मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १९ सोमबार १८:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नयाँ पत्रिका अर्काइभ : भत्काइयो नारायणहिटी हत्याकाण्डको मुख्य भवन

Read Time : > 2 मिनेट
२०७७ जेठ १९ सोमबार १८:१६:००

Digital Archive : १४ जेठ २०६४ मा नयाँ पत्रिकामा प्रकाशित सामग्री  : रहस्य र षड्यन्त्रले भरिएको नारायणहिटी हत्याकाण्ड भएको आज (१९ जेठ) मा  १९ वर्ष भएको छ । दरबार हत्याकाण्डका अझै पनि कैयौँ पाटा खुलेका छैनन् । पाठकहरूका चाहनाअनुसार हामीले यो सामग्री नयाँ पत्रिकाको डिजिटल भर्सनमा पुनः प्रकाशित गरेका छौँ । 

राजा ज्ञानेन्द्रले नारायणहिटी हत्याकाण्ड घटेको त्रिभुवन सदन र त्यहाँस्थित दीपेन्द्र शाहको आवास रातारात भत्काइदिएका छन् । संग्रहालयमा राखिनुपर्ने दीपेन्द्रका लत्ताकपडालगायत स्मृतिचिह्नसमेत जलाइदिएका छन् ।

०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको भीषण रक्तपातको मुख्य भवन भत्काइएको छ । राजा वीरेन्द्र र उनको परिवारका सम्पूर्ण सदस्यको नृशंस हत्या भएको घटनाको चार वर्षपछि राजा ज्ञानेन्द्रले दीपेन्द्रको निजी चिनोसमेत निमिट्यान्न पारेका छन् । त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा आयोजित रात्रिभोजमा दरबार हत्याकाण्ड भएको थियो ।

दरबार स्रोतहरुका अनुसार राजा ज्ञानेन्द्रको निर्देशनअनुसार भवन भत्काइएको हो । त्रिभुवन सदनलाई घेरिएको पर्खालमात्र बाँकी राखिएको स्रोतहरुले जनाएका छन् । त्रिभुवन सदनसहित त्यहाँ रहेका दीपेन्द्रका महत्वपूर्ण कपडा तथा संग्रहणीय सरसामानसमेत जलाइएको छ ।

तर, यसबारे दरबारले सरकारलाई कुनै जानकारी दिएको छैन । ‘यस सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,’ भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णप्रसाद कडरियाले नयाँ पत्रिकासित भने, ‘दरबारका बारेमा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी भए बेग्लै कुरा, हाम्रो मन्त्रालयमा जानकारी आएको छैन ।’

कडरियाका अनुसार दसैँमा नारायणहिटीको पर्खाल रंगरोगनका लागि दरबारले मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।

दरबार हत्याकाण्डसम्म युवराज दीपेन्द्रले निजी घरका रुपमा त्रिभुवन सदन प्रयोग गर्दै आएका थिए । त्यसको तल्लो तलामा भएको जमघटमा राजा वीरेन्द्र र उनका परिवारको हत्या भएको थियो । दरबार हत्याकाण्डपछि सदन बन्दजस्तै थियो । राजा ज्ञानेन्द्रद्वारा दरबार हत्याकाण्डका आरोपी युवराज दीपेन्द्रको हत्यापछि त्रिभुवन सदनको ढोकामा ताल्चा मारिएको थियो । दरबार कर्मचारीले एक महिनाअघि दीपेन्द्रका सबै सरसामान त्रिभुवन सदनको चौरमा ल्याएका जलाइएको बताए । 

राजाको निर्देशनमा पिपा गोश्वाराका तामाङ थरका सैनिक र दरबारका निजी कर्मचारीहरु लगाएर दीपेन्द्रको पलङ र बाँकी कपडासमेत जलाइएको छ । पिपा गोश्वाराको मेजर रामबहादुर तामाङले पनि त्रिभुवन सदन आफ्ना कर्मचारीको संलग्नतामा भत्काइएको नयाँ पत्रिकालाई बताए । राजाको कार्यालय रहेको दरबारको मुख्य भवननजिकै मंगल सदन चौरबाट उत्तर–पश्चिम कुनामा त्रिभुवन सदन थियो । स्रोतका अनुसार रात्रिकालीन समयमा कर्मचारी खटाएर भवन भत्काइएको थियो । 

राजा त्रिभुवनका पालामा सदन बनाइएको थियो । उनको मृत्युपछि त्यहाँ उनका पत्नीहरु कान्ति र ईश्वरी बस्दै आएका थिए । दरबारका पूर्वकर्मचारी डा. सानुभाइ डंगोलका अनुसार रानीहरुको मृत्युपछि तत्कालीन युवराज महेन्द्रलाई त्रिभुवन सदनमा बस्ने प्रबन्ध मिलाइएको थियो । तर, उनले भवन प्रयोग गरेनन् । 

तर, नारायणहिटी दरबारभित्रै महेन्द्र मञ्जिल नामको बेग्लै घर बनाएर महेन्द्र बस्न थाले । पछि राजा वीरेन्द्र केही समय त्यहाँ बसेका थिए । दरबारभित्रै श्रीसदन नामक घर बनाएर वीरेन्द्र सरेपछि त्रिभुवन सदन खाली थियो ।

०४८ मा सुप्रिया शाहसित विवाहको कुरा छिनेपछि त्रिभुवन सदनमा युवराज दीपेन्द्र बस्न थालेका थिए । पछि सुप्रिया शाहसित विवाह नभए पनि उनी सदनको माथिल्लो तल्लामा बस्ने गरेका थिए । त्यतिवेला उक्त घर मर्मत गर्न त्रिपुरेश्वरका राजेशमान सिंहलाई ठेक्का दिइएको थियो ।

संविधानसभा निर्वाचनको पहिलो बैठकबाट बिदा हुने निश्चितप्रायः राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड खोज्ने आधारस्तम्भ रातारात भत्काउनुको कारण भने खुलेको छैन । दरबार हत्याकाण्डका बारेमा थप अनुसन्धान हुने त्रासका कारण भवन र दीपेन्द्रका सबै सरसामान ध्वस्त पारिएको दरबारका कर्मचारीको अनुमान छ ।