Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रहरी प्रशासनको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आक्रोशित भएर नेपाल प्रवेश गरेका प्रवासी नेपाली युवा
२०७७ जेठ १४ बुधबार १८:५५:००
Read Time : > 1 मिनेट
समाचार

भारतबाट फर्केका युवकको जटही नाकामा मृत्यु

भारतमा सार्वजनिक यातायात खुलेपछि नाकाहरुमा नेपालीको भिड

Read Time : > 1 मिनेट
२०७७ जेठ १४ बुधबार १८:५५:००

भारतमा काम गर्दै आएका एक युवकको घर फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएको छ । धनुषाको सहिद नगरपालिकाका २५ वर्षीय युवकको बुधबार बिहान जटही नाकामा मृत्यु भएको हो । 

मंगलबार राति नै जटही नाकामा पुगेका ती युवकको एक्कासि स्वास्थ्य अवस्था बिग्रेपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने तयारी भइरहेको वेला मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

जटही नाकामा खटिएका सुरक्षाकर्मीले भारतबाट आउने नेपाली प्रवासी मजदुरलाई सामान्य स्वास्थ्य जाँचपछि मात्रै  नेपाल प्रवेश दिने गरेका छन् । तर, बुधबार बिहान सात बजेसम्म करिब साढे तीन सय व्यक्ति नेपाल प्रवेशका लागि नाकामा जम्मा भएका थिए । उनीहरूको क्वारेन्टाइन व्यवस्थापनका लागि सम्बन्धित पालिकाहरूसँग समन्वय भइरहेको वेलामा ती युवकको मृत्यु भएको बस्नेतले बताए ।  

हप्तौँदेखि चिउरा र दालमोट खाँदै आएको र लामो यात्राको दूरी पैदल नै पार गरेकाले ती युवकको स्वास्थ्यमा समस्या आएको उनीसँगै भारतबाट आएकाहरूको भनाइ छ ।  

यता, नाकामा जम्मा भएका नेपालीहरूले प्रहरी प्रशासनको लापरबाहीले ती युवकको मृत्यु भएको भन्दै आक्रोशित भएर नेपाल प्रवेश गरेका थिए । पछि धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहितको टोलीले उनीहरूलाई सम्झाइबुझाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाएको छ । 

भारतमा सार्वजनिक यातायात खुलेपछि नाकाहरूमा नेपालीको भिड
छिमेकी देश भारतमा रेललगायतका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि  सीमानाकाहरूमा प्रवासी नेपालीहरूको भिड बढेको छ । भारतमा सवारीसाधन सञ्चालनमा आएपछि  सीमानाकाहरूमा प्रवासी नेपालीहरूको संख्या ह्वातै बढेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उत्प्रेतीले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले भारतमा विभिन्न कामले फसेका धनुषावासीलाई  करिब एक सातादेखि जहटी नाकामा सामान्य स्वास्थ्य जाँच गरी  नेपाल प्रवेश गराउँदै आएको छ । पछिल्लो एक सातामा भने जटही नाकाबाट करिब १५ सय नेपाली नेपाल प्रवेश गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।