मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोमनाथ लामिछाने रासस
२०७७ जेठ १५ बिहीबार ०९:०४:००
Read Time : > 3 मिनेट
विश्व

कोरोना भाइरसबाट अमेरिकामा एक लाखको मृत्यु    

Read Time : > 3 मिनेट
सोमनाथ लामिछाने रासस
२०७७ जेठ १५ बिहीबार ०९:०४:००

चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरसको महामारीबाट संयुक्त राज्य अमेरिकामा एक लाख दुई हजार  एक सय सात मानिसको मृत्यु भएको छ । वर्ल्डाेमिटरका अनुसार  यो संख्या पुगेको हो । विश्वभर यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।     
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलोपटक देखिएको थियो । अमेरिकामा त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो । गत वर्ष सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसले फेब्रुअरीसम्ममा धेरै व्यक्तिको ज्यान लिइसकेको थियो भने जनवरी २२ मा १७ जनाको मृत्यु भएसँगै वुहानमा लकडाउन जारी गरिएको थियो ।     
     
अमेरिकामा भने कोरोना भाइरसबाट फेब्रुअरी २९ मा मात्र पहिलो व्यक्तिको मृत्यु भएको थियो । मार्च र अप्रिल महिनामा अमेरिकामा मृत्युदर अत्यन्त बढी थियो । अप्रिल १५ मा एकैदिन २६ सयको ज्यान गएको थियो । लकडाउन, सामाजिक दूरी र अन्य कडा नियमको कार्यान्वयनका कारण यद्यपि मे १२ देखि मृत्युदरमा सामान्य कमी आएको छ र यो दैनिक एक हजारभन्दा मुनि छ ।     
     
विरोधाभाष त के भने अमेरिकामा पहिलो व्यक्तिको मृत्यु भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस ‘चिनियाँ भाइरस’ले अमेरिकीलाई खासै असर नगर्ने बताएका थिए । अझ वुहानलाई लकडाउनमा राखेर त्यहाँका जनताको मानव अधिकार हनन भएको ट्रम्पको आरोप थियो ।     
     
तर, अमेरिकामा हटस्पटका रूपमा न्युयोर्क राज्य देखियो । त्यहाँ एकै राज्यमा झन्डै ३० हजारको अकालमा ज्यान गइसकेको छ । शव व्यवस्थापन नै चुनौती बनेको यस राज्यको सम्पूर्ण स्वास्थ्य प्रणाली छिन्नभिन्न भएको थियो । खासगरी बुढाबुढी, कमजोर स्वास्थ्य अवस्था रहेका, श्वासप्रश्वास समस्या भएका, मधुमेह, उच्च तनाव, मुटुरोग, मिर्गाैलारोगी, क्यान्सरजस्ता दीर्घरोगीहरू सबैभन्दा बढी पीडित भएका छन् । यही मे १३ सम्म न्युयोर्कका १५ हजार दुई सय ३० जनाका सम्बन्धमा न्युयोर्क सिटी हेल्थले गरेको सर्वेक्षणमा पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका ७५ वर्षभन्दा माथिका व्यक्तिमध्ये पाँच हजार दुई सय ३६ जना, ६५ देखि ७४ वर्ष उमेरका दुई हजार आठ सय एकजना तथा ४५ देखि ६४ वर्ष उमेरका दुई हजार आठ सय ५१ जनाको मृत्यु भएको उल्लेख छ ।     

१७ लाख ४५ हजार आठ सय तीन व्यक्ति कोरोना संक्रमित

अमेरिकामा १७ लाख ४५ हजार आठ सय तीन व्यक्ति कोरोना संक्रमित छन् । स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएकाले अझै पनि दिनहुँ ठूलो संख्यामा संक्रमित भेटिएका छन् । तर, स्वास्थ्य ठूलो कि अर्थतन्त्र ? यी दुई बहसमा अल्झिएका राष्ट्रपति ट्रम्पमाथि मानिसको स्वास्थ्यलाई महत्व नदिएको र अर्थतन्त्रप्रति मात्र ध्यान दिइरहेको भन्दै आलोचना भइरहेको छ । 

मास्कसमेत लगाउन हिच्किचाउने हठी स्वभावका राष्ट्रपति ट्रम्पको ध्यान विश्वकै पहिलो अमेरिकी अर्थतन्त्रलाई कहिले खुला गर्ने भन्नेमै छ । उनी दिनहुँ भन्छन्, ‘अमेरिका बन्द गर्नका लागि होइन, यो खुला छ खुला हुनु पर्छ ।’ एसोसिएटेड प्रेसका अनुसार राष्ट्रपति ट्रम्पले आफूले राम्रोसँग नेतृत्व गरेकै कारण मृत्युसंख्यामा कमी आएको बताएका छन् । तर, कुनै पनि महामारी वा युद्धका कारण यति ठूलो संख्याका अमेरिकीको मृत्यु भएको पहिलोपटक हो ।     
     
