भारतीय सेनापति र पूर्वविदेशसचिवले दिएको अभिव्यक्ति नसच्याए भारत सरकारले नै सच्याउनुपर्छ : नारायणकाजी श्रेष्ठ
मोदीलाई पशुपतिको आशीर्वाद लिएर सच्चिन नारायणकाजीको आग्रह
राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधान गर्न छिटोभन्दा छिटो कूटनीतिक संवादमा बस्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले छिटोभन्दा छिटो कूटनीतिक संवादबाटै यो समस्या समाधान गर्नुपर्ने भन्दै कसैलाई पनि आवेगमा नआउन आग्रह गरेका हुन् ।
‘कालापानी, लिम्पियाधुरा कूटनीतिक संवादमा केन्द्रित भएर यो समस्याको समाधान गर्ने दिशातिर अगाडि बढौँ भनेर अपिल गर्न चाहन्छु,’ सांसद श्रेष्ठले भने, ‘छिमेकी मुलुक भारतलाई पनि छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न तत्काल संवादमा आउन अपिल गर्न चाहन्छु । ता कि हामीले सकारात्मक ढंगले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्न सकौँ । र, दुई देशको छिमेकी मैत्रीपूर्ण सम्बन्धलाई अझ सृदृढ गर्न सकौँ ।’
उनले सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्न चाहिरहेको वेलामा भारतीय सेनापति र भारतीय विदेश मन्त्रालयका पूर्वसचिवजस्ता कैयौँ व्यक्तित्वले नेपालमाथि आरोप लगाउनु खेदजनक भएको बताए ।
‘दक्षिण एसियाका सबै मुलुक उपनिवेश भएको अवस्थामा हामी मात्र स्वाधीन र स्वतन्त्र देशका रूपमा रह्यौँ । यस्तो देशको जनताले आफ्नो भूमि प्राप्त गर्न आवाज उठाउनु स्वाभाविक हुन्छ । त्यसको निम्ति अरू कसैको उक्साहटको आवश्यकता पर्दैन । कसैको आड चाहिँदैन । हामी त्यसका लागि सक्षम छौँ भनेर इतिहासले प्रमाणित गरिसकेको छ,’ उनले भने ।
उनले भारतीय पूर्वविदेशसचिव र सेनापतिले दिएको अभिव्यक्ति नसच्याए भारत सरकारले नै सच्याउनुपर्ने बताए ।
‘भारतीय मित्रहरूलाई त्यसप्रकारको गल्ती नगर्न र त्यसलाई सच्याउन अनुरोध गर्न चाहन्छु । तथ्यहीन आरोपले दुई देशको सम्बन्धलाई सुधार गर्नमा समस्या उत्पन्न गर्ने, अहिले देखापरेको समस्यालाई समाधान गर्न समस्या उत्पन्न गर्नेबाहेक केही पनि काम गर्दैन,’ उनले भने, ‘यदि सम्बन्धित व्यक्तिहरूले त्यो अभिव्यक्ति नसच्याए पनि भारतीय सरकारले यसलाई व्यवहारमा सच्याउनुपर्छ ।’
दुवै देशले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र अहस्तक्षेपको नीति पालना गर्ने, दुवै देशको आपसी हित हुने र साझा प्रगतिको दिशातिर अगाडि बढ्नेमा मिलेर जानुपर्ने र दुवै देशबीचमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको प्रतिकूलतामा नजाने गरी दुवै देशको संवेदनशीलता, जायज सरोकार बुझेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
त्यसो भएमा मात्र दुवै देशको सम्बन्धलाई सुदृढ गर्न सकिने सांसद श्रेष्ठको भनाइ थियो ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरे ।
सांसद श्रेष्ठले मोदीलाई आध्यात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथको आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गरे । उनले मोदीलाई अतिक्रमणकारी प्रवृत्ति सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल–भारत सम्बन्ध सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि आग्रह गरे ।