गुल्मीको अर्जेका ४९ वर्षीय यमबहादुर विकले क्वारेन्टाइनको बसाइलाई उपलब्धिमूलक बनाउन दैनिक दुईवटा डोको बुन्न थालेका छन् ।
गत ११ जेठमा भारतबाट आएका उनीसहित १० जनालाई वडा कार्यालयले अर्जे माविको क्वारेन्टाइनमा राखेको छ । कम्तीमा दुई साता क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि उनले डोको बनाउने विचार गरे र वडा कार्यालयले बाँस उपलब्ध गराएपछि उनले डोको बुन्न थालेका हुन् ।
बिहानदेखि बेलुकीसम्ममा उनले दुईवटा डोको बुन्ने गरेका छन् । ‘त्यत्तिकै बस्दा मनमा अनेक सोच आउने रहेछन्,’ उनले भने, ‘क्वारेन्टाइनमै खाने–बस्ने व्यवस्थासहित डोको बुन्न पाउँदा एकदमै खुसी छु ।’ डोको बुन्दा आम्दानी पनि हुने भएपछि उनले क्वारेन्टाइनमै रहेका भतिज सुवास विकलाई पनि डोको बुन्न सिकाइरहेका छन् । गाउँमा एउटा डोकाको मूल्य साढे दुई सयदेखि तीन सय रुपैयाँ रहेको छ ।
विक भारतमा होटेलको काम गर्थेे । कोरोना संक्रमणका कारण होटेल बन्द भएपछि करिब दुई महिना त्यत्तिकै खाली बसे । कामको टुंगो नभएपछि गाउँ फर्किएका उनी अहिले क्वारेन्टाइनमा छन् । जिल्लामा भारतबाट आएका करिब २५ सयजना क्वारेन्टाइनमा छन् ।