Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १७ शनिबार १८:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

महँगो शुल्क लिएर कमाउने विश्वविद्यालयको कर्मचारीमाथि ज्यादती, डाक्टर र नर्सकै तलब ७५ प्रतिशतसम्म कटौती

Read Time : > 1 मिनेट
२०७७ जेठ १७ शनिबार १८:४२:००

काठमाडौं विश्वविद्यालय (केयू)ले कोरोना महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गरिरहेका स्कुल अफ मेडिकल साइन्सका डाक्टर र नर्सहरूको तलब–भत्ता ७५ प्रतिशतसम्म कटौती गरेको छ । विश्वविद्यालयको निर्णयविरुद्ध डाक्टर–नर्सहरूले पिपिई लगाएरै सडकमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

केयू अहिलेको सबैभन्दा महँगो विश्वविद्यालय हो । विद्यार्थीबाट महँगो शुल्क लिएर कमाउने, तर अप्ठ्यारो वेला फ्रन्टलाइनमै खटिएर काम गरेका कर्मचारीको तलब कटौती गरेर विश्वविद्यालयले अन्याय गरेको पीडितहरूले बताएका छन् । लकडाउनको समयमा धुलिखेल हस्पिटलमा खटिएका डाक्टर–नर्स तथा अनलाइनबाट कक्षा लिइरहेका प्राध्यापकहरूको समेत तलब कटौती गरिएको छ । 

‘२५ प्रतिशत मात्र तलब दिएर अन्याय गरिएको छ,’ स्कुल अफ मेडिकल साइन्सका प्राध्यापक तथा केयूको शिक्षक कल्याण परिषद्का अध्यक्ष प्रा.डा. मनोज हुमागाईंले भने । विश्वविद्यालयको निर्णयमा सबै कर्मचारीको आपत्ति रहेको उनले बताए । 

विश्वविद्यालयको निर्णयविरुद्धमा डाक्टरहरूले नेपाल मेडिकल एसोसिएसनमा मौखिक उजुरी गरिसकेका छन् । बुधबार लिखित उजुरी गर्ने उनीहरूले बताएका छन् । पूर्वसूचनाविना र सरकारको निर्णयविपरीत हुने गरी तलब कटौती गरिएको पीडितहरूको भनाइ छ । सरकारले गत वैशाखमा लकडाउनको समयलाई सार्वजनिक बिदा मानेर सेवा–सुविधा दिने निर्णय गरेको थियो । 

केयू प्राध्यापक संघका महासचिव डा. विकास अधिकारीले नियमित काम गरिरहेका प्राध्यापक, डाक्टर र नर्सको तलब कटौती गरिनु गलत भएको बताए । अधिकांश कर्मचारीलाई घर–व्यवहार चलाउनसमेत अप्ठ्यारो परेको उनले बताए । ‘फ्रन्टलाइनमा काम गरिरहेका प्राध्यापक–कर्मचारीलाई थप प्रोत्साहन गर्नुपर्नेमा कटौती गर्दा सबैलाई दुःखी बनाएको छ । धेरैलाई घर–व्यवहार चलाउनसमेत समस्या भएको छ,’ डा. अधिकारीले भने । 

विश्वविद्यालयले भने लकडाउनमा काम गरिरहेका सबै कर्मचारीलाई तलब–भत्ता दिएको दाबी गरेको छ । स्कुल अफ मेडिकल साइन्सका प्रशासन अधिकृत दिपक दाहालले इमर्जेन्सी र कोरोना भाइरससम्बन्धी फ्रन्टलाइनमा काम गर्ने सबै कर्मचारीको पूरै तलब–भत्ता भुक्तानी गरेको बताए । तर, काम नगरेकालाई बेसिक तलब र ग्रेड भुक्तानी मात्रै गरिएको उनले बताए । विश्वविद्यालयले नियमित काम गर्ने र काममा नखटिएकालाई छुट्याएको उनको भनाइ छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. सुबोध शर्माले कोरोनाको जोखिमबाट जोगिन आपत्कालीन कोषमार्फत सुरक्षा सामग्री किन्न चैतमा पाँचदेखि २५ प्रतिशत तलब काटिएको बताए । केन्द्रको कोभिड मूल कोषबाट रकम आएपछि चैतमा काटिएको रकम फिर्ता गरिने उनले बताए । वैशाखमा भने काममा खटिएकालाई भत्तासहित दिइएको र काम नगरेकालाई तलब मात्र दिएको उनको भनाइ छ ।