१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार ०८:१७:००
Read Time : > 1 मिनेट
अर्थ

आगामी वर्ष भूकम्पले क्षतिगस्त संरचनाको पुनर्निर्माण पूरा हुने

पुनर्निर्माणका लागि ५५ अर्ब विनियोजन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १६ शुक्रबार ०८:१७:००

सरकारले भूकम्पपछिको पुनर्निर्माणका सम्पूर्ण काम आगामी आर्थिक वर्षभित्र पूरा गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र पुनर्निर्माणका सम्पूर्ण काम पूरा गर्न ५५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधिसमेत आगामी वर्ष सकिँदै छ । तर, लकडाउनका कारण पुनर्निर्माणका काम भने रोकिएका छन् । अर्थमन्त्री खतिवडाले लकडाउनका वेलासमेत विशेष महत्वका ऐतिहासिक सम्पदाहरू जस्तैः धरहरा, रानीपोखरी र सिंहदरबार मूल भवनजस्ता पुनर्निर्माणका ठूला योजनाको काम सुचारु रहेकाले आगामी वर्ष निर्माण सम्पन्न हुने बताए । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, स्वास्थ्य संस्था, सम्पदा क्षेत्र, सरकारी भवन, विद्यालय पूर्वाधारलगायत संरचना पुनर्निर्माणका बाँकी काम पूरा गर्न ५५ अर्ब रुपैयाँ विनियोजन गरेको हो । 

सरकारले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणको बाँकी कार्य सम्पन्न गर्न सम्बन्धित स्थानीय तहसँगको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ । चालू आवको बजेटमै सरकारले यही वर्ष पुनर्निर्माणका काम पूरा गर्ने भन्दै एक खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि कुल ६ खर्ब ३० अर्ब रुपैयाँ आवश्यक पर्ने पूर्वानुमान छ । यसअघि नौ खर्ब ३४ अर्बको अनुमान गरिएकोमा पञ्चवर्षीय पुनर्निर्माण तथा  पुनर्स्थापना योजनाले संशोधित बजेट आवश्यकता ६ खर्ब ३० अर्ब रुपैयाँ तोकेको थियो । पुनर्निर्माणका काममा प्राधिकरणले अहिलेसम्म पौने चार खर्ब रुपैयाँ खर्च गरेको छ भने गैरसरकारी संघसंस्थाले ७२ अर्ब रुपैयाँ खर्च गरेका छन् । 

क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुनर्निर्माण सकियो

प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माणको काम ४० प्रतिशत र रानीपोखरीको पुनर्निर्माणको ७० प्रतिशत पूरा भएको छ । निजी आवासतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा ६८ प्रतिशत र सरकारी भवनतर्फ ८४ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणको दाबी छ । निजी आवासतर्फ कुल लाभग्राही आठ लाख २७ हजार एक सय १२ जना भूकम्पपीडितको पहिचान गरी चार लाख ९७ हजार दुई सय १० वटा घर निर्माण गरिएका छन् । अब ६ लाख ९२ हजार दुई सय ६५ घर निर्माण भइरहेका छन् । 

क्षतिग्रस्त सात सय ५३ पुरातात्विक सम्पदामध्ये चार सय दुईवटाको पुनर्निर्माण सकिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म तीन सय ४९ वटा सरकारी भवन बनेका छन् भने पाँच हजार पाँच सय ९८ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । यस्तै, ६ सय ६९ वटा स्वास्थ्य संस्था र एक सय ९४ वटा सुरक्षा निकायका भवनको पुनर्निर्माण भएको छ । ०७२ वैशाखमा गएको भूकम्पबाट आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो । २२ हजार तीन सय नौजना घाइते भएका थिए । भूकम्पले सात सय ६ अर्ब रुपैयाँबराबरको भौतिक क्षति पुर्‍याएको थियो ।