१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १९ सोमबार १०:५८:००
Read Time : > 7 मिनेट
विश्व

अमेरिका किन अशान्त छ ?

Read Time : > 7 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १९ सोमबार १०:५८:००

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको मिनियापोलिस सहरमा प्रहरीले एक अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा अत्यधिक बल प्रयोग गर्दा ज्यान गएपछि ठूलो विरोध सुरु भएको छ

प्रहरी अधिकारीको हातबाट एक निःशस्त्र अश्वेत व्यक्ति जर्ज फ्लोयडको ज्यान गएको विषयमा आइतबारसम्म अमेरिकाका कम्तीमा ३० सहरमा प्रदर्शन भयो । प्रदर्शनले उग्र रूप लिएका २५ वटा सहरमा कफ्र्यु लगाइएको छ । प्रदर्शनकारीहरू प्रहरी ज्यादती, अश्वेत नागरिकलाई अपराधीका रूपमा हेरिने नश्लीय विचारको विरोध गरिरहेका छन् । फ्लोयडको हत्यामा संलग्नहरूमाथि कारबाहीको माग भइरहेको छ ।

सामान खरिदका लागि जाली नोट प्रयोग गरेको आशंकामा जर्ज फ्लोयडलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेका थियो । हतकडी लगाएर सडकमा लडाएपछि पनि एक प्रहरी अधिकारीले फ्लोयडको घाँटीमा घुँडाले दबाएका थिए । 

फ्लोयडको घाँटीमा घुँडाले थिच्ने श्वेत प्रहरी अधिकारीको नाम डेरेक चोभिन भएको खुलेको छ । बीच बजारमा भएकाले घटना कैयौँले प्रत्यक्ष देखेका थिए । र, केही व्यक्तिले प्रहरी कारबाहीको भिडियो पनि खिचेका थिए ।

भिडियोमा प्रहरी अधिकारी डेरेकले आठ मिनेट ४६ सेकेन्डसम्म फ्लोयडको घाँटीमा घुँडा राखेको देखिन्छ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा फ्लोयड आफूलाई गाह्राे भएको अवगत गराउँदै भन्छन्, ‘प्लिज, प्लिज, प्लिज, आई कान्ट ब्रेथ (मलाई धेरै गाह्राे भयो, म सास फेर्न सकिरहेको छैन)’ ।

यो भिडियो बाहिरिएपछि अहिले अमेरिकाभर आक्रोश उत्पन्न भएको छ । यससँगै विशेषतः अमेरिकी समाजमा व्याप्त नश्लभेद र अश्वेत समुदायका मानिसमाथि प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको विषयमा फेरि बहस छेडिएको छ ।

‘अल्पसंख्यकमाथि प्रहरीको असमान व्यवहार’

टेक्सासमा जन्मिएका फ्लोयड केही वर्षयता मिनियापोलिसमा बस्दै आएका थिए । सहरमा बाउन्सरका रूपमा कार्यरत उनी पछिल्लो समय कोरोना भाइरस महामारीका कारण कामकाज ठप्प हुँदा बेरोजगार थिए ।

घटना भएको दिन फ्लोयड स्थानीय एक ग्रोसरी स्टोर ‘कप फुड्स’मा चुरोट किन्न गएका थिए । स्टोरका मालिक माइक अबुमायालेहका अनुसार त्यस दिन फ्लोयड एक पुरुष र महिलाका साथमा स्टोरमा गएका थिए । ‘उनीसँग रहेका पुरुषले एक सामान किनेर २० डलरको नोट दिए । स्टोरका कर्मचारीले तत्कालै नोट नक्कली भएको थाहा पाए र पैसा पुरुषलाई नै फिर्ता दिए ।

प्रहरीको अत्यधिक बल प्रयोगबाट अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा अश्वेत युवक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकी समाजमा व्याप्त नश्लभेद सार्वजनिक बहसको रूपमा देखिएको छ।

त्यसपछि उनीहरू निस्किएका थिए । तर, त्यसको १० मिनेटपछि फ्लोयड एक्लै स्टोरमा आए,’ एनबिसी न्युजसँग माइकले भने । फ्लोयड स्टोरका नियमित ग्राहक भएकाले उनले दिएको नोट कर्मचारीले नहेरीकन राखेका थिए । तर, पछि एक कर्मचारीले नोट नक्कली रहेको आशंका गरे र प्रहरीलाई फोन गरिदिए ।

