मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ जेठ २० मंगलबार १८:२३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

भिटिएम नहुँदा रुकुम पश्चिममा स्वाब संकलन रोकियो 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ जेठ २० मंगलबार १८:२३:००

पिसिआर टेस्टका लागि स्वाब संकलन गर्ने भाँडो अर्थात् भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) नहुँदा रुकुम पश्चिममा थ्रोट स्वाब संकलन रोकिएको छ  । विदेश र विभिन्न जिल्लाबाट आएका व्यक्तिहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राखे पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन । 

रुकुम पश्चिमका ६ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा एक हजार तीन सय दुईजना छन् । तीमध्ये अहिलेसम्म क्वारेन्टाइनमा रहेका दुई सय ७७ जनाको मात्रै स्वाब संकलन गरी परीक्षणमा पठाइएको छ । चौरजहारी नगरपालिकाका एक सय ८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबिसकोट नगरपालिकाका ६२, मुसिकोट नगरपालिकाका ३२ र सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

भिटिएम अभावमा क्वारेन्टाइनका एक हजार २५ जनाको स्वाब संकलन नभएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । प्रदेश सरकार र स्वास्थ्य सेवा कार्यालयले दिएका भिटिएम सकिएसँगै स्वाब संकलन रोकिएको उनले बताए ।

कार्यालयले खरिद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहहरूले भिटिएम खरिद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको फोकल पर्सन रावलले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले भने ठूलो मात्रामा भिटिएम खरिद प्रक्रिया चलिरहेको बताए । स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरिद गर्न लागेको उनको भनाइ छ । साथै प्रदेश सरकार तथा संघीय सरकारसँग पनि माग गरिएको उनले बताए । 

मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागेको जनाए । अहिले तत्काललाई दुई सय थान खरिद गर्न लागेको, तर सजिलै पाउने अवस्था नभएकाले ढिलाइ भइरहेको बताए । मुसिकोट नगरमा तीन सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन् । जसमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको छ ।