मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १४ बुधबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार

बाग्लुङमा ६ जनालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार १३:२४:००

केहीअगाडि दुईजनामा कोरोनाको संक्रमण भएर पनि निको भई घर फर्किसकेको बाग्लुङमा पुनः ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका चारजना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएका सबै भारतबाट आएका हुन् । तमानखोला रहेका चारजना नै पुरुष हुन् । उनीहरूमध्ये दुईजना २१ र दुईजना २७ वर्षको रहेको निर्देशनालयले जनाएको छ । त्यसैगरी बडिगाड गाउँपालिकाका पनि दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू १९ र २० वर्षीय युवा रहेको जनाइएको छ ।

उनीहरूलाई सीमामा गएर उद्धार गरिएको थियो । भारतबाट आएका तमानखोलाका आठजनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चारजनामा संक्रमण देखिएको जानकारी आएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । उनीहरूलाई आइसोलेसनमा राखेर उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाउने तयारी भएको उनले बताए । उनीहरू तमानखोलाको धनगौज्याति माविमा थिए ।

त्यसैगरी बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइन बसेका आठजनाको स्वाब संकलन गरिएकोमा दुईजनामा कोरोना संक्रमण देखिएको हो । गाउँपालिकाको त्रिभुवन माविमा रहेका उनीहरूको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । उनीहरूलाई पनि धौलागिरि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ ।

यसअघि नेपालको पाँचौँ र छैटाैँ कोरोना संक्रमित बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा र बाग्लुङ–३ की ६५ वर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो । उनीहरू दुवैजना निको भएर घर फर्किसकेका छन् ।