१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ जेठ २१ बुधबार ०८:०६:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम पश्चिम घटना : दश दिनपछि भेटियो छैटौँ शव

टाउकोमा चोटैचोट, कपडा बेरिएको अवस्थामा २० किमि तल भेटियो शव

Read Time : > 1 मिनेट
२०७७ जेठ २१ बुधबार ०८:०६:००

रुकुम पश्चिमको चौरजहारी– ८ सोतीमा भएको घटनामा परी बेपत्ता भएका एक युवकको शव दश दिनपछि मंगलबार भेटिएको छ । टाउकोमा चोटैचोट भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट करिब २० किलोमिटर तल भेरी नदीमा भेरी नगरपालिका– ११ का २१ वर्षीय गोविन्द शाहीको शव भेटिएको हो । स्थानीय बासिन्दाको सहयोगमा भेरी नगरपालिका– १३ खोदाखोलानजिकबाट शव निकालिएको जाजरकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले बताए । खोजीमा संलग्न प्रहरीका अनुसार टाउकोमा चोटैचोट, हात भाँचिएको र कपडाले टाउको बाँधिएको अवस्थामा शव भेटिएको छ । ‘सबै शव चोटपटक लागेको अवस्थामा भेटिएका छन्,’ खोजीमा संलग्न स्थानीय सुमन शाहले भने । 

गोविन्दको शव भेटिएसँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि भेरी नगरपालिका–४ का नवराज विक, सञ्जीव विक र गणेश बुढा, भेरी नगरपालिका– ११ का लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारीका टीकाराम सुनारको शव भेटिएको थियो । 

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराजसहित १८ जनालाई सोतीका बासिन्दाले कुटपिट गरेका थिए । घटनामा ६ जना बेपत्ता भएका थिए । पीडक पक्षले आफैँ भागेर भेरीमा हामफालेको दाबी गरेका छन् भने उनीहरूलाई मारेर फालेको पीडित पक्षको आरोप छ । 

घटनामा संलग्न रहेको आरोपमा चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । जसमध्ये १८ जना पक्राउ परेका छन् भने दुईजना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

उपचार नपाएको घाइतेको गुनासो
रुकुम पश्चिम घटनामा घाइते भएका युवकहरूले उपचार नपाएको गुनासो गरेका छन् । घटनामा १२ जना घाइते भएका थिए । लाठी र ढुंगामुढाले प्रहार गर्दा चोट लागेको उनीहरूले बताएका छन् । हँसियाले प्रहार गर्दा हात काटिएको भए पनि उपचार नपाएको सुदीप खड्काले गुनासो गरे । टाउकोमा पनि समस्या भएको उनको भनाइ छ । अर्का घाइते सरोज भडेकाको पनि त्यस्तै गुनासो छ । पिठ्युँमा चोट लागेको र शरीर दुख्ने गरेको उनको भनाइ छ ।