१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. रुपेन्द्र जोशी
२०७७ जेठ १८ आइतबार २१:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

यसरी सञ्चालनमा ल्याउन सकिन्छ विद्यालय

Read Time : > 2 मिनेट
डा. रुपेन्द्र जोशी
२०७७ जेठ १८ आइतबार २१:५०:००

मानव जीवनमा शिक्षाको ठूलो भूमिका र महत्व हुन्छ । जीवनसँग जिउन सिकाउनु शिक्षाको पहिलो कार्य हो । भूकम्प, महामारीजस्ता विपत्ति जीवनमा आई नै रहन्छन् । तर, त्यस्तो विपत्तिको सामना गर्नु चुनौतीपूर्ण हुन्छ ।

चुनौती स्वीकार गर्दै जीवन जिउन सक्नु जीवनको सुन्दर पक्ष हो । महामारीबाट आफू बच्नु र अरूलाई बचाउनु सबै नागरिकको अहं कर्तव्य हो । अहिले विश्व महामारीबाट त्रसित भइरहेको अवस्था छ । सधैँ त्रसित रहेर घरभित्र बस्नु मात्र यसको निर्विकल्प समाधान होइन । अहिले बन्दाबन्दीको अवस्था छ । घरभित्रै बस्दा मानिसले धेरै प्रकारका समस्या जस्तै– घरेलु हिंसा, मानसिक तनाव, आर्थिक तनाव, रोजगारी गुमाउनेजस्ता अनेकन अवस्थासँग जुधिरहनुपरेको छ । आर्थिक अवस्था डामाडोल हुने स्थिति सिर्जना भइरहेको छ । लाखौँ विद्यार्थी घरमै नजरबन्दमा बस्नुपर्दा उनीहरूमा अनेकन समस्या देख्न थालिसकेको छ । यसले भयावह रूप नलेला भन्न सकिन्न ।

यस्तो अवस्थामा कम्तीमा पनि कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म एउटा निश्चित मापदण्ड अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिन अति जरुरी भइसकेको छ । विगत लामो समयदेखि अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न भएको आधारमा अहिलेको अवस्थालाई मध्यनजर गदै एउटा अध्यापन नमुना तयार गरेको छु ।

यस नमुना विधिअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने हो भने अहिले प्रायः ठप्प रहेको शैक्षिक क्रियाकलापलाई केही हदसम्म समाधान गर्न सकिने देखिन्छ । साथै महामारीसँग जुध्न सिक्नुका अतिरिक्त लाखौँ विद्यार्थीले आआफ्नो शैक्षिक गतिविधिलाई केही अगाडि बढाउन सक्नेछन् । यो तरिका अपनाउने हो भने शैक्षिक गतिविधिलाई बिहानी र दिवा सत्रमा विभाजन गरी हरेक साता तीन (३) दिन कक्षा सञ्चालन गर्न सकिन्छ । बिहानी सत्रमा माथिल्लो तह (९–१२) र दिवा सत्रमा तल्लो तह (५–८) सञ्चालनमा ल्याउन सकिन्छ । कक्षा सञ्चालन गर्दा एकैपटक नबोलाई रोल नं.अनुसार जोर–बिजोर प्रणाली लागू गर्ने अर्थात् जोर बार जोर रोल नं. र बिजोर बार बिजोर रोल नं.का विद्यार्थीलाई बोलाउने । यस्तो प्रणाली सबै विद्यालयमा एकैपटक लागू नगरी निजी र सार्वजनिक विद्यालयलाई छुट्टा–छुट्टै बार लागू गर्ने ।

