सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २९ सोमबार
  • Monday, 13 July, 2020
रोबर्ट रिच
२०७७ जेठ २१ बुधबार ०७:५३:००
दृष्टिकोण

अब ट्रम्प हाम्रा राष्ट्रपति रहिरहेनन्

रोबर्ट रिच
२०७७ जेठ २१ बुधबार ०७:५३:००

बैठकदेखि ट्रम्पलाई घृणा जाग्छ, ब्रिफिङ सुन्ने धैर्य उनमा छैन, ह्वाइट हाउसमा रमिता मात्र चलिरहन्छ

बरु यो सब देख्दै नदेखेजस्तो गरेको भए माफी मिल्थ्यो । तर, उनको मुख झन् छुच्चो र उग्र भएको छ, त्यसैले अब डोनाल्ड जे ट्रम्प राष्ट्रपति रहिरहेनन् । अमेरिकाभर यति धेरै जटिल संकट मडारिरहँदा यसको सम्बोधन गर्नबाट उनी पछि हटेका छन्, अफिस छोडेका छन् । उनी शासन चलाइरहेका छैनन्, गल्फ खेलिरहेका छन्, टिभी हेरिरहेका छन् अनि ट्विट गरिरहेका छन् । मिनेपोलिसमा जर्ज फ्लोडको हत्यापश्चात भड्किएको दंगालाई सम्बोधन गर्न उनले के गरे ? प्रदर्शनकारीलाई ‘लुटेरा’ भन्दै गोली दाग्ने धम्की दिए । ‘जब लुटपाट चल्छ, गोली पनि चल्छ’ भन्दै ट्विट गरे । मियामी प्रहरी प्रमुखले १९६० मा दिएको यो अभिव्यक्तिले त्यतिवेला ठूलो जातीय दंगा भड्काएको थियो । ह्वाइट हाउसका ‘डरलाग्दा कुकुर र खतरनाक हतियार’ले प्रदर्शनकारीको स्वागत गर्ने भन्दै शनिबार पनि ट्रम्पले अर्को ट्विट ठोकेका थिए । वास्तवमा डोनाल्ड ट्रम्पले अमेरिकाको शासन सञ्चालन गरिरहेका छैनन् । उनले केही पनि मिलाउने कोसिस गरेका छैनन् । 

महामारी र मृत्युका विगत तीन महिना ट्रम्प सार्वजनिक स्वास्थ्य अधिकारीको सुझाबलाई दुत्कार्दै कोभिड–१९ डेमोक्र्याट्सको अफवाह भएको भन्दै कुर्लंदै थिए । गभर्नरहरूले बिरामी बचाउनका लागि अपुग भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्रीका लागि एकअर्कामा तँछाड–मछाड गर्नुपरेको थियो । कसरी र कहिले पुनः व्यवसाय खुलाउने भनेर पनि तिनले आफैँ सोच्नुपरेको थियो । ट्रम्पले संक्रमित पहिचान र कोरोना परीक्षणको कुनै जिम्मेवारी लिएका छैनन् । उनको कथित ‘नयाँ योजना’ले यसको सबै जिम्मेवारी राज्यलाई छोडिदिएको छ । साथै ‘ग्रेट डिप्रेसन’पछिको सबैभन्दा ठूलो आर्थिक मन्दी पनि ट्रम्पले नै निम्त्याएका छन् । ४१ मिलियनभन्दा अधिक अमेरिकी बेरोजगार भएका छन् । अब केही सातामा सबै खाले अल्पकालीन आर्थिक सहयोग पनि सकिँदै छन् ।

डोनाल्ड ट्रम्पले अमेरिकाको सरकार चलाइरहेका छैनन्, व्यवस्थापन मिलाएका छैनन्, संगठित पनि पारेका छैनन्, त्यसैले अब उनी हाम्रा राष्ट्रपति होइनन्

