मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार ०९:२७:००
Read Time : > 1 मिनेट
समाचार

तीन वर्षदेखि ट्रमा सेन्टरमा थन्किएको इन्ट्राअप्रेटिभ सिटिस्क्यान सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार ०९:२७:००

तीन वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा थन्किएको २२ करोड मूल्यको अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले बिग्रिएर बसेको मेसिन कोरोना भाइरस (कोभिड–१९) महामारीका वेला मर्मत गरेर सञ्चालनमा ल्याएको जानकारी दिए ।

शल्यक्रिया गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटिस्क्यान बिग्रिए पनि मर्मत गर्न सेन्टरले चासो देखाएको थिएन । हालै निर्देशकको जिम्मेवारीमा आएका पौडेलले लकडाउनको समयमा पनि ३५ लाख रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएका हुन् । 

ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स सेवा सञ्चालनको तयारी पनि थालेको छ । बिरामीको सहजताका लागि पारामेडिक्ससहितको एम्बुलेन्स सेवा उपत्यकामा दिने तयारी थालेको उनले बताए । त्यस्तै, कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न हरेक वार्डमा मनिटर जडान गर्ने काम सुरु गरेको छ । ट्रमा सेन्टरमा तीनवटा वार्ड छन् । आइसियू, पोस्ट अप्रेटिभ वार्ड र इमर्जेन्सीको भार घटाउन हरेक वार्डमा मनिटर जडान गरिएको पौडेलले जानकारी दिए ।

सरकारले ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रूपमा सूचीकृत गरेको छैन । तर, देशभरबाट ट्रमाका बिरामी आउने भएकाले पाँच शड्ढया आइसोलेसन र एक बेड आइसियू छुट्याएको छ । कोभिडको शंका लागेका बिरामीको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा राख्ने र गम्भीर भए आइसियूमा राख्ने उद्देश्यअनुसार काम भएको निर्देशक पौडेलले बताए ।

ट्रमा सेन्टरमा पाँचवटा अप्रेसन थिएटर भए पनि तीनवटा मात्रै सञ्चालनमा थिए । अप्रेसन थिएटरमा लाइट, बेड, कुर्सी, टेबुल बिग्रिएको वर्षौं भए पनि मर्मत भएको थिएन । निर्देशक पौडेलले बिग्रिएका सामानको मर्मत गरी सबै अप्रेसन थिएटर सञ्चालनमा ल्याएका छन् । अस्पतालका अनुसार अहिले पनि दैनिक ७० जना बिरामी उपचार सेवा लिन आइरहेका छन् । 

लायन्स क्लबद्वारा वीर अस्पताललाई पिपिई सहयोग

लायन्स क्लब इन्टरनेसनलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई पिपिई सहयोग गरेको छ । न्याम्समा आयोजित एक कार्यक्रममार्फत क्लबले दुई हजार सर्जिकल मास्क, ५० सेट फुल पिपिई र ५० सेट भाइजर सहयोग गरेको हो ।

न्याम्सका उपकुलपति प्रा.डा. डिएन शाहले सहयोगले ठूलो राहत मिलेको बताए । बजारमा पिपिई किन्न नपाएको वेला अत्यावश्यक सामान दिएको भन्दै उनले धन्यवाद दिए । यस्तो सहयोगले स्वास्थ्यकर्मीलाई हौसला मिल्ने उनले बताए ।

कोभिड महामारीको समयमा वीर अस्पतालले सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जनाएको छ । दैनिक पाँच सयजनाले ओपिडीबाट सेवा लिएको अस्पतालले जनाएको छ । वीर अस्पतालमा सामान्य समयमा दैनिक दुई हजारदेखि २५ सयसम्म बिरामी ओपिडीमा आउँछन् ।