मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विधेयक संसद्मा पेस गर्दै कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
किरण दहाल काठमाडाैं
२०७७ जेठ १९ सोमबार ०४:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

संविधान संशोधन विधेयक संसदमा पेस

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७७ जेठ १९ सोमबार ०४:३९:००

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नक्साअनुसार निसान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक संसदमा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन् ।

संसदमा विधेयक पेस गर्दै कानुनमन्त्री डा. तुम्बाहाङ्फेले भनिन्, ‘नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदनसमक्ष पेस गर्दछु ।’

अब संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि संसद् बैठकमा विधेयकमाथि छलफल हुनेछ । संविधान संशोधनलाई लिएर संसद्मा हुने अबको प्रक्रियाबारे संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘विधेयक पेस भइसकेको अवस्थामा अब राजपत्रमा प्रकाशित हुन्छ । ३० दिनभित्रै प्रकाशित गर्ने भनिएकाले आजभोलिमै पनि प्रकाशित गर्न सकिन्छ ।’

उनका अनुसार त्यसपछि बैठकमा सामान्य छलफलका लागि प्रस्तुत हुनेछ भने संशोधनका लागि ७२ घन्टाको म्याद दिइनेछ । त्यसमाथि संशोधन पर्‍यो भने त्यसलाई पनि समेटेर अर्काे बैठकमा छलफलका लागि पेस हुनेछ । संसद्मा छलफल भएपछि निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा ध्वनि मत नभई लिखित रूपमै मत दिनुपर्नेछ । पारित गर्न दुईतिहाइ बहुमत पुर्‍याउनुपर्नेछ । 

प्रतिनिधिसभाबाटै नभएर राष्ट्रिय सभाबाट पनि पारित गर्नुपर्नेछ । ‘राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै क्रमशः टेबल गर्ने, सामान्य छलफल गर्ने, संशोधनको म्याद जारी गर्ने, संशोधन पर्‍यो भने संशोधन र प्रस्तावलाई छलफल गर्ने र निर्णयार्थ पेस गर्ने हुन्छ । त्यसपछि दुईतिहाइले पारित गर्नुपर्छ,’ पाण्डेले भने । दुवै सदनबाट पारित भएको विधेयकलाई प्रमाणित गरेर सभामुखले राष्ट्रपतिसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै लागू हुनेछ । 

संविधान संशोधनलाई छिटो प्रक्रियाबाट टुंग्याउनका लागि ७२ घन्टाको संशोधन म्याद घटाउन सकिने पाण्डेले बताए । त्यस्तै, दिनमा दुई–तीनवटा बैठक बसेरसमेत छिटो टुंगोमा पुर्‍याउन सकिनेछ । मन्त्रिपरिषद्को ५ जेठको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार गरिएको नक्सा स्वीकृत गरेको थियो । त्यसपछि ७ जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।

संविधान संशोधनसम्बन्धी प्रस्ताव १४ जेठमै संसद्मा पेस गर्ने तयारी थियो । तर, अन्तिम आएर कार्यसूचीबाट हटाइएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधनको विषय केन्द्रीय कार्यसमितिबाट पारित गर्नुपर्ने भन्दै समय मागेपछि कार्यसूचीबाट हटेको मन्त्री डा. तुम्बाहाङ्फेले बताएकी थिइन् । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आइतबार संसद्मा पेस भएको हो ।