मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रकाश कँडेल काठमाडाैं
२०७७ जेठ १५ बिहीबार ०६:४८:००
Read Time : > 1 मिनेट
खेलकुद

लकडाउन : घाइते खेलाडीलाई स्वास्थ्यलाभको अवसर

Read Time : > 1 मिनेट
प्रकाश कँडेल, काठमाडाैं
२०७७ जेठ १५ बिहीबार ०६:४८:००

एनभिए कप प्रतियोगिताका दौरान १० माघमा भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा मालीको घुँडामा गहिरो चोट लाग्यो । लकडाउनको यो समय उनका लागि चोटका कारण बाहिरिने अवसर बनिदियो ।

‘खेलाडीका लागि चोट साह्रै पीडादायक हुन्छ । त्यसले दिने शारीरिक पीडाभन्दा त्यसबीचमा आयोजना हुने प्रतियोगिताहरूमा खेल्न नपाउँदाको दुःख ज्यादा हुन्छ।’

अहिले उनी घरमै बसेर फिजियोथेरापी गराइरहेकी छिन् । छिट्टै खेलमा फर्किन पाए हुन्थ्यो भन्ने उनलाई नलागेको होइन । तर, चिकित्सकले वर्ष दिनपछि मात्र कोर्टमा फर्किन सल्लाह दिएका छन् । अझै आठ महिना उनले कोर्टमा फर्किन पाउने छैनन् । लकडाउनका कारण करिब डेढ महिना उनले थेरापी पनि गराउन पाइनन् । ‘दुई सातायता भने नियमित थेरापीमा छु,’ उनी भन्छिन्, ‘खेल गुमाउनुको पीडा त छैन, तर खेल्न नपाउँदा अप्ठ्यारो र अनौठो लागिरहेको छ ।’

यस्तै, पर्वतमा आयोजित दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका क्रममा १० फागुनमा सरस्वती चौधरीको दायाँतर्फ गोलीगाँठोमा चोट लाग्यो । उनलाई चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिएका थिए । तर, तीन महिनादेखि उनी आराममै छिन् । भन्छिन्, ‘कोर्टमा फर्किन नपाएकाले चोट पूर्ण रूपमा ठीक भयो कि भएन भन्ने थाहा पाउन सकेकी छैन ।’ उनलाई पहिले आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले भने अभ्यासमा फर्किन पाए हुन्थ्यो भन्ने लागिरहेको छ । लकडाउनपछि पुरानै लयमा फर्किन सक्ने आत्मविश्वास रहेको उनी बताउँछिन् ।

भलिबल खेलाडी नेबिका चौधरी पनि ‘रेस्ट’मा बसेको चार महिना हुन लाग्यो । गत माघ अन्तिम साता काठमाडौंमा सम्पन्न ढोरपाटन महिला भलिबलको अभ्यासका दौरान उनको दायाँ घुँडामुनि चोट लागेको थियो । ‘हिँड्न सक्ने भइसकेकी छु, लकडाउन खुलेलगत्तै अभ्यासमा फर्किन सक्छु भन्ने आत्मविश्वास छ,’ उनी भन्छिन् ।

भलिबल, फुटबल र एथलेटिक्सका ६ जना खेलाडी प्रतियोगिता र अभ्यासका दौरान घाइते भएर घरमै आराम गरिरहेका छन् । उनीहरूका लागि लकडाउन चोटबाट मुक्ति हुने अवसर बनेको छ।

प्रधानमन्त्री कपका दौरान भलिबल खेलाडी विनिता बुढाथोकी पनि २१ फागुनमा घाइते भइन् । उनको दायाँ कुर्कुचाको शल्यक्रिया नै गर्नुप-यो । करिब दुई महिना त उनले अस्पतालमै बिताइन् । दुई सातायता हिँड्न सक्ने भएकी छिन् । तर, चिकित्सकले पूर्ण रूपमा ठीक हुन ६ महिना लाग्न सक्ने बताएका छन् । ‘लकडाउन खुल्ने समयसम्ममा ठीक भइसक्न पाए हुन्थ्योजस्तो लागेको छ,’ उनी भन्छिन् ।

यस्तै, यु-१९ एएफसी कपको तयारीका क्रममा गत पुसमा फुटबल खेलाडी ब्रिजेश चौधरीको कम्मरमुनि दायाँ भागमा चोट लाग्यो, जसकारण उनले लिग खेल्न पाएनन् । लकडाउनयता घरमै फिजियोथेरापी गराइरहेका छन् । ‘खेलाडीका लागि चोट साह्रै पीडादायक हुन्छ,’ उनी भन्छन्, ‘त्यसले दिने शारीरिक पीडाभन्दा त्यसबीचमा आयोजना हुने प्रतियोगितामा खेल्न नपाउँदाको दुःख ज्यादा हुन्छ ।’

एथलेटिक्सकी सन्तोषी श्रेष्ठले ४ फागुनमा काठमाडौं दरबारमार्गमा आयोजित ‘वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता’को उपाधि जितिन् । तर, त्यसक्रममा बायाँ घुँडामुनिको चोट बल्झियो । सन् २०१८ मा जापान जाँदा नै उनको बायाँ घुँडामुनि चोट लागेको थियो । ‘चोटबाट बाहिर निस्किन लकडाउनमा पर्याप्त समय पाएँ,’ उनी भन्छिन्, ‘जतिसक्दो चाँडो ट्र्याकमा फर्किने प्रयासमा छु ।’