१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
स्वदेश फर्कने आशामा काँकडभिट्टा बसपार्कमा अलपत्र परेका भारतीय ।
२०७७ जेठ २२ बिहीबार ०५:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काँकडभिट्टा नाकामा भारतीयको भिड : स्वदेश फर्कन चाहने एक हजार भारतीय पूर्वी नाकामा रोकिए 

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार ०५:१०:००

पूर्वी नाका काँकडभिट्टा भएर स्वदेश आउन चाहने आफ्ना नागरिकलाई भारतले रोक लगाएको छ । पश्चिम बंगाल सरकारले नेपालबाट जानेलाई प्रवेशमा रोक लगाएपछि एक हजारभन्दा बढी भारतीय नागरिक पूर्वी नाकामा अलपत्र परेका छन् । 

‘चोरबाटो’बाट भारतमा रहेका नेपाली स्वदेश फर्काइएको थाहा पाएपछि आफ्नो देश फर्कने आसमा पूर्वी नाकासम्म आएका नागरिक सडकमै रोकिएका छन् । केही दिनअघि मात्र यही नाका भएर दुई हजार नेपालीलाई स्वदेश फर्काइएको थियो ।

नेपालले निरन्तर दबाब दिएपछि एक सातादेखि सडकमै रोकिएका पाँच सय भारतीयलाई बुधबार पश्चिम बंगाल सरकारले लगेको छ । अझै एक हजार भारतीय सडकमा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । डिएसपी पोखरेलले पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई किस्ता–किस्तामा मात्र आफ्ना नागरिक लगेको बताए । नाकामा भिड लागे पनि भारतीय सुरक्षाकर्मीले नपठाउनु भन्ने गरेको बताए । ‘भिड बढेको बढ्यै छ । यसले समस्या बनाएको छ,’ उनले भने, ‘भारतीय प्रशासन संयन्त्रले अहिले नपठाऊ भनेको छ ।’ 

पश्चिम बंगालबाहेक अन्य प्रान्तका नागरिकलाई प्रवेश नदिएको उनको भनाइ छ । ‘अन्य प्रान्तका नागरिकलाई प्रवेश दिएको छैन । यही नाकाबाट नगई नहुने सिक्किम तथा आसमका नागरिकलाई दूतावासको स्वीकृति चाहिन्छ र राज्य सरकारले नाकामै लिन आउनुपर्छ,’ उनले भने, ‘पश्चिम बंगाल जान पनि दूतावासको स्वीकृतिचाहिँ चाहिन्छ ।’

स्वदेश फर्कने आसमा काँकडभिट्टा आइपुगेका भारतीय अहिले दिनभर तातो घाममा र राति खुला आकाशमुनि बस्न बाध्य छन् । डिएसपी पोखरेलले रातमा केहीलाई मेची पुलमुनि राखिएको बताए । केहीलाई बसपार्कमा त्रिपाल टाँगेर र केहीलाई नजिक विद्यालयमा राखिएको बताए ।

‘भिड थेग्नै मुस्किल भो’
डिएसपी पोखरेलले भारतले आफ्ना नागरिक नलाँदा नाकामा थामिनसक्नु भिड भएको बताए । ‘अहिले पनि एक हजारजति छन् । खानाचाहिँ स्थानीय सरकार र संघसंस्थाले सहयोग गरेका छन्,’ उनले भने, ‘राति खुला आकाशमुनि बस्नुको विकल्प छैन । बसपार्कछेउछाउ नै बसिरहेका छन् ।’ 

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले भारतीय मजदुरलाई अन्य जिल्लाले समन्वय नगरी पठाउँदा थेग्नै मुस्किल भएको बताए । ‘पूर्वी नाका भएर जाने भारतीय मजदुरलाई अरू जिल्ला प्रशासनले झापासँग समन्वय नगरी पठायो । त्यसकारण समस्या भयो,’ उनले भने ।