Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २१ बुधबार १५:२१:००
Read Time : < 1 मिनेट
विश्व

तीन महिनाकाे लकडाउनपछि युरोपेली मुलुकका पर्यटकलाई इटालीले आगमन खुला गर्ने

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार १५:२१:००

कोरोना भाइरस महामारीका कारण लकडाउन गरेको इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । इटालीले तीन महिना पहिले युरोपसहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । 

गर्मी मौसम सुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो ।

पर्यटकहरूले भेनिससमेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् । 

युरोपमै कोरोना भाइरसका कारण हटस्पटका रूपमा रहेको इटालीमा सुरुआती दिनहरूमा ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना संक्रमितको संख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । 

कोरोना भाइरस फैलन नदिने उपायस्वरूप इटालीले मार्च महिनाको सुरुवातदेखि नै लकडाउन जारी गरेको थियो । लकडाउन कडा पारिएपछि मात्र यहाँ कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको थियो । 

अझै पनि इटालीमा दैनिक दर्जनौँ व्यक्ति कोरोना संक्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् । विज्ञहरूले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय उडानहरू इटालीका मुख्यतः तीनवटा सहरहरू मिलान, रोम र नेपल्समा हुनेछ । तर, कार, रेल र पानीजहाजबाट इटाली आउने मानिस जहाँ पनि जान सक्नेछन् । 

स्वीट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ । स्वीट्जरल्यान्डले यही जुन १५ मा इटालीबाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दै छ ।  

अस्ट्रियाले पनि मध्यजुनदेखि इटालीबाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दै छ । 

पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) रहेको छ ।