मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १८ आइतबार ०६:३९:००
Read Time : > 1 मिनेट
सप्तरंग

गायक बज्राचार्यको चेतनामूलक कोरोना गीत

Read Time : > 1 मिनेट
२०७७ जेठ १८ आइतबार ०६:३९:००

अस्ट्रेलियाको सांगीतिक टुरबाट गायक दीपक बज्राचार्य र ‘दी रिदम’ ब्यान्डका सदस्यहरू ५ चैतमा काठमाडौं फर्किँदा यहाँ पनि कोरोना भाइरसको त्रास सुरु भइसकेको थियो । लकडाउन भने उनीहरू आएको ६ दिनपछि ११ चैतमा मात्र सुरु भयो ।

गीतमा लाखे, झाँक्रीजस्ता नेपाली समाजका परम्परागत मानकहरू देखाइएका छन् । ती सबैले कोरोना संक्रमणबाट बच्न नियमित हात धुन आग्रह गर्छन् दर्शकलाई ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर बज्राचार्य र ब्यान्डका सदस्यहरू सीधै ललितपुर एकान्तकुनाबाट १० किलोमिटर टाढा रहेको ‘मेरो घर’ नामक होमस्टेमा पुगे, जहाँ उनीहरूले १४ दिन सेल्फ क्वारेन्टाइनमा बिताए ।

क्वारेन्टाइनमा बसुन्जेल उनीहरूको समूहले ‘फेसबुक लाइभ’मार्फत आफ्नो प्रस्तुति दिइरहे । क्वारेन्टाइनमै छँदा ‘म्युजिकल मेडिसिन’ नाम दिइएको लाइभ प्रस्तुतिलाई त्यसपछि पनि निरन्तरता दिए, जुन एक महिनासम्म चल्यो । र, त्यसलाई अहिले बज्राचार्यले छोरी चेरिसासँग मिलेर निरन्तरता दिएका छन् ।

क्वारेन्टाइनमा बसेकै वेला ‘दी रिदम’ ब्यान्डले ‘लकडाउन उफ’ बोलको गीत सार्वजनिक गरेको थियो- ‘जहाँ जाऊँ जता जाऊँ शून्यताको आभास, जे गरेनी जे छोएनी कोरोनाको त्रास’ ।

त्यहीवेला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)बाट प्रस्ताव आएको थियो, ‘कोरोना गीत’को । र, शुक्रबार युट्युबबाट गीत सार्वजनिक गर्दै बज्राचार्यले त्यही प्रस्तावलाई मूर्तरूप दिएका छन्-

टाढा बसेरै साथ दिनु बरु
साथ दिनु हात नमिलाइदिनु
यो क्षणमा
जोसुकैलाई हुन सक्ने रोग यो
गरिब, धनी र धर्म हेरेर लाग्दैन यो
भिडभाड नगरौँ, गलत कुरा नसुनौँ
सबै मिलरै हटाऊँ
कोरोना

गीतमा दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यको स्वर छ । म्युजिक कम्पोजिसन दीपकको छ भने भिडियो कन्सेप्ट चेरिसाको छ । संयोजन प्रकाश माथेमा, भिडियो निर्देशन र ड्रम रिकी शाक्य, बास गितार बिकी शाक्य र लिड गितारमा रोजन शाक्य छन् ।

यो गीत युनिसेफले दक्षिण एसियाका आठवटै मुलुकमा तयार पार्दै छ । यसको अंग्रेजी भर्सन गायक दीपक बज्राचार्यकी छोरी चेरिसाले गाएकी छिन्, जुन एक सातापछि रिलिज हुँदै छ ।

खासमा, बज्राचार्यले क्वारेन्टाइनमा बसेर गरिरहेको लाइभ प्रस्तुतिले युनिसेफको काठमाडौंस्थित दक्षिण एसिया क्षेत्रीय अधिकारी लैला सादको ध्यान तानेको थियो । र, उनी आफैँ होमस्टेमा पुगेर ‘कोरोना गीत’का लागि प्रस्ताव गरेकी थिइन् । उनले त्यहाँ पुग्नुअघि नै बज्राचार्यको गीत ‘मन मगन’ हेरिकी थिइन् । र, ‘मन मगन’कै शैलीमा नेपाली मौलिक गीत तयार पार्न उनलाई आग्रह गरेकी थिइन् ।

त्यसैले, उनले म्युजिक भिडियोमा लाखे, झाँक्रीजस्ता नेपाली समाजका परम्परागत मानकहरू देखाएका छन् । ती सबैले कोरोना संक्रमणबाट बच्न नियमित हात धुन आग्रह गर्छन् दर्शकलाई । यो गीत युनिसेफले दक्षिण एसियाका आठवटै मुलुकमा तयार पार्दै छ । यसको अंग्रेजी भर्सन चेरिसाले गाएकी छिन्, जुन एक सातापछि रिलिज हुने बज्राचार्य बताउँछन् ।

उनका अनुसार युनिसेफले दिएको परिधिभित्र रहेर सन्देशमूलक गीत तयार पार्न सहज थिएन । तथापि, क्वारेन्टाइनमा दिनरात सँगै रहेकाले ब्यान्डका सबै सदस्य जुटेर गीत तयार पारे । गीतमा शब्दको श्रेय उनी ड्रमर रिक्की शाक्यलाई दिन्छन् ।

सन् १९९९ मै बज्राचार्यले ललितपुर इमाडोलस्थित घरमा स्टुडियो बनाएका थिए । त्यसैले, गीत रेकर्ड गर्न लकडाउनले छेकेन उनीहरूलाई । र, म्युजिक भिडियो तयार पार्न पनि युनिसेफको सहयोग भएकाले उनीहरूले धेरै सास्ती खेप्नु परेन ।