मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २० मंगलबार १९:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सोती घटनाबारे पूर्वप्रधानमन्त्री खनालले भने– छानबिन प्रभाव र दबाबबाट मुक्त, दोषीलाई कडा कारबाही

Read Time : > 1 मिनेट
२०७७ जेठ २० मंगलबार १९:५७:००

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सोती घटनाको निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन् ।

खनालले मंगलबार साँझ विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । पीडितहरूलाई न्यायकाे अनुभूति होस् ।’

सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार, जनप्रतिनिधि र सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेको विश्वास उनले दिलाएका छन् । 

चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए ।  

आक्रमणमा परी नवराजसहित ६ जना बेपत्ता भएका थिए । उनीहरू ६ जनाकै शव फेला परिसकेको छ । 
 

खनालको प्रेस विज्ञप्ति जस्ताको तस्तै
यही जेठ १० गते शनिबार चौरजहारी नगरपालिका– ८ सोतीमा भएको नरसंहारकारी घटनाबाट म स्तब्ध भएको छु । जाजरकोटको भेरी नगरपालिकाका युवाहरू नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विक तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नदीको विभिन्न स्थानमा फेला परेको छ भने गोविन्द शाहीको खोजी कार्य अझै जारी छ । आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यहरूलाई समेत चुनौती दिने गरी भएको उक्त नृशंस घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म मानवताविरोधी उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दछु । 

उक्त घटनाको निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिन म नेपाल सरकारसँग जोडदार माग गर्दछु ।  सम्पूर्ण दलित तथा पीडित समुदायहरू, तपाईंहरूलाई हामी विश्वास दिलाउँछौँ सरकारसहित सिंगो राज्य तपाईंहरूको साथमा छ । निर्वाचित जनप्रतिनिधिहरू र सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तपाईंहरूको साथमा छ । विभिन्न राजनीतिक एवं सामाजिक संघसंस्थाहरूसमेत तपाईंहरूको साथमा छन् । 

नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिको टिम घटनास्थल पुगेर छानबिनको काम पनि थालिरहेको छ । 
यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् र पीडितहरूलाई न्यायको अनुभूति होस् भन्ने कुरामा म फेरि पनि जोड दिन चाहन्छु ।