Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०८:०७:००
Read Time : > 1 मिनेट
नयाँCity

क्यानभासमा कोरोना प्रभाव

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार ०८:०७:००

चित्रकार रवीन्द्र श्रेष्ठले कोभिड-१९ को महामारीको त्रासबीच १५ दिन लगाएर नेपाली संस्कृति झल्किने एक चित्र बनाए, जसमा काठका सजावटका सामग्रीबीच ताल्चा झुन्डिएको देखाइएको छ । तर, ताल्चा बन्द छैन, खुलै छ । ‘किनकि, यो विपत्ति समाप्त भएर परिवर्तन पक्कै आउँछ,’ उनी भन्छन्, ‘र, यो चित्रले मानिसको मनमा रहेको त्रासबाट बाहिर निस्किएर सकारात्मक ऊर्जा दिन्छ ।’

लकडाउनअघि अध्ययन गर्दै चित्र बनाउन कमै पाइन्थ्यो । अहिलेको फुर्सदले त्यो अवसर जुराइदिएको छ ।

इतिहासतिर फर्किंदा हरेक महामारी र विपत्तिले सिर्जनाको क्षेत्रमा केही न केही दिएर गएका छन् । पाब्लो पिकासोको विश्वविख्यात युद्धविरोधी चित्र ‘ग्रर्निका’ र स्पेनका बासिन्दाले नेपोलियन बोनापार्टका सेनाविरुद्ध गरेको प्रतिरोधको चित्रण गरिएको स्पेनी चित्रकार फ्रान्सिस गोयाको चित्र ‘थर्ड अफ मे’ले त्यतिवेला युरोपमा चलेको युद्धका विभीषिका झल्काउँछन् ।

यस्तै, १५औँ शताब्दीमा चलेको हैजाको महामारी चित्रित नेदरल्यान्ड्सका चित्रकार पिटर ब्रुजेलको ‘ट्रायम्फ अफ डेथ’ अहिले स्पेनको राजधानी मड्रिडस्थित एक संग्रहालयको शोभा बनेको छ । कोभिड-१९ को महामारी पनि सिर्जना क्षेत्रमा यसरी नै ऐतिहासिक बन्न सक्ने श्रेष्ठ बताउँछन् । भन्छन्, ‘विगतका विपत्तिझैँ यो महामारी पनि सिर्जना क्षेत्रमा लागेकाहरूका लागि महत्वपूर्ण साबित हुन सक्छ ।’

चित्रकार रागिनी उपाध्याय ग्रेला सिर्जना दुःखबाटै सुरु हुने बताउँछिन् । उनले धेरै चित्र छोरीको प्रेरणाबाट बनाएकी छन् । कोभिड–१९ महामारीले भने उनलाई प्रकृति सम्झाइदियो । र, अहिले चित्रमा प्रकृतिलाई उतार्न लागिपरेकी छन् । विगत र अहिले आफूले बनाएका चित्रमा धेरै फरक पाएकी छन्, उनले । ‘हामीले पुस्तौँदेखि प्रकृतिलाई दोहन मात्र गर्‍यौँ । जतिसुकै शत्तिशाली व्यक्ति पनि प्रकृतिभन्दा ठूलो हुँदैन भन्ने सन्देश यो महामारीले दिएको छ,’ उनी भन्छिन् ।

लकडाउनयता उनले प्रकृतिसँग सम्बन्धित ३० देखि ४० इन्चका १२ वटा चित्र बनाएकी छन् । उनका चित्रले प्रकृति संरक्षणको सन्देश दिन्छन् । उनले बनाएको चित्र ‘बुद्धज् बाओल’ले मानिसलाई शाकाहारी बन्ने सन्देश दिन्छ ।

चित्रकार वीरेन्द्रप्रताप सिंह भने यतिवेला द्विविधामा परेका छन् । महामारीका समयमा मानिसको दिमागमा उत्पन्न तनावलाई उनले चित्रमा उतार्ने प्रयास गरिरहेका छन् । भन्छन्, ‘यस्तो महामारीले सिर्जनाका लागि अवसरभन्दा तनाव धेरै ल्याउने रहेछ ।’

चित्रकार एससी सुमन भने यसलाई सिर्जनाको समयका रूपमा लिन्छन् । तीन दशकदेखि मिथिला चित्रकला बनाउँदै आएका उनले लकडाउनयता सातवटा चित्र बनाइसके । उनले अहिलेसम्म आफ्ना चित्रको अनलाइन प्रदर्शनी गर्न पाएका थिएनन् । यसपटक २९ मेमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आयोजना गरेको कला प्रदर्शनीमा उनी पनि सहभागी भए, जसमा संसारभरका एक सय १५ जना चित्रकारको सहभागिता थियो ।

चित्रकार विजय दत्ताले लकडाउनयता ५० वटा चित्र बनाइसकेका छन् । उनका चित्रमा सामाजिक र आध्यात्मिक चित्रण हुन्छ । ती सबैलाई लकडाउनपछि प्रदर्शनी गर्ने उनको तयारी छ । ‘लकडाउनअघि अध्ययन गर्दै चित्र बनाउन कमै पाइन्थ्यो,’ उनी भन्छन्, ‘अहिलेको फुर्सदले त्यो अवसर जुराइदिएको छ ।’ लकडाउनअघि उनी बजारकोे मागअनुसार हतारमा काम गर्थे, अहिले फुर्सदमा चित्र कोरिरहेका छन् ।