१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनिराज गुरुङ काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १७:३५:००
Read Time : > 3 मिनेट
फिचर

पर्यटनमा कोरोना प्रभाव : सगरमाथामा शून्य पर्यटक

Read Time : > 3 मिनेट
मनिराज गुरुङ काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १७:३५:००

आज २९ मे पर्वतारोहण पर्यटनको विशेष दिन । विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको दिन । सन् १९५३ मा आजकै दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेर इतिहास रचेका थिए । हुन त त्यसअघि पनि सगरमाथा आरोहणको प्रयास पटक–पटक हुँदै आएको थियो, तर सफलता प्राप्त हुन सकेको थिएन । त्यो पहिलो सफल आरोहणयता बर्सेनि सगरमाथा आरोहण गर्न चाहने र सफलता प्राप्त गर्नेको ग्राफ उकालो लाग्दै आएको छ ।

सन् २०१५ को २५ अप्रिलमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गयो । नेपालमा मार्चको अन्तिमबाट पर्वतारोहण पर्यटन सुरु हुन्छ र यो मेको अन्तिमसम्म चल्छ । भूकम्प गएको समयमा सयौँ पर्वतारोही तथा उनीहरूका सहयोगी सगरमाथा आधार शिविरमा थिए । केहीले आरोहण प्रयास पनि गरिरहेका थिए, तर गोरखा भूकम्प र निरन्तरको पराकम्पका कारण सगरमाथा मात्र नभई सबै हिमाल आरोहण रोकियो । सन् २०१५ नेपाली पर्वतारोहण पर्यटनको कालो वर्ष बन्यो ।

आठ हजार मिटरभन्दा अग्ला विश्वका चौधवटा हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित आठवटा नेपालमा छन् । ती आठवटै हिमाल विश्वभरका पर्वतारोहीका लागि मुख्य आकर्षण हुन् । त्यसबाहेक पनि नेपालमा धेरै हिमाल छन्, जसले पर्वतारोहण पर्यटनमा ठूलो टेवा पुर्‍याउँदै आएको छ । त्यस्तै नेपालको जातीय, सांस्कृतिक विविधता पनि पर्यटकका लागि उत्तिकै रुचिको विषय बनेको छ । त्यसैले नेपालमा बर्सेनि पर्यटन उद्योगको विकास र विस्तार भइरहेको छ । र, सरकारले पनि पर्यटन विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

सन् १९९८ मा नेपालमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले पहिलोपटक ‘नेपाल भ्रमण वर्ष’ आयोजना गरेको थियो । त्यसपछिका दिनमा पनि सरकारले पर्यटन प्रवर्द्धन गर्न विभिन्नखाले कार्यक्रम सञ्चालन गर्दै आएको थियो । त्यही क्रममा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल–२०२०’ मनाउने घोषणा गरेको थियो । तर, गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण विश्वभर फैलिएर महामारीको रूप लिएपछि पूरै विश्व नै लकडाउनमा गयो । जसको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ ।

सगरमाथा आरोहणमा बर्सेनि नयाँ–नयाँ रेकर्ड बन्ने गरेका छन् । सबैभन्दा छिटो आरोहण, शिखरमा सबैभन्दा लामो समय बस्ने, एकै सिजनमा धेरैपटक आरोहण गर्ने, कान्छो आरोही, सबैभन्दा वृद्ध आरोही अनेक–अनेक रेकर्ड बन्छन् र बनेका पनि छन् । यस वर्ष पनि केही नयाँ रेकर्ड बन्न सक्थ्यो होला । तर, कोरोना संक्रमणका कारण सगरमाथामा बनेका नयाँ रेकर्डका कुनै समाचार यस वर्षको यो सिजनमा आउन सम्भव भएन ।

पर्वतारोहण पर्यटनको कुरा गर्दा नेपालमा दुई सिजन हुन्छ, अटम र स्प्रिङ । त्यसमा पनि अक्टोबर–नोभेम्बरको अटम सिजनभन्दा मार्च अन्तिमदेखि मेसम्मको स्प्रिङ सिजन तुलनात्मक रूपमा बढी पर्यटक आउने सिजन हो । अटमभन्दा स्प्रिङ सिजन लामो हुन्छ र सगरमाथालगायतका हिमाल आरोहण पनि तुलनात्मक रूपमा सहज हुन्छ । त्यसैले स्प्रिङ सिजनलाई एक्स्पिडिसन (हिमाल आरोहण)का खास सिजन मानिन्छ । तर, यो स्प्रिङ सिजनमा एक्स्पिडिसन मात्र होइन, पर्यटनका अन्य गतिविधि पनि लगभग शून्य रह्यो ।

सगरमाथा दिवस कार्यक्रम औपचारिकतामा सीमित
विगत १३ वर्षदेखि हरेक वर्ष सगरमाथा आरोहणमा सफलता प्राप्त भएको आजको दिनलाई सगरमाथा दिवसका रूपमा भव्य रूपले मनाइँदै आएको छ । सगरमाथा आरोहीहरूलाई सम्मान, पुरस्कार वितरणलगायतका कार्यक्रम गरिँदै आएको छ । तर, यस वर्ष भने सगरमाथा दिवस पनि औपचारिकतामा सीमित गरियो । नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार पर्यटनमन्त्री योगेश भट्टराईको आतिथ्यमा पर्यटन मन्त्रालयमा पर्यटन सम्बद्ध सीमित संघ–संस्थाका केही प्रतिनिधि सहभागी भएर कार्यक्रम सम्पन्न भयो ।

