१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवलाल बसेल
२०७७ जेठ १७ शनिबार १४:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

लकडाउनमा इन्टरनेटको प्रयोग र समयको सदुपयोग

Read Time : > 2 मिनेट
शिवलाल बसेल
२०७७ जेठ १७ शनिबार १४:१९:००

आज सम्पूर्ण विश्व कोरोना भाइरस प्रकोप (कोभिड १९)का कारण आक्रान्त छ । यसको विस्तार रोक्न धेरै स्थानमा लकडाउन लागू गरिएको छ । विश्वका अधिकांश उद्योग, शैक्षिक संघसंस्था, कार्यालय, यातायात, पर्यटनलगायतका सबै आर्थिक क्षेत्र बन्द छन् । यस क्षेत्रमा कार्यरत जनशक्ति फुर्सदिला भएका छन् । अहिले मानिस अत्यधिक समय अनलाइनमा भुलिरहेका छन् । इन्टरनेटमा चल्ने अनलाइन गेम, फेसबुक, युट्युब, टिकटक, ट्विटरजस्ता माध्यमले मानिसलाई दिन कटाउन सजिलो बनाइरहेको छ । विश्वको कुल इन्टरनेट प्रयोगकर्तामध्ये एसिया महादेशमा मात्र ५०.३ प्रतिशत रहेका छन् भने बाँकी विश्वमा ४९.७ प्रतिशत रहेका छन् ।

आज इन्टरनेटले विश्वलाई एक गाउँमा रूपान्तरित गरेको छ भने विश्वव्यापीकरण र उदारीकरणजस्ता अर्थव्यवस्था विस्तार र मजबुत हुँदै गइरहेका छन् । यसले मानिसको जनजीवनमा आमूल परिवर्तनसमेत भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ०६२ माघ महिनाको एमआइएस रिपोर्टअनुसार नेपालको इन्टरनेट जनघनत्व ०.९४ प्रतिशत मात्र रहेको थियो । ०७६ पुससम्म आइपुग्दा नेपालको इन्टरनेट जनघनत्व ७२.१६ प्रतिशत पुगेको छ । यो उल्लेखनीय वृद्धि हो । नेपालमा इन्टरनेटको प्रयोग सामाजिक सञ्जाल प्रयोग गर्न, परिवारदेखि टाढा रहेका परिवारका सदस्यसँग भलाकुसारी गर्न, खानेपानी, सञ्चारजस्ता सेवाको बिल भुक्तानी गर्न भइरहेको छ । त्यसअतिरिक्त अनलाइन शिक्षा, ई–कमर्स प्रयोजन र सम्बन्ध स्थापित गर्न, नेटटिभी प्रयोगलगायत कार्यमा पनि इन्टरनेटको प्रयोग भएको पाइन्छ । 

सर्वेक्षणमा नेपालमा इन्टरनेटको उपयोग बौद्धिकता विकास र प्रयोगभन्दा पनि सामाजिक सञ्जालका लागि भइरहेको देखिन्छ । 
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार लकडाउनअघि नेपालमा कुल तीन सय ३४ जिबिपिएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको थियो । अहिले त्यस अंकमा ८४ जिबिपिएसले वृद्धि भएर चार सय १८ जिबिपिएस पुगेको छ । सामान्य अवस्थामा नेपालमा लोकल ब्यान्डविथ कुल ११ सय ४२ जिबिपिएस खपत हुने गरेकोमा लकडाउन लागू भएपछि चार सय एक जिबिपिएसले बढेर १५ सय ५३ जिबिपिएस पुगेको छ । सबैभन्दा धेरै (५५ प्रतिशत) खपत वृद्धि नेटटिभी, गुगल क्यासमा मात्र खपत वृद्धि (१६ प्रतिशत), फेसबुक क्यास वृद्धि (२२ प्रतिशत) भएको छ । यस तथ्यांकअनुसार नेपालको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत वृद्धिदर २५ प्रतिशत, लोकल ब्यान्डविथ वृद्धिदर झन्डै ३५ प्रतिशत रहेको देखिन्छ । इन्टरनेटको खपत अस्वाभाविक रूपमा वृद्धि हु“दा दूरसञ्चारका पूर्वाधारमा चाप बढेर सेवा अवरुद्धसमेत हुन सक्छ भने सेवाको गुणस्तरमा समेत ह्रास आउने सम्भावना हुन्छ ।

घरभित्रै थुनिइरहनुपरेको वर्तमान परिस्थितिमा बालबच्चाले सम्पूर्ण समय अनलाइनमा रहदाँ तिनको सिर्जनशीलतामा असर पर्न सक्छ, बालबालिकालाई तिनको रुचिअनुसारका रचनात्मक कार्यमा संंलग्न गराउने हो भने तिनको बौद्धिकतालाई फाइदा गर्छ ।

घरभित्रै थुनिइरहनुपरेको विषम परिस्थितिमा बालबच्चा नेटटिभी र अनलाइन गेममा झुम्मिरहेका पाइन्छन् । यसले बालबच्चाको सिर्जनशीलतामा असर पर्न सक्छ । अभिभावक यस कुरामा सतर्क हुनुपर्छ । बालबच्चाले फुर्सदको समय इन्टरनेटमा मात्र बिताउनु हुँदैन । तिनले आ–आफ्नो रुचिअनुसारका रचनात्मक कार्यमा संंलग्न हुँदा तिनको बौद्धिकतालाई फाइदा गर्छ । घरमै बालबालिकालाई नृत्य, गायन, वाद्यवादन, चित्रकला, लेखनसीप, अनलाइन अध्ययनजस्ता क्रियाकलापमा संलग्न गराउन सक्छौँ । बालबालिकालाई सामाजिक संस्कार सिकाउने वेला पनि यही हो । यी कुराबाट मानसिक विकास हुनुका साथै शारीरिक र मानसिक विकासमा समेत फाइदा पुग्छ । यस समयमा सामाजिक सञ्जालको प्रयोग सबै उमेरसमूहले गरिरहेको छ । युवावर्गमाझ सामाजिक सञ्जाल निकै लोकप्रिय रहेको पाइन्छ । 

सामाजिक सञ्जालको प्रयोग साथीभाइ र आफन्तसँग कुराकानी गर्ने, फोटो सेयर गर्ने, मनोरञ्जनात्मक भिडिओ निर्माण गर्नका लागि मात्र होइन, नकारात्मक कामकुरामा पनि भइरहेको छ । यौनजन्य अश्लील सामग्री उत्पादन तथा प्रसारण गर्ने, महिलालाई जिस्काएर हैरान गर्ने, अरूलाई गाली गर्ने र झुटा समाचार फैलाउनेजस्ता कार्यमा प्रयोग भइरहेको छ । यसले सक्रिय जनशक्तिको ऊर्जाशील समय यतिकै बर्बाद भइरहेको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लागाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । साथीभाइको लहैलहैमा यस्ता कार्य गर्दा कानुनी कारबाहीको भागीदारसमेत बन्नुपर्दछ भन्ने कुराको हेक्कासमेत राख्नुपर्ने देखिन्छ । लकडाउनको फुर्सदको समय योग, ध्यान, साधना गर्ने, परिवारका सदस्यसँग रमाउने, रचनात्मक कार्यमा सहभागी हुनु बुद्धिमता हुन्छ । 
 

(बसेल नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक हुन्)