मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सरकारले कर तिर्न ताकेता गरेपछि आफूले लगाएको कपडा बेचेर कर उठाउन भन्दै वीरगन्जका युवाले गरेको सांकेतिक प्रदर्शन । तस्बिर : तिवारी यादव/नयाँ पत्रिका
कृष्ण रिजाल काठमाडौं
तिवारी यादव हेटौँडा
२०७७ जेठ २२ बिहीबार १०:००:००
Read Time : > 3 मिनेट
अर्थ

लकडाउन गराउने र कर उठाउने नीतिविरुद्ध देशभरका व्यवसायी आन्दोलित, काठमाडौंलगायत प्रमुख सहरमा लकडाउनको स्वस्फूर्त अवज्ञा

Read Time : > 3 मिनेट
२०७७ जेठ २२ बिहीबार १०:००:००

करिब अढाई महिनादेखिको लकडाउनले आजित व्यवयायीले सरकारले केही राहत दिइहाल्छ कि भनेर बजेटसम्म कुरे, तर सरकारले ठोस राहत घोषणा गरेन, उल्टै २५ जेठसम्म कर तिर्न ताकेता गर्‍यो, व्यवसायी र समाजको दबाबले कर तिर्ने म्याद थपियो, तर व्यवसायीको आवेग थामिएन

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य विकल्प नसोची लकडाउन मात्रै लम्ब्याउँदै जाँदा व्यवसाय धरापमा पर्दै गएको भन्दै देशभरका उद्योगी–व्यवसायी आन्दोलित बनेका छन् । उनीहरूले मुलुकका प्रमुख सहरमा लकडाउनको विरोधमा पसलसमेत खोलेका थिए । झन्डै साढे दुई महिनादेखि उद्योग–व्यवसाय ठप्प हुँदा बैंकको साँवा–ब्याज तथा कर तिर्न मात्रै नभई दैनिक जीवनयापनमै समस्या भएको भन्दै व्यवसायीहरूले लकडाउनको अवज्ञा थालेका हुन् ।

काठमाडौं, वीरगन्ज, मकवानपुर, चितवन, पोखरा, नेपालगन्ज, सुर्खेत, दोलखालगायतका विभिन्न सहर बजारमा व्यवसायीले पसल खोलेर लकडाउनको अवज्ञा गरे । निजी क्षेत्रका छाता संगठनहरूको अगुवाइमा व्यवसायीहरूले निश्चित समय तोकेर आ–आफ्ना उद्योग–व्यवसाय सञ्चालन गर्न थालेका छन् । वीरगन्जमा युवाले कपडा खोलेर लकडाउनको विरोध प्रदर्शन गरेका थिए । हेटाैंडामा पसल खोल्ने र प्रहरीले बन्द गर्ने लुकामारी चलेको थियो । नेपालगन्जमा लकडाउनको विरोधमा जिल्ला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ । 

दोलखाका व्यवसायीले बिहान १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न थालिसकेका छन् । काठमाडौंको बौद्ध, जोरपाटीका व्यवसायीले ‘लकडाउन अब अति भयो’ भन्दै मंगलबार पसल खोले । व्यापारीहरूले स्वस्फूर्त रूपमा पसल खोल्न थालेपछि प्रहरीले सामान्य धरपकडसमेत गर्‍यो । व्यवसायीले पसल खोल्ने, तर प्रहरीले खोल्न नदिने कार्य हुँदा एकछिन सामान्य झडपसमेत भएको थियो । मंगलबार नै चितवनमा समेत व्यवसायीले लकडाउनको अवज्ञा गर्ने भन्दै सडकमा निस्किए । 

यसअघि नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन लम्ब्याउँदै जाने सरकारी नीतिको विरोध गर्दै लकडाउन खुकुलो बनाउन माग गरिसकेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्रै बढाउँदै लैजाने सरकारी नीतिप्रति महासंघले विरोध जनाएको छ ।  

दोलखामा १२ बजेसम्म खोलियो  
दोलखामा उद्योग वाणिज्य संघको अगुवाइमा बिहान १२ बजेसम्म व्यापार व्यवसाय खोल्न थालिएको छ । जिल्ला प्रशासनसँगको सहमतिमै पसल तथा अन्य व्यवसाय खोल्न थालिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।  

सुर्खेतमा पनि अवज्ञाको धम्की   
सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन प्रमुखलाई लकडाउन खुकुलो बनाउन भन्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । लकडाउन खुकुलो नबनाए व्यवसायीले स्वस्फूर्त रूपमा त्यसको अवज्ञा गर्ने संघका महासचिव लक्ष्मण कँडेलले बताए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुका साथै सामाजिक दूरी कायम राखेर सुर्खेतका व्यापार व्यवसाय दुई–तीन दिनभित्र सञ्चालन गरिने उनले बताए । अहिले पनि केही–केही पसलहरू भने खुल्न थालिसकेको उनले जानकारी दिए । 