यस वर्षदेखि सगरमाथा दिवसकै दिन पारेर तेन्जिङ नोर्गे शेर्पाको जन्मजयन्ती पनि मनाउने कार्यक्रम थियो । त्यस्तै नेपाल सरकारको समन्वयमा नेपाल पर्वतारोहण संघले तयार पारेको चार सय १४ वटा पिक प्रोफाइलको वेबसाइट पनि लन्च गर्ने कार्यक्रम थियो । त्यस्तै सम्मान, पुरस्कार कार्यक्रम पनि थियो । तर, ती सबै रोकिए । आगामी २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारेर ती कार्यक्रम गर्ने गरी रोकिएको उनले बताए ।

एनएमएका महासचिव गुरुङ कोरोना संक्रमणका कारण उत्पन्न यो परिस्थितिलाई अकल्पनीय भन्न चाहन्छन् । सन् २०१५ मा भूकम्पका कारण पर्वतारोहण पर्यटनमा केही समस्या आयो । तर, त्यो समस्या नेपालको मात्र थियो । विश्वभरका पर्वतारोहण पर्यटनमा लागेका तथा शुभेच्छुकले सहयोग गरे । त्यसैले पर्यटन पुरानै अवस्थामा फर्कन समय लागेन । तर, यसपटक कोरोनाले विश्वभर नै समस्या उत्पन्न भएको छ । त्यसैले यसको असर लामो समय रहने उनको अनुमान छ । आजको कार्यक्रममा संघले पर्वतारोहीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हिमाल आरोहणबाट प्राप्त रोयल्टीको एक प्रतिशत आरोही कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  

आगामी अटम सिजनको आस छ, तर भरोसा छैन
दाजुभाइले नै सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेको विश्वरेकर्ड कायम गर्न सफल मिंमा शेर्पा सबैभन्दा बढी एक्स्पिडिसन ग्रुप चलाउने पर्यटन व्यवसायीमा पर्छन् । उनले सञ्चालन गरेको ‘सेभेन समिट ट्रेकिङ’बाट केही वर्षयता बर्सेनि सयभन्दा बढी सगरमाथा आरोहणमा जाने गरेका छन् भने सबै हिमालमा गरी पाँच सयभन्दा बढीले आरोहण प्रयास तथा सफलता प्राप्त गर्ने गरेका छन् ।

गत वर्षको स्प्रिङमा सेभेन समिटले चार सयजना जतिलाई विभिन्न हिमाल आरोहण गराएको थियो । त्यसमा सयजना जतिले त सगरमाथामै पाइला टेकेका थिए । सेभेन समिटमा यो वर्ष स्प्रिङ सिजनको बुकिङ अहिलेसम्मकै उच्च थियो । एक सय १० जनाले सगरमाथा र करिब साढे चार सयजनाले अन्य हिमाल आरोहणको बुकिङ गरेका थिए । तर, ट्रेकिङको सिजन सुरु हुँदै गर्दा विश्व कोरोना संक्रमणको महामारीमा फस्दै गयो ।

चीनमा वुहानमा डिसेम्बर अन्तिममा देखिएको कोरोना संक्रमण युरोप अमेरिका हुँदै विश्वभर फैलियो । सेभन समिटमा बुकिङ गराएका मात्र नभई अन्यले पनि एकपछि अर्को गर्दै बुकिङ रद्द गर्न थाले । सुरुवाती दिनमा कोरोनाले यति ठूलो रूप लिन्छ होला भन्ने मिंमा मात्र होइन, कसैले पनि सोचेका थिएनन् । त्यसैले नेपाल सरकारले पनि ‘भिजिट नेपाल–२०२०’ सुरुमा रद्द गरेको थिएन । तर, कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि सबै बन्द भयो ।

स्प्रिङ सिजन त त्यसै गयो । अब आउने अटम सिजन पनि के हुन्छ ? अहिले यसै भन्न सकिने अवस्था छैन । यद्यपि मिंमा केही आशावादी भने छन् । सगरमाथा तथा अन्य उच्च शिखर आरोहणमा अहिले चिनियाँहरू बढी आउन थालेका छन् । र, चीनमा कोरोना लगभग नियन्त्रणमा आएको छ । तर, छिमेकी मुलुक भारत र नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलँदै छ । उता युरोप र अमेरिकामा पनि खासै नियन्त्रणमा आउन सकेको छैन । आगामी अटममा सेभेन समिटमा डेढ सयजति बुकिङ छ । तर, कोरोना नियन्त्रण भएन भने उनीहरू आउँदैनन् । मिंमा भन्छन्, ‘चिनियाँ टोली बढी भएकाले आशा हो तर भरोसा छैन ।’