सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
२०७७ जेठ १९ सोमबार २०:५०:००
मुख्य समाचार

नयाँ पत्रिका अर्काइभ : 'दरबार हत्याकाण्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र'

२०७७ जेठ १९ सोमबार २०:५०:००

Digital Archive : ८ साउन २०६५ मा नयाँ पत्रिकामा प्रकाशित सामग्री  : रहस्य र षड्यन्त्रले भरिएको नारायणहिटी हत्याकाण्ड भएको आज (१९ जेठ) मा  १९ वर्ष भएको छ । दरबार हत्याकाण्डका अझै पनि कैयौँ पाटा खुलेका छैनन् । पाठकहरूका चाहनाअनुसार हामीले यो सामग्री नयाँ पत्रिकाको डिजिटल भर्सनमा पुनः प्रकाशित गरेका छौँ । 

 

लालबहादुर लम्तेरी मगर, तत्कालीन सैनिक हवल्दार

१९ जेठ ०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकाण्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर नख्खु कारागारमा जेल सजाय गुजारिरहेका लम्तेरी मगरले नख्खु जेलमै नयाँ पत्रिकासँग लामो कुराकानी गरेका थिए । उनको बयानका आधारमा नयाँ पत्रिका दैनिकले कभर स्टोरी छापेको थियो । अहिले उनी जेलमुक्त भएर पाल्पातिर खेतीकिसानी गरिरहेका छन्  ।

उनको बयान यस्तो थियो :

हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नास गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् ।

उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको वेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो,’ लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए, ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’ लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुऱ्याएका हुन् । दीपेन्द्र त्यतिवेलै मरिसकेका थिए,’ उनले भने ।

राजा वीरेन्द्र र नीराजनलाई आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारलाई उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारलाई लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा राजा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’ गोलीको वर्षापछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपऱ्यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’

खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौँ,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौँ ।’

आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटेलमालिकलाई
मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’ आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैँ अघि सर्थेँ, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’

उनले दीपेन्द्रलाई मुड भएको वेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपऱ्यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थेँ । गीत सुनाएर खुसी पार्थेँ,’ उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने ।

लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको वेला गाडीको ठक्करले मऱ्यो । पछि बाहिर तालिमका वेला एम्बुसमा परेर मारियो भनेर
परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । 

०००

दरबार हत्याकाण्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परे । उनी २ भदौ २०५८ देखि जेलमा थिए । छन् । जेलको रेकर्डअनुसार
लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।

लम्तेरीको बयान म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । ०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक ।

दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौँ ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पऱ्यो भने पैसा पाइहाल्थेँ । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पऱ्यो, मैले अनाहकमा दुःख पाएँ ।

महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड फ्राइडे’ मनाउने चलन थियो । १९ जेठ ०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिवेला मलाई याद छ– नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो । 

अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशविना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि ।

दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैँचामा लुकेँ । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन ।

वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने वेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । 

सैनिक अस्पताल पुऱ्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकाले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौँ । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फर्क्याैँ । त्यसपछि के गरियो थाहा भएन ।

मैले आफैँ देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गऱ्याैँ र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गऱ्योैँ । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौँ ।

हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौँ- दरबार हत्याकाण्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।

बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मलनिवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जब कि मेरो दोष केही पनि थिएन ।

आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।

दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खत्तम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।

२ साउन ०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।

मलाई ५ भदौ ०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडेँ । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन ०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गऱ्यो । र, म जेल परेँ । 

म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो ।

बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।

यो पनि लेखिदिनुस्- दरबार हत्याकाण्डमा सैनिकहरू पनि मारिएका छन् ।

मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकाण्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकाण्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।