केहीबेरमै प्रहरी भ्यान आयो । फ्लोयड अझै स्टोरबाहिर नै थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न बल प्रयोग ग-यो । फ्लोयडले पक्राउका क्रममा असहयोग गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले बताएको छ । तर, प्रत्यक्षदर्शीले खिचेको भिडियोमा फ्लोयड भुइँमा घोप्टो परेको अवस्थामा समेत प्रहरीले उनीमाथि ज्यादती गरेको प्रस्टै देखिन्छ ।

‘घटना भएको दिन म स्टोरमा थिइनँ । त्यहाँ रहेका कर्मचारीले प्रोटोकलमा जे थियो, त्यही गरेका थिए । तर, प्रहरीले पक्राउ मात्र गर्नुपर्ने व्यक्तिमाथि अत्यधिक शक्तिको प्रयोग गरे, जसले गर्दा तिनको मृत्यु भयो,’ एनबिसी न्युजसँग माइकले भने ।

आफ्नो स्टोरका नियमित ग्राहक फ्लोयडलाई शान्त मिजासको व्यक्तिका रूपमा सम्झिन्छन् माइक । भन्छन्, ‘अमेरिकामा अल्पसंख्यकसँग बराबरको व्यवहार गरिँदैन । यो असमान व्यवहारको प्रणालीलाई सम्बोधन गरिनुपर्छ र प्रहरी ज्यादती तत्कालै रोकिनुपर्छ ।’ आफ्नो स्टोरसँग जोडिएको घटनाले देशभर विरोध सुरु गरेपछि उनी स्तब्ध छन् ।

अश्वेत समुदाय र अल्पसंख्यकमाथिको विभेदप्रति असन्तुष्ट वर्गले यसलाई एउटा घटनाभन्दा पनि अश्वेतप्रतिको संस्थागत रबैयाका रूपमा हेरेका छन् । यसको विरोधमा शान्तिपूर्ण र हिंसात्मक दुवैथरीका विरोध देखिन थालेका छन् ।

मिनियापोलिस : एक विभाजित सहर

फ्लोयडको सहर मिनियापोलिसको अश्वेत समुदाय मंगलबार नै घटनाविरुद्ध उत्रिएको थियो । बुधबार रातिदेखि अश्वेत प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति बन्यो । प्रदर्शनकारी उत्तेजित हुँदा सहरमा पहिलोपटक लुटपाट, तोडफोड र हिंसा भयो । सोही राति अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर एक व्यक्तिको ज्यानसमेत गयो ।

‘यो एउटा घटना मात्र होइन । यसअघिका अनगिन्ती घटनाको आक्रोश अहिले फुटेको हो,’ मिनियापोलिसको प्रदर्शनमा सामेल अश्वेत युवक न्युम्यानले भावुक हुँदै भने ।

बिहीबार पनि सहरको प्रदर्शन उग्र रह्यो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि मिनिसोटा राज्यको ब्युरो अफ क्रिमिनल एप्रिहेन्सनले फ्लोयडको घाँटीमा घुँडा राख्ने प्रहरी अधिकारी डेरेक चोभिनलाई पक्राउ ग-यो । उनीमाथि हत्याको आरोप लगाइएको छ र सोमबारदेखि सुनुवाइ हुँदै छ ।

समृद्ध सहर मिनियापोलिस उदार नीति तथा उदार राजनीतिका लागि चिनिन्छ । तर, यही सहरमा गहिरो सामाजिक, आर्थिक असमानता र नश्लीय विभाजन कायम छ । विशेषतः २०औँ शताब्दीको प्रारम्भका नश्लवादी नीतिले अझैसम्म सहरका अश्वेतहरूलाई अरू समुदायबाट अलग र विपन्न अवस्थामा राखेको छ ।

