मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १७ शनिबार १५:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रीकाे चेतावनीयुक्त निर्देशनपछि २७ संक्रमित बिपीमा भर्ना

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १५:०२:००

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको चेतावनीयुक्त निर्देशनपछि मात्र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले झापाका २७ जना कोरोना संक्रमितलाई भर्ना लिएको छ ।

झापाको कचनकवलबाट शुक्रबार साँझ नै उपचारका लागि ल्याइएका २७ जना कोरोना संक्रमित प्रतिष्ठान संघीय सरकारमातहत रहेको र भर्ना गराउने निर्देशन नभएको भन्दै बिपीले भर्ना नलिएपछि रातभर बाहिरै बस्नुपरेको थियो ।

कोरोना संक्रमितको उपचारका लागि भनेर एक सय ५० बेडको अस्पताल अलग्गै तयार भएको जानकारी पाएपछि झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २७ संक्रमितलाई उपचारका लागि बिपीमा पठाएको थियो ।

संक्रमितहरू भर्ना नपाएर अलपत्र परेको जानकारी पाएपछि मन्त्री घिमिरे शनिबार बिहान आफैँ प्रतिष्ठान पुगेका थिए । उनले सबै संक्रमितलाई तत्काल भर्ना नगरे कारबाहीका लागि सिफारिस गर्न बाध्य हुने भन्दै चेतावनीसहित निर्देशन दिएपछि मात्र बिपीले उनीहरूलाई भर्ना लिएको हो ।

संक्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कर्मचारीहरूलाई मन्त्री घिमिरेले यस्तो क्रियाकलाप दोहोरिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएको उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि उपकुलपति गिरीले प्रदेश सरकारसँगको सहकार्यमा ल्याब स्थापना भएपछि बिपीको कोभिड उपचार केन्द्रमा एक सय ५० बेड तयारी अवस्थामा रहेको आमसञ्चारमाध्यममार्फत जानकारी गराएका थिए । तर, संक्रमितहरू आएपछि लक्षण देखिएका सिकिस्त बिरामीलाई मात्र भर्ना गर्न निर्देशन भएको भन्दै बिपी प्रशासनले संक्रमितलाई भर्ना लिन मानेको थिएन ।

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक सय ५८ पुगेको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ३४ जना र धरानस्थित बिपी प्रतिष्ठानमा  ९४ जना उपचाररत छन् । ३० जना संक्रमित भने निको भएर पनि डिस्चार्ज भइसकेका छन् ।