१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नमस्तेलाल भूमि श्रेष्ठ
२०७७ जेठ १४ बुधबार १४:४६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

तनावमुक्त भई जिउने उपाय

Read Time : > 5 मिनेट
नमस्तेलाल भूमि श्रेष्ठ
२०७७ जेठ १४ बुधबार १४:४६:००

आजभोलि प्रायः मानिस कुनै न कुनै तनावमा जीवनयापन गर्न बाध्य भइरहेका छन् । सहरका हुन् या गाउँका, देशका हुन् या परदेशका, मानिस यसबाट मुक्त छैनन् । तनावपूर्ण जीवनको मुख्य कारण काम, क्रोध, लोभ, मोह, ईष्या, प्रतिस्पर्धा, वातावरण, रोग व्याधि नै हो । विद्यार्थीलाई पढाइ र लेखाइ, युवालाई रोजगार र प्रेम सम्बन्ध, गृहिणीलाई घरायसी कामकाज र व्यवस्थापन, कृषकलाई खेती बढाउने, पेसाकर्मीलाई आफ्नो पेसा प्रवद्र्धनको, व्यापारीलाई कारोबारको तनाव हुन्छ । त्यस्तै, नेता र पार्टीलाई मानवीय, आर्थिक र राजनीतिक तनाव हुन्छ । तनावको सीमा छैन, त्यसैले व्यक्ति, समाज, देश र विश्व नै हलचल मच्चिन सक्छ, चाहे त्यो राम्रा वा नराम्रा विचार हुन् वा रोग व्याधि नै हुन् । 

युद्ध, विपत्ति, महाव्याधिजस्ता समस्यामाझ व्यक्तिमा नकारात्मक भावना जाग्ने, झर्किने, रिसाउने, ठूलो स्वरमा बोल्ने वा बोल्दैनबोल्ने वा सानो कुरालाई ठूलो बनाउने इत्यादि गर्छन्। यसलाई हामी सामान्य तनावको रूपले लिने गर्छौं । 

तर, तनाव सामान्यबाट अलि जटिल प्रकारको हुँदै जान्छ । लगातारको तनावले झन् काम गर्ने क्षमता, निर्णय लिने क्षमता, नयाँ कुरा गर्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । त्यस्तोमा जब कसैलाई आफ्नो इज्जत, प्रतिष्ठामा ठेस लागेको लाग्छ, उ, विचलन हुने, विध्वंस गर्ने वा आत्महत्या गर्नेसम्म अघि बढ्न सक्छ । 

सकारात्मक सोचले तनाव घटाउँछ भने नकारात्मक सोचले तनाव बढाउँछ, नकारात्मक मनले रोग पैदा गर्न सक्छ भने सकारात्मक मनले रोग भगाउन सक्छ

हुन त मानसिक तनावले उमेर, समूह र वर्ग भन्दैन । मानिस भावनात्मक रूपमा आफैँमा जटिल र संवेदनशील प्रकृतिको हुन्छ । त्यसैले मानिसपिच्छे व्यक्तिको फरक स्वभाव हुन्छ । त्यस्तै, तनाव सहन सक्ने क्षमता तथा शैली पनि फरक हुन सक्छ । तनाव धेरैजसो वास्तविक अवस्थाबाट सिर्जित हुन्छ भने कहिले काल्पनिकबाट पनि हुन सक्छ । वास्तवमा मन र तन एकजस्तै हो । दुवै एक–अर्काको परिपूरक हुन्छ र घनिष्ट सम्बन्ध रहन्छ । तनावलाई हामी स्पष्ट रूपले दुई प्रकारका हुन्छन् :

