मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १७ शनिबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार

जुम्लामा निजी सवारीसाधन भाडामा लिएर तयार गरियाे कोरोनाका बिरामी बोक्ने एम्बुलेन्स

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १२:०९:००

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र र स्थानीय तहको आर्थिक सहयोगमा जुम्लामा कोरोना भाइरस संक्रमित बिरामी बोक्न एम्बुलेन्स तयार गरिएको छ।
 
निजी सवारीसाधन भाडामा लिएर कोरोना संक्रमित बोक्ने उद्देश्यले एम्बुलेन्स तयार गरिएको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। ‘स्थानीय राजनीतिक दल, नेपाली सेनासहितको सहयोगमा कोभिडका बिरामी बोक्ने एम्बुलेन्स तयार गरेका हौँ,’ उनले भने।

नयाँ तयार गरिएको एम्बुलेन्सलाई कोरोना संक्रमित बिरामी बोक्नका लागि मात्र प्रयोग गरिने उनले बताए। जिल्ला प्रशासन कार्यालय जुम्ला तथा कोभिड संकट व्यवस्थापन केन्द्रको निगरानीमा एम्बुलेन्स सञ्चालन हुनेछ।

कतै संक्रमित फेला परेको जानकारी प्राप्त भएपछि एम्बुलेन्समा राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा लगिनेछ। 

यसैबीच लकडाउन अवधिभर १२ हजार ८२ जना नागरिक जुम्ला भित्रिएका छन्। हाल जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा दुई सय २४ जना बसेका छन् भने १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किनेको संख्या एक हजार दुई सय ७३ छ।

जुम्लामा हालसम्म एक हजार ६ सय आठजनाको पिसिआर र दुई सय ७२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्थानीय प्रशासनले जनाएको छ।