Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ १६ शुक्रबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

पर्यटन उत्थानमा केन्द्रित बजेट

Read Time : < 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ १६ शुक्रबार ०६:००:००

कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन उद्योगलाई पुनरुत्थान गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित भएको छ । आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको पूर्वाधारका पुरानै कार्यक्रमलाई जोड दिइएको छ । बजेटमार्फत सरकारले कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटेल, पर्यटनलगायत क्षेत्रलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ ।

एक प्रदेश एक पर्यटकीय गन्तव्य अवधारणा यस वर्ष पनि राखिएको छ । निजी क्षेत्रसमेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनको विकास र प्रवर्द्धन गर्न एक अर्ब २६ करोड बजेट छुट्याइएको छ । हवाई सेवा, होटेल, ट्राभल, रेस्टुरेन्ट, ट्रेकिङ, पर्वतारोहणलगायत सेवा क्षेत्रको पुनरुत्थान गर्न कर, शुल्क, ब्याजलगायत छुट दिइएको छ । 

हवाई क्षेत्रको पुनरुत्थानका लागि सरकारले आन्तरिक हवाई कम्पनीलाई इन्धनमा लाग्दै आएको पूर्वाधार शुल्क हटाएको छ । यसबाट हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेको छ । हवाई पूर्वाधारअन्तर्गत अन्तरप्रदेश हवाई सम्पर्क विस्तार गर्न र अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारका लागि १९ अर्ब ४२ करोड विनियोजन गरिएको छ । यसमा चालू वर्षबाटै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवनलगायत थप पूर्वाधार निर्माण प्रक्रिया सुरु गर्ने उल्लेख छ ।

त्रिभुवन विमानस्थलको स्तरोन्नति, अन्तर्राष्ट्रिय टर्मिनल भवनको स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकम व्यवस्था गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्रभित्रको बस्ती स्थानान्तरण र परिपथ निर्माण गरिने भएको छ ।