१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी मिनियापोलिस
२०७७ जेठ १८ आइतबार १४:०२:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकाका दर्जनौँ सहरमा प्रदर्शनहरू हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

Read Time : > 1 मिनेट
रासस/एएफपी मिनियापोलिस
२०७७ जेठ १८ आइतबार १४:०२:००

संयुक्त राज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा लगाइएको छ। प्रदर्शनकारीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । 

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौँ दिन हिंसा फैलिएको छ । भिड नियन्त्रण गर्न खटाइएका दंगा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढंगबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो । 

लस एन्जलस, सिकागो र एटलान्टासमेतका दुई दर्जन सहरमा मानिसलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा विरलै देख्न सकिने घटना हो । 

सियाटलदेखि न्युयोर्कसम्म दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूको एकमात्र माग थियो– अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरू प्रहरीलाई पनि गिरफ्तार गरियोस् । 

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई आठ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झन्डै तीन मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ । 

लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरूलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए । 

सिकागो र न्युयोर्कलगायतका धेरैवटा सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरूमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए । 

उनले भने, 'हामीले एउटा अराजक सानो समूहलाई हाम्रा सहरहरू तोडफोड गर्ने छुट दिनुहुँदैन । मेरो प्रशासनले भिडको हिंसा रोक्नेछ । र, हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।'

अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ । 

प्रदर्शनकारीहरूले  'अश्वेतको जीवनको महत्व छ', 'म सास फेर्न सक्दिनँ' भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाइहरू अहिले प्रहरी क्रूरताको नयाँ प्रतीक बनेका छन् । 

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताएका छन् । 

मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गमा शनिबार राति सैनिक हेलिकाेप्टरहरूले आकाशबाट गस्ती गरेका थिए ।