मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १८ आइतबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पुरानै काम र योजनालाई निरन्तरता

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १८:११:००

गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले आइतबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यक्रमले चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रम समेटेको छ । संविधानले निर्दिष्ट गरेका राज्यका निर्देशक सिद्धान्त र नीति, नेपाल सरकारले अंगीकार गरेको समष्टिगत आर्थिक नीति, पन्ध्रौँ राष्ट्रिय योजना, प्रदेशको प्रथम पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, प्रदेश सभाका विषयगत समिति, राजनीतिक दल, उद्योगी, व्यवसायीलगायतका निजी क्षेत्र र नागरिक समाजको सुझाब तथा प्रदेशका नागरिकको विकासका चाहना तथा प्रदेश सरकारले यसअघिका वर्षमा अवलम्बन गरेका नीति एवं कोभिड– १९ ले प्रदेशको जनजीवन र अर्थतन्त्रमा पारेको असरको अध्ययन गर्न प्रदेश सरकारद्वारा गठित कार्यदलको सुझाबसमेतको आधारमा नीति तथा कार्यक्रम तयार गरेको हो ।  

प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने लक्ष्य राखे पनि कोरोनाका कारण २.६८ प्रतिशतमा खुम्चिने प्रारम्भिक अनुमान गरेको छ । चालू आर्थिक वर्ष आर्थिक वृद्धिदर १०.२ पुऱ्याउने लक्ष्य सरकारले लिएको थियो । कोभिड– १९ कै कारण प्रदेशको वार्षिक कार्यक्रम, प्रथम पञ्चवर्षीय योजना र दिगो विकासका लक्ष्य प्राप्तिमा व्यवधान खडासँगै प्रदेशको विप्रेषण, पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा प्रभाव परेका कारण आर्थिक वृद्धिदर २.६८ प्रतिशतमा खुम्चिने प्रारम्भिक अनुमान सरकारले गरेको छ । कोभिड– १९ महामारीबाट मानव जीवनको रक्षा गर्नु सरकारको प्रमुख कर्तव्य भएको अवस्थामा सरकारका विकासका लक्ष्यहरू पुनः प्राथमिकीकरण गर्नुपरेको सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।