२०औँ शताब्दीमा अश्वेतहरूलाई सहरका निश्चित क्षेत्रमा घरबार किन्न बन्देज थियो । यसले गर्दा अहिले अश्वेत समुदायको सघन बसोवास उत्तरी क्षेत्रमा देख्न सकिन्छ । सन् १९६० को दशकमा राज्यले एक प्रमुख राजमार्गलाई छिमेकी सेन्ट पल सहरमा बढ्दै गएको अश्वेत समुदायको बस्तीबाट लैजानेसम्म काम गरेको थियो ।

मिनियापोलिसमा घरजग्गाको स्वामित्व हुने, औसत आय तथा बेरोजगार सबै तथ्यांकमा अश्वेतहरू तिनका श्वेत समकक्षीभन्दा निकै दयनीय अवस्थामा छन् । तर, मिनियापोलिस यस्तो असमानता भएको एक्लो अमेरिकी उदाहरण होइन, देशभरको चित्र लगभग यही सहरमा जस्तै देखिन्छ । पहिलेदेखि कायम सामाजिक, आर्थिक असमानतामा प्रहरीको व्यवहार पनि फरक हुँदा अश्वेत जाति थप अपमान भोग्नुपर्ने स्थितिबाट गुज्रिरहेका छन् । 

प्रहरीले सो क्षेत्रमा यसअघि पनि अश्वेतहरूमाथि अत्यधिक बल प्रयोग गरेका घटना बाहिरिएका थिए । सन् २०१६ मा फिलान्डो क्यास्टिललाई एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । उक्त घटना अहिले विरोध प्रदर्शन भइरहेको स्थानबाट पैदल १५ मिनेटमा पुग्न सकिन्छ । 

सन् २०१७ मा जस्टिन डाइमन्डको गोली हानी हत्या गरिएको घटनाले पनि चर्चा पाएको थियो । श्वेत समुदायकी डायमन्डले आफू रहेको क्षेत्रमा बलात्कारको घटना भएको जस्तो लागेर प्रहरी बोलाएकी थिइन् । तर, तिनै प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए । त्यसअघि सन् २०१५ मा पनि सोही सहरमा एक २४ वर्षे जमार क्लार्कलाई मिनियापोलिस प्रहरी अधिकारीले लखेटी–लखेटी गोली प्रहार गरेका थिए । उनीहरू सबै निःशस्त्र थिए । 

निःशस्त्र व्यक्तिमाथि प्रहरी ज्यादतीका कारण भएका यी तीनै हत्याको विरोधमा मानिस सडकमा उत्रिएका थिए । त्यसका बाबजुद सबै घटनाका दोषीले खासै सजाय पाएनन् । विशेषतः अश्वेत समुदायका मानिसको हत्याको सन्दर्भमा यस्तो हुने गरेको छ । 

डायमन्डका हत्यारालाई साढे १२ वर्ष जेल सजाय भए पनि क्यास्टिलका हत्यारा प्रहरी अधिकारीविरुद्ध मुद्दा चल्यो, तर उनी निर्दोष साबित भए । क्लार्कको हत्यामा संलग्न अधिकारीविरुद्ध त मुद्दासमेत चलेन । यही प्रवृत्ति अमेरिकाका अन्य भागमा पटक–पटक दोहोरिरहेका छन् । यसले अमेरिकामा अश्वेत जातिलाई अपराधीका रूपमा हेर्ने प्रवृत्ति रहेको चित्रण गर्छ ।

श्वेत जातिमा गढेको नश्लवादी चिन्तन

अमेरिकाको श्वेत जातिको ठूलो संख्यामा अश्वेत समुदायका मानिस अपराधी हुन्छन् भन्ने नश्लवादी धारणाले जरो गाडेको देखिन्छ । पछिल्लो समय मिडियामा चर्चा पाएका केही घटनाबाट पनि यही मानसिकता झल्किन्छ ।

गत २३ फेब्रुअरीमा जर्जिया राज्यको ब्रुन्सविकमा अर्का एक अश्वेत युवकको हत्या भयो । न्युयोर्क टाइम्सका अनुसार २५ वर्षे अहमद आरबेरी आफ्नो आमासँग बस्दै आएका थिए र स्वास्थ्यमा निकै ध्यान दिन्थे । सोही क्रममा फुर्सदको समयमा आफ्नो वरिपरिका स्थानमा जगिङ गर्ने आरबेरी २३ फेब्रुअरीमा श्वेत जातिको घर रहेको क्षेत्रमा पुगे ।

