मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
स्वदेश फर्कने आशामा काँकडभिट्टा बसपार्कमा अलपत्र परेका भारतीय नागरिक । 
२०७७ जेठ १८ आइतबार १९:२०:००
Read Time : < 1 मिनेट
समाचार

काँकडभिट्टा नाका हुँदै स्वदेश फर्कन लागेका भारतीय नागरिकलाई भारतले रोक्यो, सयौँको सडकमै वास

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १९:२०:००

पूर्वी नाका काँकडभिट्टा हुँदै भारत फर्कन लागेका भारतीय नागरिकलाई भारत सरकारले रोक लगाएको छ । पश्चिम बंगाल सरकारले नेपालबाट जानेहरूलाई प्रवेशमा रोक लगाएपछि तीनसय भन्दा बढी भारतीय नागरिक सडकमै अलपत्र परेका छन् । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतीयलाई पश्चिम बंगाल सरकारले जान नदिएको बताए । उनले भारततिरको प्रहरीले नपठाउनु भनेको बताए । ‘भिड बढेको बढ्यै छ । यसले कोरोना संक्रमणको जोखिम थपेको छ,’ उनले भने । स्वदेश फर्कने आशामा काँकडभिट्टा आइपुगेका भारतीय नागरिक दिनभर तातो घाममा सडकमै बस्न बाध्य भएका छन् । 

नेपालका विभिन्न जिल्लामा मजदुरी गर्न आएकाहरू लकडाउन बढ्दै गएपछि स्वदेश फर्कन खोजेका हुन् । तर, पश्चिम बंगाल सरकारले नेपालबाट जाने मालबाहक सवारीसमेत जान दिएको छैन । त्यसकारण पूर्वी नाकाबाट पछिल्लो समय पेट्रोलियम पदार्थ आयातसमेत हुन सकेको  छैन । पश्चिम बंगाल सरकारले क्वारेन्टाइनलगायत भौतिक संरचना बनाइनसकेकाले तत्काल आफ्ना नागरिक नपठाउन आग्रह गरेको हो । दुई दिनअघि मेचीपारि पुगेका १७ जना भारतीय नागरिकलाई समेत फिर्ता पठाएको थियो । उनीहरू नेपाल नै फर्किएको प्रहरीले जनाएको छ ।

तर, मजदुर भने घर जाने आशामा नाकामा जम्मा भएका छन् । उनीहरूले न भारत जान पाएका छन् त नेपालमै बस्ने ठाउँ पाएका छन् । उनीहरू रात पनि सडकमै बिताउन बाध्य छन् । सीमा क्षेत्रका क्वारेन्टाइन भारतबाट ल्याएका नेपालीले भरिएका छन् । उनीहरूलाई खाना भने खुवाइएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताए । ‘खाना खुवाएका छौँ,’ उनले भने, ‘तर, सुत्ने व्यवस्थापन गर्न सकेका छैनौँ ।’ काँकडभिट्टा बसपार्क क्षेत्रमा अहिले पनि तीन सयजति भारतीय छन् । उनीहरू अधिकांश इँटा कारखानाका श्रमिक हुन् । धमाधम इँटाभट्टा बन्द हुन थालेपछि  श्रमिकहरू घर फर्कन थालेका हुन् ।