मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नवराज मैनाली काठमाडौं
२०७७ जेठ २१ बुधबार ०५:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमा हेर्न सशस्त्र प्रहरीको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ जेठ २१ बुधबार ०५:२८:००

सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी) परिचालन हुँदै आएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन छुट्टै गण बनाउन लागिएको हो । 

गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी यससम्बन्धी प्रतिवेदन बुझाएको छ । सो समितिले गत आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिङ गरेको थियो । गृहले सशस्त्रको नयाँ ओ एन्ड एम स्वीकृत गर्न मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । 

बिओपीको संख्या २२१ पुग्ने 
नयाँ संरचनाअनुसार अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । हाल एक सय २३ छ । गत २६ मंसिरकै मन्त्रिपरिषद्को बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन । नयाँ व्यवस्थाअनुसार सशस्त्र प्रहरीमा रहेका ३९ वटा भन्सार तथा औद्योगिक सुरक्षा गुल्म खारेज हुनेछ । त्यहाँका चार हजार ६ सय ४० जनशक्तिलाई सीमा सुरक्षामा खटाइन लागिएको छ । त्यसका लागि एसपीको कमान्ड रहने नयाँ गणहरू स्थापना हुनेछन् । ‘एउटा गणले करिब १५ वटा बिओपी हेर्नेछ,’ ओ एन्ड एम समितिमा रहेका गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसबाट सीमा सुरक्षा थप प्रभावकारी हुने हाम्रो मूल्यांकन छ ।’

यही आर्थिक वर्षभित्र एक सय १४ वटा नयाँ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । तर, यो वर्षभित्रै स्थापना हुने सम्भावना कम छ । भवन निर्माणलगायत कामलाई सरकारबाट थप बजेटसमेत आवश्यक हुन्छ । सरकारबाट निर्णय भएलगत्तै नयाँ बिओपीहरू सीमा क्षेत्रमा स्थापना हुने सशस्त्र प्रहरीका महानिरीक्षक शैलैन्द्र खनालले बताए । पछिल्लो सीमा विवादपछि गृह मन्त्रालयले भारतसँगको सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउने योजना अघि बढाएको छ । त्यसका लागि नौ हजार थप जनशक्ति आवश्यक हुने सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीलाई धेरैतिर जिम्मेवारी दिइएका कारण कुनै पनि क्षेत्रमा राम्रो हुन नसकेको भनेर आलोचना भइरहेको छ । सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । जसअनुसार ३५ जना जनशक्ति हुने एउटा बिओपीले करिब १५ किलोमिटर सीमा हेर्नुपर्ने हुन्छ । अर्काेतर्फ आधारभूत सुविधासमेत उनीहरूलाई दिइएको छैन । सीमा सुरक्षामा अब प्रविधिको धेरै प्रयोग गर्नुपर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी दुर्गा कुँवर बताउँछन् । अर्काेतर्फ सीमा क्षेत्रमा भारतको पाँच सय ३० वटा बिओपी छन् । सीमा सुरक्षा मात्र नभई सीमापार अपराध तथा चोरी तस्करी नियन्त्रण पनि प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । 

तत्काल दरबन्दी थप नहुने 
सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउन सशस्त्र प्रहरी बलले नयाँ पाँच हजार दरबन्दी थप गर्न प्रस्ताव गरे पनि तत्काल त्यो सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो असर गर्ने भएकाले दरबन्दी थप्न सक्ने अवस्थामा सरकार छैन ।