१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ १८ आइतबार १३:३०:००
Read Time : > 1 मिनेट
समाचार

मानवअधिकार आयोगको टोली स्थलगत अनुसन्धान गर्न रुकुमतर्फ हिँड्यो

Read Time : > 1 मिनेट
२०७७ जेठ १८ आइतबार १३:३०:००

पश्चिम रुकुममा भएको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

आयोगले अन्तर्जातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको घटनाको विषयमा अनुसन्धान गर्न आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वको टोली जाजरकोट र रुकुमतर्फ प्रस्थान गरेको हो । 

टोलीले स्थलगत रूपमा घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीन प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्ति सुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए । 

आयोगले जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न आग्रह गरेको छ ।

यस्तै, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुऱ्याउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दालाई आग्रह गरेको छ । 

यसअघि आयोगसहित नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र गैरसरकारी संस्था महासंघको सहकार्यमा गठित जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो । 

रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विकसहित युवाहरूको समूहमाथि गाउँलेले आक्रमण गरेका थिए । 

गाउँलेबाट लखेटिएका १८ मध्ये नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर र सन्जु विक गरी पाँचजनाको शव भेरी नदीमा भेटिएको थियो भने  गोविन्द शाहीको अवस्था अझै अज्ञात रहेको छ । 

घटनामा कुटपिटबाट घाइते ११ जनालाई परिवारको जिम्मा लगाइसकिएको छ । 

प्रहरीले कुटपिटमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । थप दुई आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।