१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
२०७७ जेठ २० मंगलबार २१:५९:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम घटना जोडेर अमेरिकाबारे संसदीय समितिमा गृहमन्त्रीले के भनेका थिए ?, बाबुरामले उठाए प्रश्न

Read Time : > 1 मिनेट
२०७७ जेठ २० मंगलबार २१:५९:००

रुकुम पश्चिमको घटनालाई लिएर संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापाले अमेरिकाको उदाहरण दिएका छन् । सोमबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा जातीय विभेदका कारण घटना भएको उल्लेख गर्दै उनले भने, ‘यहाँ (नेपाल) मात्रै होइन, अमेरिकामा पनि विभेद छ ।’

गृहमन्त्री थापाले रुकुम पश्चिम घटनाको ढाकछोप हुन नदिने र दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । घटनाको छानबिन गर्न उच्चस्तरीय समितिसँगै विभिन्न सूत्रहरू प्रयोग भइरहेको उनको भनाइ थियो । समिति सदस्यहरूले प्रहरीको भूमिकालाई लिएर प्रश्न गरिरहँदा गृहमन्त्री थापाले प्रहरी घटनालाई टुलुटुलु हेरेर नबसेको जवाफ दिए । उनले भने, ‘१८ जनामध्ये १२ जनालाई त प्रहरीले नै बचाएको हो । तर, प्रहरीबाट केही ढिलो भएको हो । ढिलो सूचना गयो होला । प्रहरीले टुलुटुलु तमासा हेरेर बसेको होइन ।’ प्रहरीको कमजोरी देखिए विभागीय कारबाही हुने उनको भनाइ थियो । 

समितिमा १९ मिनेट बोलेका गृहमन्त्री थापाले करिब आधा समय अमेरिकाकै व्याख्यामा खर्चिए । संयोगले अमेरिकामा पनि नेपालको जस्तै घटना भएको उल्लेख गर्दै त्यहाँ आन्दोलन भइरहेको प्रसंग निकाले । ‘संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य र सबैभन्दा बढी लोकतान्त्रिक देश अमेरिकामा पनि ठीक यसै समयमा झन्डैझन्डै यस्तै घटना घटेको छ । 

अश्वेत नागरिकमाथि राज्यले अनावश्यक दमन गरेर हत्या गरेको छ । तर, त्यसले अमेरिकामा एउटा विद्रोह जन्माएको छ । यो विषयमा सबै माननीयहरू स्पष्ट हुनुहुन्छ,’ थापाले थपे, ‘नेपालजस्तो सानो, गरिब र विविधताले भरिएको मुलुकमा पनि यही प्रकृतिको घटना छ । जातीय उत्पीडनको, जातीय अन्तरविरोधको घटना यहाँ पनि घटेको छ । यो घटनाले सिंगो राष्ट्रलाई उद्वेलित बनाएको छ ।’

अमेरिका र नेपालमा घटेको घटनामा केही भिन्नता भए पनि विभेदलाई अमेरिकाले पनि हटाउन नसकेको जिकिर गरे । ‘अमेरिकाले पनि जातीय अन्तरविरोधलाई हल गर्ने कानुन, संविधान बनाएको छ । रेसियल डिस्क्रिमिनेसनलाई अपराधको रूपमा परिभाषित गरिएको छ । तर, त्यसको कार्यान्वयन त्यहाँ भएको देखिँदैन,’ उनले भने । अब्राहम लिंकन र मार्टिन लुथर किङले भनेअनुसार अमेरिकामा पनि लोकतन्त्रको कार्यान्वयन तथा विभेदको अन्त्य नभएको उनको भनाइ थियो । 

अमेरिकामा समेत समस्या हल नभएकाले नेपालमा पनि समय लाग्ने उनको तर्क थियो । ‘जहिलेदेखि विभेद सुरुवात भयो, त्यहीवेलादेखि संघर्ष र आन्दोलनको पनि सुरुवात भएको छ । 

०६२/६३ सम्म आउँदा धार्मिक, जातीय, लिंगीय अन्तरविरोधहरूलाई राजनीतिक र कानुनी रूपबाट एक ढंगले हल गरेका छौँ । तर, घटनाहरू निरन्तर घटिरहेका छन्,’ गृहमन्त्री थापाले भने, ‘यसलाई वैचारिक रूपबाट, सांस्कृतिक रूपबाट समाधान गर्न सकिरहेका छैनौँ । अमेरिकामा सबैभन्दा बढी शिक्षित, सांस्कृतिक हिसाबले पनि समृद्ध मानिने मुलुकमा पनि उनीहरूले यो समस्यालाई हल गर्न सकेका छैनन् । यो समस्या दीर्घकालीन हो ।’ यसका लागि सचेतना अभियान चलाउनु जरुरी रहेको उनको भनाइ थियो । 

गृहमन्त्रीको भनाइलाई लिएर डा. बाबुराम भट्टराईले प्रश्न उठाएका छन् । उनले ट्विट गरेका छन्,  ‘उहाँ हामीसँगै वर्गीय/जातीय/लैंगिक/जातपातजन्य उत्पीडनका विरुद्ध जनयुद्ध लडेको क. बादल हो कि अर्कै प्राणी हो ? हामीले पुँजीवादका विकृतिभन्दा माथि उठेको समाजवादी संस्कृति निर्माण गर्ने भनेको हाेइन ?रुकुममा दलितको नरसंहारलाई यसरी ढाकछोप गर्न मिल्छ ? अब त झन् सर्वदलीय संसदीय छानबिन हुनैपर्छ!’