पोखराका व्यवसायीको चेतावनी
पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष दामु अधिकारीले सरकार आफैँले लकडाउन खुकुलो बनाएर व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाए व्यवसायी आफ्ना व्यवसाय सञ्चालन गर्न बाध्य हुने चेतावनी दिए ।  

वीरगन्जमा युवाको प्रदर्शन 
लकडाउनको विरोधमा वीरगन्जका युवाले कपडा खोलेर प्रदर्शन गरेका छन् । उनीहरूले निश्चित मापदण्ड तोकेर उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनसमेत सरकारसँग माग गरेका छन् । 

‘लकडाउन लम्बिए आर्थिक र सामाजिक दुर्घटना निम्तिन्छ’
आयात–निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी–पैठारी संघले पनि लकडाउन खुकुलो बनाउन माग गरेको छ । संघले विज्ञप्ति नै जारी गरेर लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको हो ।
   
हेटौँडामा व्यवसायी पसल खोल्ने, प्रहरी बन्द गर्ने

लामो समय लकडाउन हुँदा व्यवसाय धराशायी भएको भन्दै व्यवसायीले लकडाउनको अवज्ञा गरेका छन् । उनीहरूले प्रशासनको अनुमतिविना पसल खुला गर्न थालेका छन् ।

मकवानपुर प्रशासनले बिहान ६ देखि ९ बजेसम्म अतिआवश्यक वस्तु खरिद–बिक्रीबाहेक सबै बन्द गरेको छ । तर, बुधबार भने उद्योग वाणिज्य संघको नेतृत्वमा बजारमा सबै किसिमका पसल खुला भए । संघले १९ जेठमा पत्रकार सम्मेलनमार्फत २१ जेठदेखि प्रशासनले अनुमति नदिए पनि सबै पसल खुला गर्ने जनाएको छ ।

बुधबार प्रहरी र व्यवसायीबीच करिब २ घन्टा रमिते चर्तिकला भएको थियो । पसल खुला भएपछि प्रहरीले तत्काल बन्द गरेका थिए । व्यवसायी सटर खुला गर्ने र प्रहरी पछि–पछि बन्द गर्दै भिडभाड हटाउने प्रयासमा जुटेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार कोरोना प्रभाव र लामो समय लकडाउनले व्यवसाय धराशायी हुँदै गएको अवस्थामा बिहान ६ देखि ९ बजेसम्म सबै किसिमका पसल खुला गर्न प्रशासनसँग बारम्बार अनुरोध गरिएको थियो । तर, कुनै सुनुवाइ नभएपछि लकडाउनको अवज्ञा गर्नुको कुनै विकल्प नरहेको न्यौपानेले बताए ।   

यता, मकवानपुर प्रजिअ दीपकराज नेपालले प्रशासनको अनुमतिविना पसलहरू खुला गरिएपछि प्रहरी परिचालन गराएर बन्द गराउनुपरेको जानकारी दिए । प्रजिअ नेपालले अनुमतिविना अत्यावश्यक सेवाबाहेकका पसलहरू खोल्न नपाइने र खोलिए कारबाही गर्ने बताएका छन् ।  

हेटौँडाको मेनरोड, राप्तीरोड, स्कुलरोड, कान्तिराजपथ, पारिजातपथ, टिसिएनरोड, बसपार्कलगायतका क्षेत्रमा कपडा, जुत्ता पसलदेखि साना होटेल र मदिरा पसल पनि खुलेका थिए । प्रहरी प्रशासनले बिहान ९ बजेपछि पसल बन्द गर्न अनुरोध गरे पनि पछिल्लोपटक थप गरिएको लकडाउनदेखि बजारका अधिकांश पसल लुकिछिपी खुला हुने गरेका छन् ।

राहत माग्दै नेपालगन्जका व्यवसायी आन्दोलित
नेपालगन्ज उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि तत्काल राहत घोषणा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले २५ जेठभित्र कर तिर्नुपर्ने म्यादलाई ७ असारसम्म पुर्‍याए पनि अपर्याप्त भएको भन्दै संघले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।   

संघले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार बिहान ९–१० बजेसम्म कर तिर्न नसक्ने व्यहोरासहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाट विरोध प्रदर्शन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।

त्यसपछि उद्योगी–व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार लकडाउन अवधिभरलाई शून्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तीन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।