मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २१ बुधबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार

आइसोलेसन वार्ड भरिएपछि सेती अस्पतालद्वारा संक्रमित भर्ना लिन अस्वीकार 

Read Time : > 1 मिनेट
२०७७ जेठ २१ बुधबार १०:३३:००

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आइसोलेसन वार्ड भरिएको भन्दै संक्रमितलाई भर्ना नगरी फिर्ता गर्न थालेकाे छ। गौरीगंगा नगरपालिकाबाट ल्याइएका संक्रमित पाँचजना पुरुषलाई मंगलबार अस्पतालले राति फिर्ता गरेकाे हाे ।

‘संक्रमित बोकेर अस्पताल परिसरमा पुगेको एम्बुलेन्सबाट संक्रमितलाई झर्नै दिइएन। ठाउँ छैन भन्दै फिर्ता गरियो,’ गौरीगंगाका मेयर भीमबहादुर देउवाले भने, ‘राति नै फिर्ता ल्याएर बर्थिङ सेन्टरमा राखेका छौँ ।’ वडा नम्बर ४ मा रहेको बर्थिङ सेन्टरको एउटै कोठामा संक्रमितलाई राखिएको उनले बताए । संक्रमित बोकेको एम्बुलेन्स करिब एक घन्टासम्म अस्पताल परिसरमा रोकिएको थियो ।

पाँचजना संक्रमितमध्ये दुईजनामा ज्वरो, रुघाखोकी, बान्ता हुनेजस्ता लक्षण देखिएकाे उनले बताए । ‘अस्पतालले भर्ना लिएन भने संक्रमितलाई कहाँ राख्ने ?’ साउदले भने, ‘अस्पतालका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलाई समेत फोन गरेँ, तैपनि भर्ना लिइएन । कोरोनाको लक्षण देखिएकालाई मात्र भर्ना लिन्छौँ भनेर फर्काए ।’ नगरपालिकाले निर्माण गरिरहेको आइसोलेसनमा संक्रमितलाई सारिने उनले बताए ।
    
सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले संक्रमितले आइसोलेसन वार्डहरू भरिएकाले थपलाई भर्ना लिन सक्ने अवस्था नरहेको बताए । ‘आइसोलेसन सबै भरिए, थप संक्रमित राख्न सक्ने अवस्था छैन,’ पाण्डेयले भने, ‘कोरोना संक्रमितलाई अरू वार्डमा राख्ने कुरा भएन ।’ कुनै लक्षण नदेखिएका र सामान्य अवस्थाका बिरामीलाई स्थानीय तहहरूमै राखेर उपचार गर्न सकिने उनले बताए । 

प्रदेश सरकारले कोरोना उपचार विशेष अस्पताल तोकेको सेतीमा कोरोना संक्रमणलाई लक्षित गरेर २४ वटा आइसोलेसन वार्ड निर्माण गरिएका थिए । अहिले २३ जना संक्रमित र दुईजना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ । संक्रमितको संख्या बढ्दा ठाउँको अभावले एउटा वार्डमा दुईजना संक्रमितलाई राखिएको अस्पतालका प्रवक्ता डाक्टर जगदीशप्रसाद जोशीले जानकारी दिए । 

प्रदेश सरकारले धनगढीमा ५० शय्याको आइसोलेसन वार्ड निर्माण गरेर साताअघि सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । तर, उक्त वार्ड सेतीले सञ्चालन ल्याइसकेको छैन । स्वास्थ्य उपकरण, एसी, ग्रिललगायत सामग्री जडान भइरहेकाले नयाँ आइसोलेसन वार्ड सञ्चालन हुन अझै तीन दिनजति लाग्ने मेसु पाण्डेयले बताए । 

नयाँ आइसोलेसन वार्ड सञ्चालन भए थप बिरामी भर्ना लिन सकिने अस्पतालले जनाएको छ । सुदूरपश्चिममा केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको छ । यहाँ संक्रमितको संख्या ७३ पुगेको छ । मंगलबार मात्रै २७ जना संक्रमित देखिएका छन् ।  

सबै तहमा ५० शय्याको आइसोलेसन बनाउन आग्रह

कोरोना संक्रमित र शंकास्पद बिरामी भेटिने क्रम तीव्र भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै स्थानीय तहलाई कम्तीमा ५० शय्याको आइसोलेसन वार्ड निर्माण गर्न आग्रह गरेको छ । निर्देशनालयले प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गरेर सम्भावित संकटलाई मध्यनजर गरेर आइसोलेसन वार्डहरू तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

‘संक्रमित र कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीले भोलि अस्पतालहरू भरिनसक्ने देखिएको छ । अस्पताल भरिएपछि कहाँ राख्ने भन्ने समस्या हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘त्यसैले अहिले नै आइसोलेसन वार्डहरू तयारी अवस्थामा राख्न आग्रह गरेका हौँ ।’ आइसोलेसनहरूमा संक्रमितलाई राखेर पनि उपचार गर्न सकिने उनले बताए ।