सिसिटिभी फुटेजमा उनी त्यस क्षेत्रमा निर्माणाधीन एक घरभित्र पसेको देखिन्छ । तर, उनीबाहेक अन्य धेरैले घरभित्र पसेर हेर्ने गरेको पनि सिसिटिभी फुटेजबाटै देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । आरबेरीलाई भने अश्वेत भएका कारणले चोर वा हुलदंगाकारी सम्झेर सोही क्षेत्रमा बस्ने एक पूर्वप्रहरी अधिकारी ग्रिगोरी म्याक–मिचेलले आफ्नो छोराको साथमा पछ्याए । उनीहरू दुवैसँग बन्दुक थियो । घटनाको समयको सिसिटिभी फुटेजमा उनीहरूले आरबेरीलाई लखेटी–लखेटी गोली हानेको देखिन्छ ।

पहिलेदेखि कायम सामाजिक, आर्थिक असमानतामा प्रहरीको व्यवहार पनि फरक हुँदा अश्वेत जाति थप अपमान भोग्नुपर्ने स्थितिबाट गुज्रिरहेका छन् । 

यस प्रकरणमा पनि आरबेरी अश्वेत भएकाले अपराधी हुन सक्ने सोच हाबी भएको देखिन्छ । मिडियामा आएको समाचारअनुसार आरबेरीको हत्यालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर, प्रहरीले म्याक-मिचेलका बाबुछोराको कुराकै आधारमा आत्मरक्षाका क्रममा आरबेरीको ज्यान गएको रिपोर्ट दियो ।

घटनालाई अमेरिकी मिडियाले महत्व दिएर अनुसन्धान गर्दा आरबेरी घटनाको समय निहत्था रहेको र म्याक–मिचेल बाबुछोराले अपराधी ठानेर लखेटेर मारेको देखिएको थियो । दुई महिनापछि बल्ल म्याक–मिचेल बाबुछोराविरुद्ध मुद्दा सुरु गरिएको थियो ।

अश्वेतहरू अपराधी हुन्छन् भन्ने सोचका कारण भएको अर्को घटना फ्लोयड मारिएकै दिन न्युयोर्कमा पनि भयो । न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा मर्निङवाक गरिरहेका श्वेत महिला एमी कुपर र क्रिस्चियन कुपरबीचको विवादले अमेरिकामा कसरी दैनिक जीवनमा अश्वेतहरूमाथि नश्लीय व्यवहार हुन्छ भन्ने प्रस्ट्याउँछ ।

क्रिस्चियनले पछि फेसबुकमा पोस्ट गरेको एक भिडियो र स्ट्याटसअनुसार एमी कुपरले आफ्नो कुकुरलाई डोरीविना हिँडाइरहेकी थिइन् । एमीले प्रहरीलाई फोन गरेर ‘यहाँ एक अश्वेत व्यक्ति छ, ऊबाट मलाई खतरा छ’ भनेकी थिइन् । एमीले प्रहरीलाई फोन गर्नुअघि धम्क्याएको कुरालाई क्रिस्चियनले खिचेकी थिइन् । उक्त भिडियो अहिलेसम्म सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियो बाहिरिएपछि एमीले आफू नश्लवादी नभएको र आफ्नो कदमको लागि माफी दिन भनेकी छिन् । तर, यसले पनि जान-अन्जान रूपमा अश्वेतमाथि अमेरिकी समाजमा हुने असमानतालाई उजागर गर्छ ।

यसअघि सन् २०१४ जुलाई र अगस्टमा एक महिनाको फरकमा भएका एरिक गार्नर र माइकल ब्राउनको घटनाले अमेरिकी प्रहरीमा अश्वेतहरू अपराधी हुन्छन् भन्ने मानसिकता रहेको बहस सिर्जना गराएको थियो । दुवै घटनामा प्रहरीले सामान्य कसुरको आशंकामा अत्यधिक बल प्रयोग गरेको थियो ।