ट्रम्पको भनाइप्रति असहमति जनाउने अमेरिकी राज्यका गभर्नरहरूले लकडाउनका नियम एकाएक हटाउन नहुनेमा जोड दिइरहेका छन् । उनीहरूको भनाइमा अमेरिकालाई विस्तारै, क्रमिक रुरूपमा खोल्नुपर्छ । खासमा अमेरिकामा २५ लाखभन्दा बढी मानिस बेरोजगार भइसकेकाले पनि राष्ट्रपति ट्रम्पमाथि दबाब छ ।     
     
यही गाँठोमा अहिले अमेरिकी समाज छ । ट्रम्पकै भनाइलाई ठीक ठान्ने कतिपय कट्टरपन्थीहरू पेसा, व्यवसाय खोल्न माग गर्दै बन्दुकसमेत लिएर सडकमा उत्रिएका दृश्यहरू सञ्चारमाध्यममा आइरहेका छन् । अहिले अमेरिकाका कैयौँ समुद्री तटमा मानिसहरू सामाजिक दूरी र अन्य नियमहरूको बेवास्ता गर्दै स्वतन्त्र रूपमा घुम्न थालिसकेका छन् । उता, युरोपमा कोरोना संक्रमणमा कमी देखिएसँगै उच्च सावधानीका साथ पसल, व्यवसाय, स्कुलहरू खुला गर्न थालिएको छ  ।     
     
कोरोना भाइरसले आर्थिक रूपमा समृद्ध, सुदृढ स्वास्थ्य प्रणाली, उच्च जनचेतना र शिक्षित समुदायको बाक्लो बसोवास रहेका पहिलो विश्वका मुलुकहरूमा धेरैको ज्यान लिइसकेको छ । यही सेरोफेरोमा अमेरिकी अग्रसरता खासगरी राष्ट्रपति ट्रम्पको भनाइमा साथ दिइरहेका विकसित मुलुकहरू र चीनबीच कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर एक प्रकारको वाकयुद्ध नै जारी छ ।

चीनले वुहानस्थित इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भाइरस तयार गरी अन्यत्र फैलाएको र समयमै भाइरसबारे जानकारी नगराएको ट्रम्पको आरोप छ । 

आफ्ना कमजोरी ढाकछोप गर्न राष्ट्रपति ट्रम्पले चीनमाथि आरोप लगाएको चीनले बताइरहेको छ । अधिकांश वैज्ञानिकले वुहानका सडकमा खुलेआम बिक्री गरिने चमेरोसमेतका वन्यजन्तुबाट कोरोना भाइरस मानिसमा सरेको बताइरहेका छन्, तर यसबारे पूरै तथ्य पुष्टि भइसकेको छैन ।     

विश्वभर तीन लाख ५७ हजार चार सय ३२ को मृत्यु, ५७ लाख ९० हजारभन्दा बढी संक्रमित
     
यही रस्साकस्सी र आरोप–प्रत्यारोपबीच विश्वभर तीन लाख ५७ हजार चार सय ३२ को मृत्यु भइसकेको छ भने ५७ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित छन् । अझै पनि ५० हजारभन्दा बढी मानिस गम्भीर अवस्थामा छन् । युरोपेली क्षेत्रका मुलुकमै एक लाख ६९ हजारभन्दा बढीको ज्यान गएको छ । भाइरस प्रसारका नयाँनयाँ हटस्पटहरू जस्तै ब्राजिल, भारतमा संक्रमित र मृतकको संख्या बढ्दै गएकाले मृतकको संख्या अझै बढ्न सक्नेछ ।

अहिले विश्वभर खोप कि उपचार पहिले भन्ने दौड जारी छ । तर, कसैले पनि कोरोना भाइरसको सार्थक उपचार फेला पार्न नसकेको अवस्थामा लकडाउन वा सामाजिक दूरी, परीक्षणहरूको दायरा बढाउने नै अहिलेसम्मका सर्वोत्तम विधि देखिएका छन् । तर, यी विकल्पकै बीच समग्र विश्व ‘कोरोनाकाल अघि’को अवस्थामा कहिले फर्किएला ? विश्वका धनी वा गरिब दुबै किसिमका मुलुकका नागरिक र सरकारहरूको ध्यान यसमै छ ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)