१) मानसिक तनाव 
२) शारीरिक तनाव 

मुख्यतः शारीरिक कारणले मानसिक तनाव पैदा हुन्छ । अनि विभिन्न लक्षण देखा पर्न थाल्छन् । मानसिक तनावका कारण छाती दुख्ने, पिसाब लाग्ने, शिर, गर्दन, कम्मर दुख्नेजस्ता शारीरिक समस्या उत्पन्न हुन्छ । निद्रा नलाग्ने, नपुंसकताको भावना, थकान तथा कमजोरी, बेचैनी, चिडचिडापन पनि मानसिक समस्याका कारण उत्पन्न हुन्छन् । स्मरणशक्ति कम हुने, आत्मविश्वास घट्ने, व्यावहारिकतामा कम रुचि पनि यसैका लक्षण हुन् । हाम्रो नकारात्मक मनले रोग पैदा गर्न सक्छ भने सकारात्मक मनले रोग भगाउन पनि सक्छ । त्यसैले रोगी मन रोगी तनको कारण हो र यसले मानिसलाई दुःखी बनाउँछ । तन्दुरुस्ती र प्रसन्नताले निरोगिता निम्त्याउँछ । 

कहिले मानसिकबाट शारीरिक त कहिले शारीरिकबाट मानसिक तनाव हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना, एलर्जी, माइग्रेन, थाइराइड, एसिडिटी, क्यान्सर, पेटसम्बन्धी रोग एवं मुटुरोगजस्ता शारीरिक रोगले मानसिक तनाव गराउँछन् । स्वस्थ्य र दीर्घ जीवनका लागि तन र मन दुवै स्वच्छ हुन नितान्त जरुरी छ । त्यसैले हाम्रा पुर्खाले जीवनशैलीलाई सरल र व्यावहारिक बनाएको देखिन्छ । चाडपर्व होस् वा शुभकार्य साइतमा दीर्घजीवन, स्वास्थ्य, प्रसन्नता, आनन्द र समृद्धिका लागि आशीर्वाद वा शुभकामना दिने चलन छ ।

सकारात्मक सोचबाट मन प्रसन्न हुन्छ भने जीवनको अन्य पक्षसमेत सहज र स्वाभाविक हुन्छ । सकारात्मक दृष्टिकोण राख्ने मानिस तनावबाट कमै पीडित हुन्छ । त्यसैले हरेक व्यक्तिले सकारात्मक तवरले बानी व्यवहारको विकास गरी तनावमुक्त भई जिउने १५ मुख्य उपाय यसमा समावेश गरिएको छ :

१. वर्तमान समयमा केन्द्रित हौँ र धैर्य विकास गरौँ 
बितेको कुरा बिर्सौं र भावी दिनको चिन्ता नलिई वर्तमान समयलाई ख्याल राख्ने गरौँ । किनकि, आजको दिन नै तपाईंको साथ र हातमा छ । समय सबभन्दा बलवान् र मूल्यवान् छ । साथै, जुनसुकै समस्या वा दुःखद वा आवेशपूर्ण स्थितिमा धैर्य गर्न प्रयास गरौँ । 

२. आफ्नो विशिष्टता स्विकार्ने र तुलना बन्द गर्ने 
यस संसारमा तपाईं एउटा अलग विशिष्ट व्यक्ति हुनुहुन्छ । त्यसैले अरूसँग तुलना गरी समय बर्बाद नगरौँ । जे गरे पनि आत्मविश्वासका साथ आफ्नो क्षमतामा विश्वास राखी प्रेमपूर्वक मज्जाले काम गरौँ । प्रेम महामानवीय गुण हो । 

३. आलोचनाबाट पृष्ठपोषण लिने र निर्णयशील हुने
आफूलाई आलोचना गर्ने व्यक्ति पनि तपाईंको सकारात्मक व्यवहार विकास गर्न सहयोगी हुन सक्छ । उसले तपाईंलाई सित्तैमा पृष्ठपोषण दिएको हुन्छ । साथै, दैनिक साधारण समस्यालाई तुरुन्त निर्णय गरी अगाडि बढौँ । तर याद गरौँ, महŒवपूर्ण कुरामा अनावश्यक हतार गरी निर्णय गर्नु पनि हुँदैन ।

४. क्षमा दिने र माफी माग्ने बानी विकास गरौँ 
आफूलाई दुःख कसैले दिन्छ भने त्यसलाई माफ गर्न सक्नुपर्छ । क्षमा दिने र सो कुरा भुल्न सक्नु ठूलो महानता हो । क्षमा गर्ने बानी एउटा उच्च आदर्श बानी हो । क्षमा लिने र दिने गर्दा प्रेम, माया, ममता बढ्ने, स्वतन्त्रता ल्याउने र आन्तरिक घाउ निको पार्ने हुन्छ । 

