मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २२ बिहीबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ

प्रभावकारी बन्यो मकै जोन कार्यक्रम, सामूहिक मकैखेतीबाट मनग्य आम्दानी

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार ०७:५६:००

मोरङको बेलबारी नगरपालिका– ६ को मकै जोन कार्यक्रम प्रभावकारी भएको छ । पहिला गरिँदै आएको मकैखेती र अहिले अभ्यास गरिएको खेतीमा धेरै भिन्नता रहेको कृषकहरूकाे अनुभव छ । यसबाट थोरै लगानीमा धेरै फाइदा लिन सकिएको स्थानीय कृषक पूर्णबहादुर राईले बताए । 

नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अघि सारेकाे छ । सोही कार्यक्रमअन्तर्गत कृषिमा आत्मनिर्भर बन्न  सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै सो वडालाई मकै जोन घोषणा गरिएको थियो । 

वडाका सबै कृषक लाभान्वित हुने गरी १२ बिघा जमिनमा सामूहिक मकैखेती गरेका किसानले मनग्य आम्दानीसमेत गरेका छन् । वडाले टोल विकास संस्थामार्फत कृषकलाई सामूहिक खेती गर्न सिकाएको थियो । 

मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई प्राविधिक ज्ञान तथा एक टोल विकास संस्थालाई नगद ५० हजार रुपैयाँ सहयोग गरिएको वडा अध्यक्ष उदयबहादुर राईले बताए ।

बेलबारी नगरपालिकाका कृषि प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञान तथा तालिमसमेत दिएका थिए । ६ दिनसम्म मकै लगाउने, गोड्ने, सिँचाइ, मल तथा रोगसम्बन्धी तालिम  दिएर मात्रै कृषकलाई खेती गर्न लगाएको वडा कार्यालयले जनाएको छ । उक्त कार्यक्रमबाट नौ सयभन्दा बढी कृषक लाभान्वित भएका छन् ।