक्षणको नतिजापछि मात्रै मृतक युवाको शव दाहसंस्कारको टुंगो लाग्ने उनले बताए।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो।
ती युवालाई घरदेखि चार सय मिटरको दूरीमा रहेको मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टाइनमा राखिएको थियो।