ट्रम्पले केचाहिँ गरे त ? हरबर्ट हुबरले सन् १९३० मा भनेका थिए, ‘बीभत्स हाम्रो पछि–पछि छ ।’ त्यस्तै, हज्जारौँले खान पाइरहेका थिएनन् । तर, ट्रम्प भन्दै थिए कि अर्थतन्त्रमा सुधार भइरहेको छ, केही समस्या हुनेछैन । डेमोक्र्याटिक बाहुल्यको सिनेटले तीन ट्रिलियन अमेरिकी डलरबराबरको सहायता कोष पास गर्‍यो । तर, ट्रम्पले लत्याइदिए । त्यसो त महिला हिंसा तथा जलवायु परिवर्तनजस्ता कैयौँ महत्वपूर्ण मुद्दामा यही कार्यकालमा झन्डै चार सय विधेयक सिनेटले पास गरिसकेको छ । ट्रम्पले यी सब हेरेकै छैनन्, मानौँ राष्ट्रपतिसमक्ष केही पनि पुगेकै छैन ।

गल्फ खेल्नु, टिभी हेर्नु र ट्विट गर्नु नराम्रो होइन, तर मुलुक यस्तो विषम संकटबाट गुज्रिँदा कोही यसरी बस्छ भने त्यो राष्ट्रपति हुँदैँ होइन । ट्रम्पको ट्विट शासनको विकल्प होइन । ट्विटले झन् खतम बनाउँदै छ । अश्वेत प्रदर्शनकारीविरुद्ध हिंसात्मक दमनको चेतावनी नदिएका बखत ट्रम्प सञ्चारकर्मीप्रति खनिन्छन्, महिला अश्वेत सिनेटरको तौलको कुरा उचाल्दै तल्लो स्तरको व्यहोरा देखाउँछन् र हिलारी क्लिन्टन र बाराक ओबामाको उक्साहटमा सबै भइरहेको आरोप लगाउँछन् । उनको ट्विटमा कुनै दम छैन, त्यसैले त ट्विटरले पटक–पटक तथ्य जाँच गर्दै दण्डित गरिरहन्छ । वास्तवमा डोनाल्ड ट्रम्पले अमेरिकाको सरकार चलाइरहेका छैनन् र केही गरेकै छैनन् । व्यवस्थापन मिलाएका छैनन्, संगठित पनि पारेका छैनन् । उनले केही निरीक्षण पनि गरेका छैनन्, न त प्रशासन नै सञ्चालन गरेका छन् । उनी सल्लाह–सुझाब पढ्दैनन् । बैठकदेखि ट्रम्पलाई घृणा जागेर आउँछ, ब्रिफिङ सुन्ने धैर्य उनमा छैन । ह्वाइट हाउसमा हाहा र हुहु मात्र चलिरहन्छ, रमिता मात्र भइरहन्छ।

उनका सल्लाहकारले साँचो बोल्दैनन् । तिनीहरू कुरौटे, भरौटे, खुस्केट र आफन्त मात्र छन् । जनवरी २०१७ मा ओभल अफिस छिरेदेखि नै ट्रम्पले प्रशासन चलाउन कुनै रुचि देखाएनन् । उनी आत्मरतिमै रमाइरहे । अन्ततः यो संकटले उनको आत्मकेन्द्रित शैलीको पराकाष्ठा नै देखाइदिएको छ । उनले आफ्नो कर्तव्य र कार्यालयको भूमिकाको पूर्ण बेवास्ता गरिरहेका छन् । ट्रम्पको यो नालायकीपन नेत्तृत्वविहीन अवस्था हुनुभन्दा गम्भीर छ, यसले राष्ट्रपतिले इतिहासदेखि नै निभाउँदै आएको भूमिकाको पनि खिल्ली उडाएको छ । अब उनी हाम्रा राष्ट्रपति होइनन्, जतिसक्दो चाँडो यो कुरा आत्मबोध हुनुमा नै सबैको कल्याण छ ।

(रिच अमेरिकाका पूर्वश्रमसचिव तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका प्राध्यापक हुन्)
द गार्जियनबाट