१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुरानो रिफ्युलरबाट हवाइ इन्धन भरिदै ।
२०७७ जेठ २० मंगलबार २१:५०:००
Read Time : > 3 मिनेट
अर्थ

हवाई इन्धन भर्न ४१ वर्ष पुरानो रिफ्युलर

Read Time : > 3 मिनेट
२०७७ जेठ २० मंगलबार २१:५०:००

नेपाल आयल निगमले जहाजमा इन्धन भर्न प्रयोग गर्ने अधिकांश रिफ्युलर (ट्यांकर) ४१ वर्षसम्म पुराना छन् । मुलुकका प्रमुख नाै विमानस्थलमा २० वर्षभन्दा पुराना १४ वटा रिफ्युलर सञ्चालनमा छन् । जसकारण हवाई इन्धन भर्न बारम्बार समस्या झेल्नुपरेको छ ।

सरकारले २०  वर्षभन्दा पुरानो सवारीसाधन प्रयोगमा रोक लगाए पनि सरकार स्वामित्वको आयल निगमले जीर्ण अवस्थाका रिफ्युलर सञ्चालन गरिरहेको छ । पाँच वर्षअघिसम्म निगमले पुँजी अभावमा नयाँ रिफ्युलर राख्न सकेको थिएन भने अहिले टेन्डरका लागि गरिएको लागत अनुमानभन्दा बढी रकममा प्रस्तावहरू आउँदा नयाँ खरिद गर्न सकेको छैन ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पछिल्लो समय भने देशभरका डिपोबाट २० वर्ष पुराना रिफ्युलर परिवर्तनका लागि दबाब आउन थालेको बताए । ‘धेरै डिपोबाट जीर्ण अवस्थामा पुगेका रिफ्युलरले इन्धन भर्न गाह्रो हुन थालेको गुनासो आएका छन्,’ उनले भने । निगमका अनुसार धनगढी विमानस्थलमा सबैभन्दा पुरानो ४१ वर्षे रिफ्युरल प्रयोगमा छ । सो रिफ्युलर सन् १९७९ मा उत्पादन भएको हो ।

त्यस्तै विराटनगर, मन्थली, सिनामंगल, भैरहवा र नेपालगन्जमा एक–एकवटा रिफ्युलर ३३ वर्ष पुराना छन् । त्यस्तै नेपालगन्ज र भैरहवामा नै २४ वर्ष पुराना रिफ्युलर पनि छन् । मन्थली, भद्रपुर र पोखरा जिमानस्थलमा २५ वर्ष पुराना रिफ्युलर छन् । भैरहवामा ३६ र सुर्खेतमा ३९ वर्ष पुराना रिफ्युलर पनि प्रयोगमा छन् । यी पुराना रिफ्युलरसँग २० वर्ष नपुगेका थप एक–एकवटा रिफ्युलर पनि डिपोमा दिइएको छ । सिनामंगलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको हवाई डिपोबाहेक अन्यत्रका नयाँ भनिएका रिफ्युलर पनि ८–१० वर्ष पुराना भइसकेका छन् ।

आयल निगमका निर्देशक मनोज ठाकुरले पुरानो रिफ्युलरलाई परिवर्तन गर्न दबाब आएपछि टेन्डर गर्ने प्रक्रियामा लागेको बताए । ‘पुरानो रिफ्युलरले काम गर्न साह्रै गाह्रो भयो भनेर डिपोहरूबाट गुनासो आउन थालेको छ । त्यसैले नयाँ खरिदका लागि प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने ।

निगमले सिनमंगलस्थिल अन्तर्राष्ट्रिय विमानस्थलस्थित डिपोका लागि यसअघि चारवटा नयाँ रिफ्युलर खरिदको टेन्डर गरेको थियो । २७ हजार लिटर क्षमताको चारमध्ये दुई रिफ्युलर आइसकेको छ । थप दुईवटा आउनेक्रममा रहेको ठाकुरले बताए । ‘लकडाउन खुलेपछि हवाई चाप बढ्ने अनुमान छ । त्यतिन्जेलसम्म चारवटै नयाँ रिफ्युलर ल्याएर सञ्चालनका लागि तयारी अवस्थामा राख्ने योनजामा छौँ,’ उनले भने ।

पुरानो १४ वटै रिफ्युलर परिवर्तन गरी नयाँ खरिदका लागि आवश्यक गृहकार्य भइरहेको उनले बताए । ‘पुराना १४ को ठाउँमा नयाँ ल्याउनैपर्नेछ । थप १० वटा पनि गरेर कुल २४ वटा रिफ्युलर किन्नुपर्ने आवश्यकता देखिएको छ,’ ठाकुरले भने, ‘यति रिफ्युलरले सञ्चालनमा आउने तयारी भइरहेको भैरहवा र पोखरा विमानस्थलमा पनि इन्धन भर्न पुग्छ ।’

