बबरमहलस्थित आर्ट काउन्सिलको गेटमा ताल्चा झुन्डिएको छ । लकडाउनअघि प्रदर्शनीमा रमाउने आर्ट ग्यालरी परिसरमा कलाकारहरू चित्रकारिताको शक्तिदेखि व्यावसायिकतासम्मको बहस गर्थे । समय फेरिएको छ । नेपाली चित्रकारहरू डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारको खोजीमा जुटेका छन् अहिले ।
‘नेपालमा क्षमतावान कलाकार छन् । तर, एक्सपोजर नपाउँदा उनीहरू समस्यामा छन्,’ वाटर कलर पेन्टर एनबी गुरुङ भन्छन्, ‘अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीले चित्रकारिताको बजार झनै खुम्चिएको छ ।’ क्यानभासमा कुची चलाएर जीविकोपार्जन गर्ने कलाकार नेपालमा औँलामा गन्न सकिने छन् । नेपालमा राम्रा कलाकारको अभाव भने नभएको गुरुङको बुझाइ छ।
‘अबका दिनमा हामी अहिलेको वेदना भुलेर जीवनको सौन्दर्य पेन्टिङमार्फत प्रवाह गर्नेछौँ । ती सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भर्चुअल कला प्रदर्शनीले निकै सहयोग पुर्याउनेछ ।’
यसैलाई मध्यनजर गर्दै गुरुङले सामाजिक सञ्जालमार्फत भर्चुअल कला प्रदर्शनी गरिरहेका छन् । ‘एनबी गुरुङ आर्ट एन्ड टेक्नोजोली’ नामको फेसबुक पेजमार्फत गत १० जेठदेखि ६२ कलाकारले तयार पारेका पेन्टिङको प्रदर्शनी भइरहेको छ । ‘यो भर्चुअल कला प्रदर्शनीको उद्देश्य व्यावसायिकताको खोजी हो, जो सधैँ नेपाली कलाकारले सामना गर्नुपर्छ,’ गुरुङ आफूले गरिरहेको कामको औचित्य खुलाउँछन् ।
लकडाउनमा घरघरमै थुनिएका चित्रकारहरू क्यानभासमा कुची त चलाइरहेका छन्, तर सिर्जना बाहिर ल्याउन उनीहरूले कोभिड–१९ महामारीको अन्त्य नै पर्खिनुपर्नेछ । त्यही पर्खाइको व्यग्रता हटाउने प्रयास हो गुरुङको ।
भर्चुअल प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज हुने कलाकार लालकाजी लामा बताउँछन् । भन्छन्, ‘नेपाली पेन्टिङको बजार फराकिलो बनाउन मद्दत पुग्नेछ ।’ उनको भनाइमा सहमत छिन्, कलाकार सुष्मा राजभण्डारी पनि । ‘अबका दिनमा हामी अहिलेको वेदना भुलेर जीवनको सौन्दर्य पेन्टिङमार्फत प्रवाह गर्नेछौँ । ती सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भर्चुअल कला प्रदर्शनीले निकै सहयोग पुर्याउनेछ ।’
नेपाली कला प्रदर्शनीका लागि आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरीलगायत सीमित मञ्च उपलब्ध छन् । र, दर्शक पनि नेपाली मात्र । ‘भर्चुअल संसारमा गरिने कला प्रदर्शनीले संसारभरका कलाप्रेमीको ध्यान तानिनेछ,’ गुरुङ भन्छन्, ‘त्यसले कलाकारको फेम त उठाउने छ नै, विदेशी कलाप्रेमीले नेपाली कलालाई नजिकबाट नियाल्न पाउँछन् अनि तिनको मूल्य पनि थाहा पाउँछन् ।’
विदेशी दर्शकलाई लक्षित गर्दै पेन्टिङलाई स्पष्ट बनाउने उद्देश्यले थ्रिडी एनिमेसनमा काम गरिरहेका छन् । उनका अनुसार थ्रिडी एनिमेसनले ग्यालेरीको इन्टेरियर डिजाइनमा जस्तै भर्चुअल संसारमा पेन्टिङको गहिराइ देखाउँछ । यस पाटोमा उनलाई बंगलादेशी कलाकार सदक मसुदले सहयोग गरिरहेका छन् । प्रदर्शनी भर्चुअल भए पनि बिक्री भने वास्तविक पेन्टिङ नै हुन्छन् । बिक्रीवापत प्राप्त रकमको १० प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने योजना छ ।
भर्चुअल कला प्रदर्शनी नेपालमै सीमित छैन । ‘अमेरिकन वाटर कलर सोसाइटी’ले गत मार्चका लागि तय भएर रोकिएको प्रदर्शनीलाई भर्चुअल संसारसँग जोडेको छ । बंगलादेशमा चित्रकला ग्यालरीले भर्चुअल कला प्रदर्शनी गरिरहेको छ । थाइल्यान्ड, भारत, अल्बानियाका चित्रकार पनि भर्चुअल संसारमा जोडिएका छन् ।
‘अहिलेको अवस्थामा भर्चुअल्ली जानुको विकल्प छैन,’ चित्रकार लामा भन्छन्, ‘फुर्सदमा रहेका दर्शकको ध्यान तान्न सकिन्छ र नजिकबाट कलालाई बुझ्न उनीहरूलाई प्रेरित पनि गर्न सकिन्छ ।’
काठमाडौंबाट भइरहेको भर्चुअल प्रदर्शनीमा कला समीक्षक मुकेश मल्लको कोभिड–१९ सँग सम्बन्धित अमूर्त पेन्टिङ राखिएको छ । यस्तै, लालकाजी लामाको शान्तिसँग सम्बन्धित अर्धअमूर्त, आलोक गुरुङको नेपाली महिलाको मौलिक मुहारचित्र, भीम तामाङको वैदेशिक रोजगारीको पीडा झल्काउने चित्र, पोखराका कलाकार यादवचन्द्र भुर्तेलको अर्धनग्न आधुनिक कला, सुमित्रा रानाको नेपाली काष्ठकलासँग सम्बन्धित पेन्टिङलगायत राखिएको छ ।
गुरुङका अनुसार प्रदर्शनी अवलोकन गरिरहेका दर्शकले कतिपय चित्रकला खरिदका लागि चासो दिइरहेका छन् । बिक्री भने भइसकेका छैनन्।