Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना रोकथामका लागि सेना परिचालन गरिएकाेमा कांग्रेस सांसदको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार १३:५६:००

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले विपत् व्यवस्थापनको काम गृह मन्त्रालयले निर्धारण गर्ने भए पनि सरकारले सेना परिचालन गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सोमबार शून्य समयमा बोल्दै सांसद सिंहले नेपाली सेनामार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको आरोप लगाए । 

कोरोनाले भयावह रूप लिएको विश्वका अन्य मुलुकहरूले कोरोना नियन्त्रणका लागि सेना परिचालन नगरेको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा उचित हुन्छ कि हुँदैन भन्ने कुराको छलफल हुनुपर्ने बताए । 

त्यसैगरी शून्य समयमा अर्का सांसद अतहर कमाल मुसलमानले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताए । नक्सा मात्रै जारी गरेर नहुने उल्लेख गर्दै उनले दार्चुला–तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको उल्लेख गरे । 

सांसद अमृता थापाले सरकारले विदेशबाट नेपाली नागरिक ल्याउन गरेको निर्णयको स्वागत गरिन् । अहिले नेपालमा कोरोना महामारी नियन्त्रण र संक्रमण न्यूनीकरणका लागि पर्याप्त तयारी नभएको उल्लेख गर्दै नेपाली जनतालाई भोक र रोग दुवैबाट बचाउने परिमार्जित योजना ल्याउनुपर्ने उनको माग थियो ।

सांसद उमाकान्त चौधरीले तराई क्षेत्रमा निर्माण भएका क्वारेन्टाइनहरू विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत रहेको उल्लेख गर्दै संक्रमणको दर बढेको बताए । क्वारेन्टाइन व्यवस्थापन तथा राहत, उद्धार र परीक्षणमा सरकारलाई ध्यान दिन उनले आग्रह गरे । 

सांसद गौरीशंकर चौधरीले लकडाउनको कारण आत्महत्याको घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । अझै विदेशबाट आउनेहरूको व्यवस्थापन गर्न सक्ने अवस्था नभएर आपराधिक घटनाहरू बढ्न सक्ने उनको भनाइ थियो ।