निगमले पछिल्लोपटक पाँच वर्षअघि १६ हजार लिटर क्षमताको चारवटा र नाै वर्षअघि १२ हजार लिटर क्षमताको ६ वटा रिफ्युलर खरिद गरेको थियो । केही समयअघि अन्तर्राष्ट्रिय विमानस्थलका लागि भएको टेन्डरबाट भने खरिद प्रक्रिया टुंगिएको छैन ।

नयाँ किन्न कति सजिलो ?
आयल निगम कर्मचारीलाई नयाँ रिफ्युलर खरिद गर्न निक्कै गाह्रो पर्ने गरेको छ । यसअघि दुईपटक खरिदका लागि प्रयास गर्दा नसकेपछि निगम कर्मचारीले जाँगर चलाएका थिएनन् । १६ चैत ०७३ मा १४ वटा रिफ्युलर खरिदका लागि टेन्डर गरेको थियो । त्यतिखेर २७ हजार लिटरको चारवटा, १६ हजार लिटरको ६ वटा र ११ हजार लिटरको चारवटा रिफ्युलरको टेन्डर भएको थियो । प्रतिरिफ्युलर एक करोड ९८ लाख रुपैयाँ अधिकतम मूल्यांकन भएको थियो । तर, सबैभन्दा कम मूल्यमा टेन्डर गर्नेले पनि लागत मूल्यांकनको ३० प्रतिशतभन्दा बढी रकम कबोल गरेपछि रद्द गरिएको थियो ।

फेरि ९ माघ ०७४ मा चारवटा रिफ्यलरका लागि टेन्डर हुँदा लागत मूल्यांकनभन्दा ३० प्रतिशत बढी मूल्य कबोल भएको थियो र पुनः टेन्डर रद्द गरिएको थियो । दुईपटकको प्रयास खेर भए पनि निगम अधिकारीहरूले नयाँ टेन्डर गर्न छाडेका थिए । डेढ वर्षअघि निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रकुमार पौडेल आएपछि पुनः रिफ्युलरको टेन्डर प्रक्रिया अघि बढाइएको हो ।
निगम कर्मचारीहरूका अनुसार रिफ्युलर निर्माण गर्ने कम्पनी नै विश्वमा ३–४ वटा मात्र भएकाले कम संख्यामा प्रस्ताव पर्ने र बढी मूल्य कबोल हुने समस्या हुने गरेको छ ।

पुरानो रिफ्युलरका कारण धनगढीमा डेढ घन्टा ढिलो उडान
पुरानो रिफ्युलरले हवाई इन्धन भर्न समस्या हुँदा चार वर्षअघि धनगढी विमानस्थलमा उडान नै डेढ घन्टा ढिला भएको थियो । अहिले पनि धनगढी विमानस्थलमा सोही ४१ वर्ष पुरानो रिफ्यलुरले इन्धन भर्ने गरिन्छ ।

त्यतिखेर इन्धन भर्दा रिफ्युलरको नोजल जहाजको इन्धन भर्ने ट्यांकीको प्रवेशद्वारमा अड्किएको थियो । यो घटनालाई विमान कम्पनी र निगमले गुपचुप राखेका छन् । निगमका एक कर्मचारीका अनुसार विमानमा इन्धन भरेपछि नोजल झिक्न खोज्दा अड्किएको थियो । ‘जहाजको इन्धन भर्ने ट्यांकीको मुखमा नोजल अड्किनु निकै खतरा मानिन्छ । अलिकति मात्र जबर्जस्ती गर्न खोज्यो भने जहाजमै असर गर्छ,’ ती कर्मचारीले भने, ‘आधा घन्टासम्म धनगढीकै कर्मचारीले नोजल झिक्ने प्रयास गरेका थिए । त्यतिन्जेलसम्म उनीहरूको प्रयास निरर्थक भएपछि केन्द्रीय कार्यालयमा खबर भएको थियो ।’

केन्द्रीय कार्यालयमा निगमका कर्मचारीले खबर गरेपछि सबैजना अत्तालिएका थिए । लगत्तै विमान कम्पनीले पनि फोन गरेर उडान ढिला भएको र यात्रुले गाली गर्न थालेको जानकारी दिएकाे थियाे । त्यसपछि केन्द्रीय कार्यालयले नेपालगन्ज डिपोसँग सहकार्य गरी करिब डेढ घन्टापछि प्राविधिक टिम पठाएर जहाजमा अड्किएको रिफ्युलरबाट नोजल झिकिएको थियो । त्यसपछि उक्त रिफ्युलरमा नयाँ नोजल राखेर काम गरिएको छ ।

 

Please wait while image is uploading...