साथै गार्नर र ब्राउनको हत्यामा संलग्न प्रहरीलाई न्यायालयले निर्दोष करार गरेको थियो । यी दुई घटना र त्यसपछिका घटनाको प्रतिक्रियामा ठूलो प्रदर्शन भएको थियो । राज्य संयन्त्रले अश्वेतको जीवनलाई महत्व नदिएको भन्दै ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने नारा तथा अभियान पनि यिनै घटनाको प्रतिफलस्वरूप जन्मिएको हो ।

संस्थागत विभेद

अमेरिकामा अश्वेत समुदायको जनसंख्या १३ प्रतिशत हाराहारी छ । सन् १६१९ मा पहिलोपटक अफ्रिका महादेशका मानिसलाई तत्कालीन अमेरिकी ब्रिटिस उपनिवेशमा ल्याइएको थियो । सुरुदेखि नै दासीका रूपमा ठूला खेतमा निःशुल्क श्रमका लागि ल्याइएका अश्वेत जातिहरू विभिन्न समयको आन्दोलनपछि आज पनि समाजमा निकै ठूलो असमानता भोगिरहेका छन् ।

अब्राहम लिंकनको दासमुक्तीको घोषणापछि पनि विभिन्न कानुनबाट अश्वेत जातिलाई दोस्रो दर्जाको नागरिकमा कायम राख्ने प्रयास गरियो । सम्पूर्ण प्रकारको विभेद अन्त्यको माग गर्दै सन् १९६० मा सिभिल राइट्स मुभमेन्ट चल्यो । यस आन्दोलनका चर्चित अनुहार मार्टिन लुथर किङ र म्याल्कोम एक्स मारिएपछि लोकप्रिय प्रतिरोधको प्रतिफलस्वरूप कानुनमा रहेका विभेद हटाउन थालियो ।

तर, लामो समयदेखिको सेग्रेगेसन (अलग बसोवासको व्यवस्था गर्ने) कानुनका कारण अश्वेतहरूको बसोवास भएको सहरका सबैभन्दा विपन्न क्षेत्रमा हुने गर्छ । यो विपन्नताको असर आर्थिक रूपमा मात्र होइन, स्वास्थ्यमा समेत पर्ने पछिल्लो कोरोना भाइरस प्रकोपमा देखियो ।

अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले अप्रिलमा निकालेको तथ्यांकमा अमेरिकाभरका कुल कोभिड–१९ का बिरामीमध्ये ३० प्रतिशत अश्वेत जातिका थिए । कोरोनाले विपन्न वर्गलाई बढी प्रभावित बनाउने तथ्यलाई १३ प्रतिशत जनसंख्यामा यति धेरै संक्रमण दरसँग मिलाउने हो भने पनि अश्वेत समुदायको कमजोर आर्थिक अवस्थाकै चित्र आउँछ ।

अझै पनि अमेरिकी कानुन अश्वेतमाथि कठोर रहेको त्यहाँका जेलमा रहेको अमेरिकी अश्वेतको उल्लेख्य संख्याले बताउने गर्छ । अमेरिकी जनसंख्याको १३ प्रतिशत हिस्सा रहेको अश्वेत देशको कुल कैदीमध्ये ४० प्रतिशत छन् । एक कथन के छ भने, अमेरिकामा दास युगमा जति संख्यामा अश्वेत दास थिए, त्यसभन्दा बढी संख्यामा अहिले अश्वेत कारागारमा बन्दी छन् । 

अमेरिकामा सन् २००८ मा अश्वेत व्यक्ति देशको सर्वोच्च पदमा निर्वाचित हुँदा धेरैले अश्वेतविरुद्धको विभेद मेटिँदै गएको र थप तीव्र गतिमा त्यसमा सुधार हुने आशा बढेको थियो । तर, बाराक ओबामापछि सत्तामा आएका डोनाल्ड ट्रम्पसँगै नश्लवादी धारणा ह्वात्तै बढेको अवस्थामा त्यो आशा निराशामा बदलिएको छ । मानिसहरूले ओबामाको जितलाई अपवादका रूपमा हेर्न थालेका छन् । धेरैले समानताको यात्रा अझै लामो रहेको मान्न थालेका छन् । यही संघर्षको नयाँ खुडकिलो बनेर आएको छ– जर्ज फ्लोयडको हत्यापछिको प्रदर्शन ।

(एजेन्सीको सहयोगमा)