मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७७ जेठ १४ बुधबार १४:५०:००
Read Time : > 1 मिनेट
समाचार

देशैभर प्रि-मनसुन सक्रिय, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

Read Time : > 1 मिनेट
२०७७ जेठ १४ बुधबार १४:५०:००

प्रि–मनसुनको प्रभावले यतिवेला देशका अधिकांश भूभागको मौसम बदली भएको छ। आगामी तीन दिन काठमाडौंं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रि–मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने हो। अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने ।
 
राससका अनुसार अंग्रेजी महिना मार्च, अप्रिल र मेसम्म प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातर प्रभावित भइरहन्छ। आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने महाशाखाको अनुमान छ। 

आकाशमा बादल र वर्षाले मनसुन सक्रिय भएजस्तो देखिए पनि यो मनसुन नभई प्रि–मनसुनी गतिविधि भएको मौसमविद्ले बताएका छन्। सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु हुने गर्छ। महाशाखाका अनुसार मनसुन भित्रिन अझै १३ दिन बाँकी छ। 

बुधबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यस्तै राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना छ। 

भोलि (बिहीबार) देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

त्यसैगरी शुक्रबार पनि देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ। शुक्रबार पनि पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