५. एकपटकमा एउटा समस्या सुल्झाउने 
हामी एकैपटक धेरै समस्या सुल्झाउन खोज्छौँ । त्यसो गर्नुभन्दा एकपटकमा एउटा समस्या सुल्झाउनु उत्तम तरिका हो । समस्या सुल्झाउँदा आफूले चालेका कदमले पछि पार्ने असर मूल्यांकन गर्नु उपाय हो ।

६. सहयोगी भावना विकास गरौँ
दुःखदायी कुरालाई सहजतासाथ लिने र मिलाउने काम गरौँ । जतिसक्दो अर्काको सहयोग गर्न खोजौँ वा भावना राखौँ । यसले गर्दा अरूले तपाईंको याद गर्ने र साथै आफूले आफ्नो चिन्ता भुल्न सकिन्छ । साथै, काम नै पूजा, पूजा नै धर्म र धर्म नै सेवा सम्झौँ । 

आफूसँग जे प्राप्त छ, त्यसैलाई पर्याप्त मानी ‘सन्तोषम् परमम् सुखम्’ मा विश्वास गर्नु आत्मा शान्त पार्नु हो । कृत्रिम चाहना र विलासिताको कहिल्यै अन्त्य नहुने भएकाले यसले सधैँ असन्तोष पैदा गरी अशान्ति र तनाब बढाउँछ ।  

७. बदल्न नसक्ने परिस्थितिबारे सोचेर नबस्ने 
जुन वातावरण र परिस्थितिलाई तपाईं बदल्न सक्नुहुन्न, जुन कुरा क्षमताबाहिरको छ, त्यसबारे सोचेर बस्नु दुःख बेसाउनु मात्र हो । समय, अवस्था, परिस्थिति र वातावरणअनुसार चल्नु उत्तम हुन्छ ।

८.ईर्ष्या , डाहा, घृणा र बदलाको भावनाले नोक्सानी मात्र निम्त्याउँछ
कसैसँग ईर्ष्या, डाहा, घृणा गरी बदला लिनु आफ्नो समय बर्बाद गर्नु, तनाव बढाउनु र नोक्सान पुयाउनु हो । तसर्थ, आफैँलाई बदली ‘आफू भलो त जगत् भलो’ भनी सकभर सबैलाई राम्रो गर्नु उत्तम हो ।

९. खुसी र हाँसो सबैभन्दा राम्रो शृंगार हो
हामी सक्छौँ भने अरूलाई खुसी दिऊँ, सक्दैनौँ भने दुःख नदिऔँ । त्यस्तै सफा गरौँ, नसके फोहोर नगरौँ । खुसीले खुसी बढ्छ । चिन्ता पीर र दुःखले दुःख बढाउँछ । मुस्कान र हाँसोले मुस्कान बढाउँछ, हाँसो बढाउँछ । त्यसैले सधैँ उज्यालो र हँसिलो मुखले अरूलाई पनि आनन्द दिने बानी बसालौँ । भनिन्छ, हाँसोबाट आयु पनि वृद्धि हुन्छ ।

१०. अहंकारबाट हानि मात्र हुन्छ
अहंकार जीवनको शत्रु हो । त्यसैले न त धनको, न त पदको, न त नामकै अहंकार गर्नु ठीक छ । त्यसबाट अन्ततोगत्वा हानि पुग्छ । हामी खाली हात आयौँ, खाली हात जान्छौँ, अनि केको अहंकार ! त्यसैले अहंकारविना शुभचिन्तक बनी दिल, दिमाग र शरीरले कार्य गरौँ ।

११. राम्रो चिज अँगाल्ने संकल्प र कार्यान्वयन
हामीले जीवनमा धेरै राम्रा र नराम्रा कुरा भोगेका, देखेका, सुनेका र पढेका हुन्छौँ । राम्रो कुरा अँगाल्ने र नराम्रो त्याग्ने संकल्पसाथ कार्यान्वयन गरौँ । कुनै पनि घटनाले कुनै न कुनै रूपले लाभ दिन्छ भनी सकारात्मक हिसाबले सोचौँ । त्यो नै आफ्नो सबभन्दा ठूलो शिक्षा हो । 