यसो गर्दा विद्यालयमा विद्यार्थीको चाप पर्न जाँदैन र नियन्त्रित रूपमा कक्षा सञ्चालन गर्न सघाउ पुग्नुका साथै आवागमन पनि सहज हुन पुग्छ । मानौँ, हरेक कक्षामा औसत विद्यार्थीको संख्या ३० छ । ९–१२ सञ्चालन गर्दा जम्मा विद्यार्थीको संख्या १२० (४x३०=१२०) हुन्छ र जोर–बिजोर प्रणाली लागू गर्दा यो संख्या स्वतः ६० मा आइपुग्छ । अनि मानिलिऔँ अहिलेको महामारीले गर्दा अनुपस्थित विद्यार्थीको संख्या २५% हुने हो भने पनि जम्मा उपस्थित संख्या ४५ (६०–१५=४५) हुन्छ । अब ४५ जना विद्यार्थीलाई सामाजिक दूरी, मास्क एवं अन्य सुरक्षाका विधि अपनाएर कक्षा सुचारु गर्न किन सकिन्न ? यसरी उल्लिखित नमुना विधि अपनाई कक्षा सञ्चालन गर्ने हो भने शैक्षिक सत्र पनि चालू रहने र विद्यार्थीले आफूले पढ्न पाउने मौलिक अधिकारबाट पनि वञ्चित हुनुपर्ने देखिँदैन । 

यही तरिका दिवा सत्रमा पनि लागू गर्न सकिन्छ । विद्यालय सञ्चालन भएको दिन ३ घन्टाको मात्र पढाइ व्यवस्था गर्ने । जहाँसम्म विद्यालय आउनका लागि यातायातको व्यवस्थाको कुरा छ, यहाँ पनि जोर–बिजोर प्रणाली लागू गर्न सकिन्छ । यसमा सरकारी विद्यालयलाई खासै फरक वा असर नगरे पनि निजी विद्यालयलाई बारअनुसार जोर–बिजोर प्रणाली लागू गर्न लगाउने र सवारीसाधनको सिट क्षमताको बढीमा ४०% मात्र विद्यार्थी राख्न पाउने व्यवस्था गर्ने ।

अब रह्यो अनुपस्थित विद्यार्थीलाई के गर्ने भन्ने कुरामा उनीहरूलाई विद्युतीय माध्यम, रेडियो, टेलिभिजन तथा अन्य उपलब्ध साधन तथा स्रोतको उपयोग गरी सिकाउने व्यवस्था गर्न सकिन्छ । किनभने, हालको तथ्यांकअनुसार १२.४१% विद्यालयले मात्र शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको उपयोग गरिरहेको पाइएको छ । कक्षा ४ देखि तलका विद्यार्थीलाई अभिभावककै रेखदेखमा घरमै पढाइका लागि प्रोत्साहन गर्ने र पछि वातावरण सहज भएपछि उनीहरूका लागि छुट्टै विशेष व्यवस्था गर्ने ।

अब पनि विनायोजना लकडाउन जारी नै राख्ने हो भने बालबालिका एवं विद्यार्थीको सीप विकासले उल्टो दिशा समात्न सक्छ

उल्लिखित नमुना एकैपटक सबै प्रदेशमा लागू नगरी संक्रमण र जोखिमको अवस्था हेरी लागू गर्न सकिन्छ कोभिड–१९ ले बढी असर गरेका फ्रान्स, स्पेनलगायत देशले समेत विद्यालय सञ्चालनमा ल्याइसकेको अवस्थामा हामीले उचित सुुरक्षाको प्रबन्ध मिलाई विद्यालय सञ्चालनमा ल्याउन जरुरी भइसकेको छ । अब पनि विनायोजना लकडाउन जारी नै राख्ने हो भने बालबालिका एवं विद्यार्थीको सीप विकासले उल्टो दिशा समात्न सक्छ र मनोसामाजिक त्रासका कारण धेरै अभिभावक स्वयं र विद्यार्थीको मानसिक स्वास्थ्यमा समस्या आई अकल्पनीय घटना बाहिर आउन सक्छ । यसलाई नजरअन्दाज गर्नु ठूलो महाभूल हुनेछ ।

त्यसैले समयमै समस्याको हृदयंगम गरी उचित कदम चाल्न ढिलो भइसकेको छ ।
यसरी विद्यालयलाई सञ्चालन गर्ने हो भने विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न जाँदैन र उनीहरूले आफ्नो तथा परिवार र विद्यालयको समेत सरसफाइमा चेतनशील भई लाग्न उत्प्रेरित गर्छ । र, सरकारको मानव पुँजी निर्माण, सामाजिक रूपान्तरण र आर्थिक विकासहितको आधुनिक समाज निर्माण गर्ने उद्देश्यमा अवश्य मद्दत मिल्नेछ । 
(डा. जोशीले शैक्षिक व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन्)