मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २२ बिहीबार ०५:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चरिकोट अस्पतालले एकैपटक हटायो ३७ स्वास्थ्यकर्मी

तीन दिनदेखि अस्पतालमा नाराजुलुस

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार ०५:३०:००

लकडाउनको समयमा बजेट अभाव भएको भन्दै चरिकोट अस्पतालमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी हटाइएको छ । स्वास्थ्यकर्मी हटाएको विरोधमा तीन दिनदेखि अस्पताल तनावग्रस्त छ । न्याय हेल्थ नामक गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको अस्पतालमा एकैपटक धेरै स्वास्थ्यकर्मी हटाएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।

२०७२ माघदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको सहकार्यमा न्याय हेल्थ नेपालले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालमा कार्यरत एक सय ३० भन्दा धेरै स्वास्थ्यकर्मीमध्ये ३७ जनालाई कोरोना महामारीका वेलामा हटाइएको हो । 

सेवाबाट हटाइएकाले सोमबारदेखि अस्पताल प्रांगणमा नाराबाजी गर्दै आएका छन् । उनीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै नौबुँदे माग सार्वजनिक गरेका थिए, तर आफ्ना मागबारे कुनै सम्बोधन नभएको उनीहरूले बताएका छन् । सेवाबाट हटाइएका स्वास्थ्यकर्मीले नेपाल सरकार र न्याय हेल्थबीच भएको सम्झौताअनुसार अस्पताल चल्नुपर्ने, अस्पतालभित्र यातायात, खाना, खरिदलगायतका शीर्षकमा व्यापक अनियमितता भएको भन्दै निष्पक्ष छानबिन गर्न सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

स्वास्थ्यकर्मीले मापदण्डविनै कर्मचारी हटाएको र तल्लो तहका कर्मचारीलाई विभेद र दुर्व्यवहार गरेको भन्दै न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख रहेका अस्पतालका मेडिकल निर्देशक विनोद दंगालको राजीनामा माग गरेका छन् । कोरोना महामारीका वेला स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै रोजीरोटी खोसेको भन्दै जिल्लाभर विरोध भइरहेको छ ।

संघर्ष समितिका संयोजक सन्तोष पोख्रेलले दोलखाली जनताको स्वास्थ्य उपचारमा दाताले गरेको लगानी दुरुपयोग गर्न अस्पताल प्रशासन लागेको भन्दै तत्काल छानबिन गर्न न्यायिक निकायको ध्यानाकर्षण गराए । उनीहरूले सेवाबाट हटाइएका सबै स्वास्थ्यकर्मीकोे पुनर्बहाली नगरे इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

अनुदान घटेका कारण कर्मचारी कटौती गरेका हौँ : न्याय हेल्थ 
न्याय हेल्थ नेपाल नामक एनजिओले अमेरिकी संस्थाको अनुदान घटेका कारण कर्मचारी कटौती गर्नुपरेको जनाएको छ । न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख रहेका अस्पतालका मेडिकल निर्देशक डा. विनोद दंगालले दाताको अनुदान घटेकै कारण कर्मचारी कटौती गर्न बाध्य भएको जनाए । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले कोरोना महामारीका वेला प्रस्तावित चरिकोट अस्पतालमा उत्पन्न विवाद समाधानको प्रयास भइरहेको बताए ।