१२. सकारात्मक सोच, खोज र रोज 
‘सकारात्मक सोच, खोज र रोज’को मन्त्रले मानसिक र शारीरिक विकास गराउँछ । सुखको आधारशिला पनि तयार पार्छ । साथै, तनाव एवं चिन्ता हटाउँछ र स्वास्थ्य राम्रो बनाउँछ । सकारात्मक सोचका अतिरिक्त आध्यात्मिक सोचले शान्ति तथा शक्ति मिल्छ र आराम तथा आनन्दको अनुभूति प्राप्त हुन्छ ।

१३. उचित भोजन, व्यायाम, योग र ध्यान तथा मनोरञ्जनमा जोड दिने
समयमा उचित भोजन, दैनिक व्यायाम र हिँडाइ, योग र ध्यान, आफूलाई मन पर्ने राम्रा मनोरञ्जनात्मक कुरा, सहभागितामूलक क्रियाकलाप, संगीत र गीत सुन्नु, राम्रा फिल्म हेर्नु, सिक्ने र सिकाउनु, खेल हेर्नु र भाग लिनु, प्रियजनसँग कुरा गर्नु, प्रकृतिप्रिय हुनु र गर्नु आदि सकारात्मक तवरको काम, कुरा, अभ्यासजस्ता कार्य उत्तम जीवनशैली एवं तनावमुक्त साधन हुन् । उक्त बानी व्यवहारले शारीरिक र मानसिक दुवै तनाव घटाउन सहयोग पुयाउँछ । 

१४. हामीसँग भएका कुरामा सन्तोष मान्ने 
आफूसँग जे छ, त्यसलाई पर्याप्त मानी ‘सन्तोषम् परम सुखम्’ गर्नु वा हुनु आत्मा शान्त पार्नु हो । बढी कृत्रिम चाहनाको अन्त्य कहिल्यै हुँदैन र सधैँ असन्तोष पैदा गरी अशान्ति र तनाव बढाउँछ । प्राप्त नै पर्याप्तमा निरन्तर रहनु, मानसिक शान्ति प्राप्त गर्नु हो । त्यसैलाई सधैँ सकारात्मक कर्म गरी सन्तुष्ट रहनु बेस हुन्छ । 

१५. निश्चलताको अभ्यास
केही समय शरीरलाई आराम मुद्रामा छाडेर चुपचाप आराम गर्नु नै निश्चलताको अभ्यास गर्नु हो । निश्चलता वास्तवमा डर, चिन्ता, गम, फिक्र आदिबाट उत्पन्न हुने शारीरिक लक्षणबाट छुटकारा पाउने एउटा बाटो हो । याद राखौँ, निश्चलताले शरीरमा नयाँ शक्ति पैदा गरिदिन्छ । ठूला मान्छे होस् वा ऋषिमुनि आफ्नो भित्री शक्ति उत्पन्न गर्न÷गराउन वा शारीरिक तनाव घटाउन निश्चलताको अभ्यास गरी स्वस्थ, स्वच्छ, प्रसन्न एवं लामो आयु बाँच्ने गरेको देखिन्छ । त्यसैले हालको कोरोना महामारीमा पनि तनावमुक्त हुन हामी सबैले निश्चलताको अभ्यास गर्नु उपयुक्त हुन्छ ।

हाम्रो समस्या, चिन्ता, तनाव जीवनको हिस्सा हो भने सकारात्मक तवरले समाधान, मुक्ति, छुटकारा पाउनु जीवनको कला हो । यसैले तनाव पैदा गर्ने परिस्थितिलाई तनावमुक्त गर्ने मनस्थिति बनाउनैपर्छ । मार्गदर्शनको रूपमा माथि लेखिएका बुँदालाई मनन गरी, अपनाई सुलभ, स्वस्थ, सफल, शान्ति, सुखी जीवन बनाउन सक्षम हुन सकिन्छ ।

(लेखक वरिष्ठ सरसफाइ विशेषज्ञ तथा सामाजिक कार्यकर्ता हुन्)